काठमाडौँ– ‘किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबिर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी ?
जोगिरा सरर ।’
फागु पूर्णिमा आउन एक साता अघिदेखि नै होलीको चहलपलह सहित बज्ने ‘जोगिरा सरर’ गीतका यी पंक्तिहरुले मिथिलाञ्चल गुञ्जायमान हुन्थ्यो ।
ढोलक, मृदङ्ग (मादल जस्तै बाजा) जस्ता बाजाको तालसँगै जोगीरा सरर गीतले जनकपुर लगायत प्राचीन मिथिला क्षेत्रको होलीलाई नै फरक रौनक र विशेष बनाइदिन्थ्यो । यस्ता मौलिक होली गीतले नै मिथिलाबासीलाई होली आएको आभास समेत हुन्थ्यो ।
सङ्गीतको धुनमा मिथिलाबासीहरु मात्र नभएर अन्य समुदायमा मानिसहरु समेत कम्मर मर्काउन तम्सिने गरेको स्थानीयहरु सम्झन्छन् ।
अहिले ‘जोगिरा सरर’का धुन र दृश्यहरु नयाँ पुस्ताका लागि स्मरणमा मात्र कैद भएका छन् । ‘जोगिरा सरर’का धुनहरु अहिले सुनिए पनि आधुनिक लय र भाकामा छन् ।
जसले मिथिलाको परिवेशभन्दा पनि आधुनिकतातिर झलक दिन्छन् । पछिल्लो समयमा यस्ता मौलिक गीत र स्वर बिरलै सुन्न पाइने सङ्गीत क्षेत्रका विज्ञहरु नै बताउँछन् । सङ्गीत तथा संस्कृति क्षेत्रका जानकारहरुका अनुसार रङ्गहरुको पर्व होली र सङ्गीतबीचको सम्बन्ध पौराणिक कालदेखि नै चलिआएको छ ।
अझ मिथिलाञ्चलको होली र यससँगै गाइने ‘जोगिरा सरर’ गीतको जनकपुर लगायत मधेश क्षेत्रमा छुट्टै महत्व रहेको छ ।
जोगीरा एउटा होलीको गीत मात्र नभएर होलीसँग यसको सांस्कृतिक सम्बन्ध रहेको जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उमा शंकर मल्लिकले जोय नेपालसँगको कुराकानीमा बताए ।
उनले भने, ‘खासमा ख्याल ठट्टाको रुपमा मनका भावनाहरु व्यक्त गर्ने माध्यम नै जोगिरा हो । यसलाई बिर्सेर होली मनाउन असम्भव छ ।’ उनका अनुसार होलीमा मिथिला क्षेत्रमा यही गीत विशेष रुपमा गाइने र नाच्ने गरिन्छ ।
नेपालमा ऋतुअनुसार विभिन्न चाडपर्वहरू मनाउने गरिन्छ । बहुविविधतायुक्त देश नेपालका हिमाल, पहाड र तराई क्षेत्रमा बसोबास गर्ने मानिसले आ–आफ्नै किसिमले पर्वहरु मनाउने गर्दछन् । गीत–सङ्गीतमा धनी मिथिलाञ्चलको होलीमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा रहेको मिथिला संस्कृति विज्ञ तथा संगीतकर्मी धिरेन्द्र प्रेमर्षि सुनाउँछन् ।
अझ त्यसैमा पनि पौराणिक कथाहरुको प्रसङ्ग जोडेर वा मनमा रहेका कुराहरुलाई व्यक्त गर्नका लागि गाइने जोगिराले पनि यस क्षेत्रको होली अरु ठाउँको भन्दा फरक मानिने उनको भनाइ छ ।
नेपालको पूर्वी नेपालको तराई क्षेत्र (प्राचीन मिथिला क्षेत्र)मा मनाइने होली र ‘जोगिरा सरर’ गीतको निकट सम्बन्ध रहेको विज्ञहरुको भनाइ छ ।
यद्यपि पछिल्लो समय आधुनिकताको नाममा होलीसँगै यसको मौलिकता हराएको संस्कृतिविद्हरुले चिन्ता व्यक्त गरेका छन् । श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गुन्जिने यस्ता होली गीत अहिले लोप हुँदै गएको उनीहरु सुनाउँछन् ।
‘पहिला–पहिला बुढापाकाहरुले प्रेम र सद्भाव भरिएका जोगिरा गीत गाउँदै होली पर्व मनाउँथे । तर, अहिले संस्कृति सहितको होलीको रौनकता हराएको छ’ जनकपुरका मल्लिकले सुनाए ।
वसन्त ऋतुको आगमनसँगै शुरु भएको होली नेपालका सबैजसो क्षेत्रमा आ–आफ्नै किसिमले मनाउने प्रचलन छ । जति समय र प्रविधिले फड्को मार्दै गएको छ, त्यति नै होलीको मौलिक संस्कृति र परम्परा हराउँदै गएको प्रेमर्षिले बताए । अहिले होलीको पौराणिकता तथा माधुर्यता नै हराइसकेको उनकोे भनाइ छ ।
उनका अनुसार लोक दोहोरी गीत झंै गाइने जोगिरा र होलीका गीतले गर्दा गुञ्जायमान हुने तराई मधेसका हरेक क्षेत्रमा अहिले ठूला–ठूला स्पिकरमा साउण्ड सिस्टमबाटै नै नयाँ पुस्ता मनोरञ्जन गर्छन् ।
पछिल्लो समय जोगीरा जस्ता होलीका मौलिक गीतहरु गाउनुको सट्टा डिजेमा भोजपुरी गीत बजाएर नाचगान गर्ने परम्परा भइरहेको देख्न सकिन्छ । यसले गर्दा मौलिक संस्कृति नै लोप हुने अवस्थामा पुगेको भन्दै संस्कृतिविद्हरु दुःख व्यक्त गर्छन् ।
आधुनिकताका कारण मौलिक संस्कृति लोप हुनबाट बचाएर संस्कृतिको पुस्तान्तरण गरिनुपर्ने कुरामा उनीहरु जोड दिन्छन् ।
यसमा सांस्कृतिक सबलताको लागि राज्य र सम्बन्धीत जिम्मेवारी निकायबाट संरक्षणका लागि पहल गर्नुपर्ने उनीहरुको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया