काठमाडौँ– एकआपसमा रङमा रंगिएर उल्लासमय वातावरणमा मनाइने होलीलाई रङ्गीन पर्वका रुपमा पहाडदेखि तराई तथा गाउँदेखि शहरसम्म सबै उमेर समूहका मानिसले मनाउने गर्छन् ।
होली पर्व मनाउनुका पछाडि धेरै पौराणिक कथनहरु रहेको जनविश्वास पाइन्छ । आपसी सद्भाव, भ्रातृत्व र उमङ्गको प्रतीक मानिने फागु (होली) पर्वको आफ्नो छुट्टै मौलिक विशेषता पनि छन् । त्यस्तै नेपालको प्राचीन मिथिला क्षेत्रमा मनाइने होलीको अझ विशेष महिमा छ ।
प्राचिन मिथिला क्षेत्रमा मनाइने होली पर्वको विशेषता के छ ? यसको सांस्कृतिक महत्व तथा मौलिकताको महिमा के छन् ?, होली पर्वलाई आधुनिकताले कस्तो प्रभाव पारेको छ ? लगायत विषयमा केन्द्रित रहेर मिथिला संस्कृतिका अध्येता संस्कृतिविद् तथा संगीतकर्मी धीरेन्द्र प्रेमर्षिसँग जोय नेपालका लागि अर्जुन धामीले गरेको कुराकानीको सम्पादित अंश:
होलीको खास महिमा र यसको सांस्कृतिक महत्व के छ ?
होली पर्व देशका करीब सबै स्थानमा मनाइने भए पनि होली एक आध्यात्मिक र सांस्कृतिक पर्व हो । होली हातमा रङ लिएर गाउँदै, बजाउँदै, रमाइलो गर्दै आफ्नो अहङ्कारलाई बिर्सेर कही रङले त कही माटोले समेत उत्साह र उमङ्गका साथ मनाइन्छ ।
वसन्त पञ्चमीदेखि नै संगीतमय उल्लासका साथ मनाइने यो पर्व मानिसको व्यक्तित्व सुधार्ने पर्व पनि हो । पुराणमा उल्लेख गरिएअनुसार राक्षसराज हिरण्यकश्यपकी ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी बहिनी होलिकाले विष्णुभक्त प्रहलादलाई आगोमा राखेर दहन गर्न खोज्दा आफै दहन भएको खुशीमा हरेक वर्ष यो पर्व मनाउने गरेको हो ।
होली पर्व नेपालको सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षको एक अभिन्न भाग हो । अझ देवी सीताको जन्म भएको पवित्र माटो जनकपुरको होलीको त छुट्टै सांस्कृतिक महत्व रहेको छ ।
पहाडी र मिथिला क्षेत्रको होलीमा खासमा कस्तो भिन्नता देखिन्छ ?
होली देशैभरी मनाइने पर्व हो । पहाड र मधेशको संस्कृति फरक–फरक भएको हुनाले चाडपर्व मनाउने कुरा पनि फरक त हुने नै भए । पहाडमा फागुन शुक्ल पक्ष अष्टमीको दिनदेखि शुरु भएको होली पूर्णिमाका दिन सम्पन्न हुन्छ । तर, तराई मधेशमा प्रायःजसो वसन्त पञ्चमीका दिनदेखि नै होलीको शुरुवात हुन्छ ।
त्यो पनि ठाउँअनुसार फरक हुनसक्छ । तराई र पहाडमा फरक–फरक दिनमा किन होली मनाइन्छ भन्ने कुराको तुलनात्मक अध्ययन भएको पाइँदैन । फरक भूगोल र फरक संस्कृतिका कारण फरक–फरक दिनमा मनाउने गरिएको हो । यो एउटा संस्कृति हो । सबैले आ–आफ्नै तरिकाले मनाउन सकिन्छ ।
मिथिला क्षेत्रको होलीलाई सांस्कृतिक हिसाबले पनि विशेष महत्व राखिन्छ नि होइन ?
