मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्वतको कुर्घामा एक सय मिटर लामो नयाँ गुफा भेटियो

पर्वत – पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ । कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य देवीदेवताका आकर्षक मूर्ति भेटिएका छन् ।

गुफाका हरेक भागका पत्थरमा नागका मूर्ति प्रशस्त मात्रामा भेटिएकाले स्थानीयले यसको ‘नागगुफा’ नाम राखेका छन् । यहाँभित्र विभिन्न धातुबाट बनेका मूर्ति पनि भेटिएका छन् ।

आजभन्दा २५–३० वर्षअघि नै गुफा भेटिएको भए पनि स्थानीयले खासै चासो दिएका थिएनन् । सामान्य प्वालजस्तो ठानेर स्थानीयवासीले बेवास्ता गरेको भए पनि पछिल्लो समय स्थानीयले खोजी गर्दा विशाल गुफा भेटिएको स्थानीय अगुवा भवानीप्रसाद शर्माले बताए ।

गुफा भेटिएसँगै स्थानीय यसको प्रचारप्रसार र प्रवर्द्धनमा जुटेका छन् । यसको उचित ढङ्गले प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका आकर्षणको केन्द्रका रुपमा यसलाई विकास गर्न सकिने फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले बताए ।

उनले भने “गुफाभित्र विभिन्न देवीदेवताका आकृतिमात्र नभई धातुबाट बनेका मूर्ति भेटिएकाले यसले पौराणिक र ऐतिहासिक महत्व बोकेको हुनसक्ने भन्दै अनुसन्धान गरिने बताए ।

उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्ने भएकाले पनि यसले जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने स्थानीय मेघराज लम्सालले बताए । यो गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके कालीगण्डकी करिडोर हुँदै भारत र चीनको स्वशासित क्षेत्र तिब्बत आवतजावत गर्ने पर्यटकका निम्ति आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ ।

स्थानीयवासीले आगामी नागपञ्चमीमा विशेष पूजाआजा गरी यसको प्रचारप्रसार तथा भौतिक पूर्वाधार निर्माणमा अघि बढ्ने योजना बनाएका छन् । पूर्वाधार निर्माण गर्न समिति बनाएर तीनवटै तहका सरकारसँग योजना माग गरिने लम्सालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?