मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुर्गमको भरोसाको केन्द्र बन्दै कैना स्वास्थ्यचौकी

सुर्खेत- जाजरकोटको नलगाड नगरपालिका–३ स्थित कैना स्वास्थ्यचौकीको अवस्था पाँच वर्षअघिसम्म नाजुक थियो । यहाँबाट सामान्य स्वास्थ्योपचार सेवा प्रवाह गर्न पनि कठिन थियो । तर चार वर्षयता भने यसको मुहार फेरिएको छ । अभावकैबीच यस स्वास्थ्यचौकीले दिने सेवा दुर्गमको भरोसा बन्दै गएको छ ।

सडक, खानेपानी र विद्युत्लगायत आधारभूत सुविधा यहाँसम्म पुगेको छ । हेमा पुनको नेतृत्वमा यस स्वास्थ्यचौकीमा चार महिला र दुई पुरुष स्वास्थ्यकर्मी कार्यरत छन् । पुन चार वर्षअघि इञ्चार्ज भएपछि स्वास्थ्य सेवामा धेरै सुधार भएको पाइएको छ ।

गत कात्तिक १७ गतेको भूकम्पमा परी स्वास्थ्यचौकीको भवनमा क्षति पुगे पनि टेन्टबाट अल्ट्रासाउन्ड, प्रयोगशाला ‘ल्याब’, २४सै घण्टा प्रसूति सेवा, परिवार नियोजन, किशोरकिशोरी मैत्री सेवा, क्षयरोग उपचार केन्द्र, सरुवा रोग नियन्त्रण सेवा र बहिरङ सेवा सञ्चालन हुँदै आएको छ ।

इमान्दार भएर काममा लाग्दा हरेक संस्था राम्रो बनाउन सकिने उदाहरण यही स्वास्थ्यचौकीको नेतृत्वले देखाएको स्थानीय नलगाड नगरपालिका–३ कैनाका प्रचण्ड ओलीले बताए। नगरपालिकाको केन्द्र दल्लीबाट पैदल चार घण्टाको दूरीमा रहेको कैना बाक्लो जनसङ्ख्या बसोबास भएको क्षेत्र हो ।

स्वास्थ्यचौकी नजिक सूर्योदय माध्यमिक विद्यालय छ । दैनिक स्वास्थ्य संस्थाबाट विद्यालयमा समेत स्वास्थ्य सेवा प्रवाह हुने गरेको छ । स्वास्थ्य संस्थाको भवन अभावमा टेन्टबाटै स्थानीयलाई दिने सेवामा कुनै कमजोरी नरहेको स्वास्थ्यचौकी प्रमुख पुनले बताए । राति १० बजेसम्म पनि स्वास्थ्यचौकीमा खटिने गरेको उनको भनाइ छ ।

गाउँबाट बिरामी भएको खबर सुन्नेबित्तिकै स्वास्थ्यकर्मी अवस्था हेरेर घरमै पुगेर उपचारसमेत गर्ने गरेका छन् । “दुर्गम गाउँमा स्थानीयवासी सबै स्वास्थ्य संस्था आउन सक्दैनन्”, प्रमुख पुनले भने, “त्यसैले घरमै बोलाउँदा पनि गएर सेवा दिने गरेका छौँ ।”

जिल्लाकै उत्कृष्ट सेवा प्रदान गरेको भन्दै अघिल्लो वर्ष कैना स्वास्थ्यचौकीले पुरस्कार पाएको छ । भूकम्पका कारण पूर्वाधार नहुँदा स्वास्थ्यचौकी सञ्चालनमा समस्या भएकाले भवन निर्माणका लागि पहल गरिदिन इञ्चार्ज पुनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?