गीत–संगीतमा धनी मिथिलाञ्चलको होलीमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा छ । त्यसकारण पनि मिथिला क्षेत्रको होली अरु ठाउँको भन्दा फरक नै छ । ओराहा अर्थात् पाक्न लागेको चना तथा गहुँजस्ता खानेकुरा पोलेर खाने चलनले पनि मिथिला क्षेत्रको होलीलाई विशेष बनाएको छ ।
यस्तै १५ दिने मिथिला परिक्रमा तथा जकपुरधाममा मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा आयोजना गर्ने महामूर्ख सम्मेलनजस्ता कार्यक्रमले पनि मिथिला क्षेत्रको होलीलाई छुट्टै तथा विशेष बनाएको छ भन्ने मलाई लाग्छ ।
आधुनिकतासँगै होलीको मौलिकता हराइरहेको भन्ने सुनिन्छ, होलीलाई आधुनिकताले प्रभाव पारेकै हो त ?
बढ्दो आधुनिकताले सबै क्षेत्रमा प्रभाव त पारेकै छ । त्यसैले होलीमा पनि यसले प्रभाव नपार्ने भन्ने त पक्कै होइन । पछिल्लो समय होली मनाउने निहुँमा तडकभडक, रक्सी खाने, होहल्ला गर्ने, इच्छा विपरीत रङ्ग लगाउने, जस्ता प्रवृत्ति बढ्दै गएको जस्तो मलाई लाग्छ ।
यस्ता विकृति गर्नेमाथि सम्बन्धीत निकायले कारबाही गर्नुपर्छ । कतिपय अवस्थामा त कारबाही गरिएका कुराहरु पनि आउँछन नै । होली रङ्गको चाड हो । होलीको दिन मानिसले एकअर्कामाथि विभिन्न प्रकारका रङ्ग हालेर एक अर्कालाई रंङ्गीन बनाउनुपर्छ । तर यसको पौराणिक कारण र इतिहास पनि बिर्सिनु हुँदैन ।
होलीमा आधुनिकता भित्रिएसँगै यसले युवाहरुमा परेको प्रभावलाई कसरी नियालिरहनुभएको छ ?
होलीमा आधुनिकता भित्रिएसँगै सबै कुराहरु नराम्रो मात्रै भैराखेका छन् भन्ने त पक्कै पनि होइन । तर पहिले–पहिले जसरी अहिले होली पर्व मनाउन छोडिँदै आएको छ । ‘होरैया र जोगिरा’, ‘बाँसको पिचकारी’, र एक अर्काको घरमा गएर होली खेल्ने परम्परा त लगभग हराइ नै सक्यो ।
होलीमा मनोरञ्जनका लागि पहिला भाङ खाने परम्पराको ठाउँ अहिले मदिरा सेवन गरी लट्ठ हुने, होलीका मौलिक गीतहरु गाउन छोडेर डिजेमा भोजपुरी गीत बजाएर नाचगान गर्ने परम्परा बढेको छ । होली मनाउने क्रममा मादकपदार्थ सेवन गरेर हो–हल्ला गर्ने यु्वाहरु जताततै भेटिन्छ ।
होलीको मौलिकता कायम राखिरहन हामीले कस्तो भूमिका निर्वाह गर्न सक्छौं ?
कुनैपनि क्षेत्रमा बढिरहेको आधुनिकताको प्रभावलाई छेक्न सकिँदैन । विस्तृत रुपमा अनुकुलता चाहीँ ल्याउनुपर्छ । एउटा हिन्दी फिल्ममा डाइलग छ, ‘हे तुने धक्का क्यू दिया, धक्का दिया तो दिया, तु ने क्यू लिया ।’
संस्कृतिमाथि आधुनिकताको प्रभाव पनि यसरी नै आइरहन्छ तर हामीले कति लिने र कसरी लिने भन्ने मात्रै हो । किनकि यसका सबल र दुर्वल दुवै पक्ष हुन्छन् । तर आधुनिकताका कारण हाम्रो मौलिक संस्कृति मर्न दिनु हुँदैन । अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न जरुरी छ ।
यस्ता कमजोरीहरुलाई हामी प्रत्येक सजग नागरिकहरुले परित्याग गरी होलीको असल पक्षहरुको सन्देश प्रवाह गर्नु जरुरी छ । यसका लागि संस्कृतिको पुस्तान्तरण हुनुपर्छ । सांस्कृतिक सबलताको लागि सरकारले समेत पहलकदमी लिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया