मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

होली विशेष

फागु उत्सवमा ललितकलाकर्मीलाई होली र सिर्जनाको रंग

सधैँ रंगमा रमाउने कलाकर्मीको होली

काठमाडौँ– सधैं क्यानभासमा अनेक रंगहरु पोतिरहने अग्रज कलाकारहरु नरेश सैजु, जीवन राजोपाध्याय लगायत दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ, प्रकाश मानन्धरले एक–अर्कालाई रंग दलेर होलीलाई उत्सवमय बनाए ।

त्यही उत्सवलाई उनीहरुले कला सिर्जना समेत गरेर अझै कलामय बनाएर विशेष बनाउने जमर्को गरे ।

‘स्याटर्डे प्लेन वर्कशप शनिवारीय कला कार्यशाला समूह’ले शनिबार होली खेल्दै कला कार्यशाला गरेका थिए ।

भक्तपुर दत्तात्रय मन्दिर परिसरमा गरिएको कार्यशालामा २० जना भन्दा बढी कलाकारहरु सहभागी थिए । होलीको अवसरमा कार्यशालालाई अझ विशेष बनाउने उद्देश्यले होली खेल्दै कला सिर्जना गरिएको कार्यशालाका सचिव तथा कलाकार प्रधानले जोय नेपालसँगको कुराकानीको क्रममा बताए ।

‘हामी सधैं रंग खेल्नेहरु होलीमा चाहीँ किन टाढा भाग्ने भनेर होली उत्सव मनाएका हौं,’ उनले भने, ‘रंगपर्व हामी कलाकारका लागि स्रेलिब्रेसन जस्तै हो । यसले हामी कलाकारहरुमा विशेष महत्त्व राख्छ ।’

प्रधानको टोलीले आधा दशकभन्दा लामो समयदेखि शनिवारीय कला कार्यशाला गर्दै आएको छ । विशेष गरी धार्मिक तथा सांस्कृतिक महत्वका सांस्कृतिक सम्पदा परिसरमा बसेर यो समूहले प्रत्येक शनिबार कार्यशाला गर्दै आएको छ ।

कलाको माध्यमबाट सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र उजागर गरी आम मानिसको पहुँचमा कलालाई पुर्‍याउने समूहको उद्देश्य रहेको छ ।

कला, कलाकार र रंगको अर्थ बुझाउने हेतुले होलीको उत्सवसँगै भक्तपुरको दत्तात्रय सम्पदालाई चित्रण गरिएको प्रधानले सुनाए । यसले कलाकारहरुमा रंगका साथै होलीको विशेषता र सांस्कृतिक महत्वबारे अझै प्रकाश पार्ने उनको मत छ ।

‘अरु मानिस तथा समुदायले होलीमा रंग खेल्छन् नै, हामी सधैं रंगमा खेल्नेहरुले होलीमा त झन खेल्नुपर्छ र यसलाई अझै विशेष बनाउनुपर्छ भन्ने मेरो सोच छ,’ उनले भने ।

हुन त पछिल्लो समयमा ललितकलाकर्मीहरुले होलीको उत्सवसँगै चित्र सिर्जना गर्ने अभ्यास गरिरहेको देखिन्छ । उपत्यका तथा बाहिर पनि यस्ता माहोल देखिन्छन् ।

यसलाई सकारात्मक रुपमा ललितकलाकर्मीहरु लिन्छन् । यसले रंगसँगै आपसी सद्भाव, एकता र सांस्कृतिक मान्यताप्रति झुकाव बढाउने उनीहरुको धारणा छ ।

रंगको महिमा कति छ भन्ने कुरा ललितकलामा खेल्ने कलाकारहरुका लागि असीमित दायराहरु छन् । कलाकारहरु यसैमा प्रकृति, मानव, समाज, धर्म, संस्कृति र अमूर्त भावहरु खोतल्छन् ।

रंगभित्र नै असीमित भावहरु जीवनका गहिराइहरु भेटिने कलाकार सुनिल रञ्जित सुनाउँछन् । होलीमा लगाइने रंग  र त्यसमा बन्ने आकृतिहरुमा कलाको भाव तथा विभिन्न विषयवस्तुहरु भेटिने उनको अनुभवले बताउँछ ।

उनले भने, ‘होलीमा रंगहरुसँग खेल्दा स्वभाविक रुपमा रमाइलो त हुन्छ नै, अनुहारमा दल्ने आकर्षक रंगहरु नै मलाई कला सिर्जना जस्तो लाग्छ ।’ यद्यपि कला सिर्जना र होली उत्सवसँग सांस्कृतिक रुपमा कुनै तादाम्यता नरहेको उनको बुझाइ छ ।

रंग नभई जीवनको कल्पना समेत गर्न नसकिने अग्रज कलाकार सैजुको धारणा छ । कार्यशालामा सहभागी भएका उनले रंग पर्वलाई ललितकलाका कलाकारहरुले अझै विशेष बनाउनुपर्ने उनले सुनाए ।

‘होली पर्वमा सनातनदेखि रंग खेल्दै आइरहेको छ । यसमा खुशीयाली र उत्साह भरिएको छ । हामी पनि रंगकै आधारमा प्रत्येक वस्तु मूर्त, अमूर्त स्वरुप र भावलाई खोज्ने गर्छौँ, त्यसैले होलीलाई विशेष बनाउन सकेमा निकै राम्रो हुन्छ,’ उनले भने ।

मानव जातिको अस्तित्वका लागि उनी रंग र प्रकाशको सम्बन्धलाई खोतल्दै यसलाई भावको प्रतीकका रुपमा परिभाषित गर्छन् । सूर्य अर्थात् उज्यालोमा केही रंग छुट्टाउनु नै केही अर्थ बनाउनु हो भन्छन् ।

कलाकारहरुको सिर्जनामा आउने अनेक भावहरु रंगभित्र नै आउने उनले प्रस्ट्याए । रंगकै माध्यममा कलाकारहरु शान्ति र क्रान्तिको भिन्नतालाई देखाउँछन् ।

यसैमा उनीहरु मानव जीवनको यथार्थदेखि कल्पनाको दुनियाँसम्म सयर गर्छन् । यही रंगहरुको पर्वमा स्वयम् कलाकारहरु नै अछुतो रहन नसक्ने कलाकार प्रधान सुनाउँछन् ।

होली पर्वमा जबरजस्ती भन्दा पनि एक–आपसमा रमाइलो गरी सिर्जनशील बनाएमा झनै उत्तम हुने सैजुको तर्क छ ।

होली र रंगका विषयमा कलाकार सम्झना राजभण्डारीको भने फरक तर्क छ । सधैं रंगलाई मानव जीवन र परिवेशसँग तुलना गर्ने कलाकारहरुले होलीको रंगमा भने छुट्टै उत्सव र खुशी भेटिने उनलाई लाग्छ ।

‘हामीले सधैं खेल्ने रंग हाम्रो सिर्जनासँग जोडिएर आउँछ । त्यसमा दुःख, सुख, हाँसो, दैनिक दिनचर्या आउँछन् । तर होलीको रंगमा पूरै फ्री भएर चाडको रुपमा मनाइरहेका हुन्छौं । यसमा अझ खुशी लाग्छ,’ उनले सुनाइन् ।

यद्यपि होलीकै अवसरमा गरिने कला सिर्जना कार्यमा पनि आपसमा रमाइलो र खुशी साटेर काम गरिने भएकोले निकै सकारात्मक नै हुने उनले बताइन् ।

होली र सिर्जना कार्यलाई अझै बृहत् बनाउन सकेमा यसले कला क्षेत्रलाई पनि सहायता मिल्ने प्रधानको सोच छ । यसलाई उत्सवकै रुपमा बृहत् बनाउने सोच भएपनि कसरी अगाडि बढ्ने भन्ने योजना निश्चित नभएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?