मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

होली विशेष

‘आयो शहर से होरीवाला, जोगी आयो शहर से होरीवाला’

सुदूरपश्चिममा लोप हुँदै फागुको मौलिक संस्कृति

डडेलधुरा– ‘आयो शहर से होरीवाला,

जोगी आयो शहर से होरीवाला

ए इन होरीवालौँको क्या–क्या चाहिए 

इन होरी वालौको भोक लगि हे

खाना खिलादे घरवाले,

जोगी आयो शहरसे होरीवाले ।’

नेपालको सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा होरी खेल्दै गनुगुनाउने यी माथिका मौलिक गीतका हरफहरु अचेल विरलै सुनिन्छन् । अहिले देशभरी नै रङ्गहरुको पर्व मानिने फागु (होली) को उल्लास छाउँदै गर्दा युवापुस्तामा मौलिकताभन्दा आधुनिक पश्चिमा संस्कृतितिर बढी लगाव छ ।

होलीको मौलिक संस्कृति र परम्पराभन्दा मनोरञ्जन र रमाइलो गर्ने माध्यमका रुपमा यसको प्रचलन फैलिँदै गएको पछिल्लो गतिविधिहरुमा देखिन्छ ।

विश्वमै उत्कृष्ट मानिने नेपाली संस्कृतिका आफ्नै मौलिक गुण र विशेषतालाई अनौठो र अलौकिक मानेर देशमा पर्यटकहरु भित्रिन्छन् । यहाँका संस्कृति र परम्परालाई मुक्त कण्ठले उनीहरु प्रशंसा गर्छन् । संस्कृतिविद्हरुको खोज तथा अध्ययनले पनि के भन्छ भने, विविध रीतिरिवाज, संस्कार, धर्म संस्कृतिअनुसार नेपालको हिमाल, पहाड तथा तराईमा बसोबास गर्ने मानिसहरुले आफ्नो संस्कार र चलनअनुसार विभिन्न चाडपर्व सदिऔँदेखि मनाउँदै आएका छन् । त्यही फरक संस्कार अनुसार नै सुदूरपश्चिममा पनि होली मनाउने फरक परम्परा रहेको कञ्चनपुरका स्थानीय संस्कृतिविद् तथा मानसखण्डका अध्येता आचार्य घनश्याम लेखक बताउँछन् ।

पहाड र तराईमा गरी दुई दिन मात्रै मनाइन्छ । आचार्य लेखकका अनुसार सुदूरपश्चिम प्रदेशमा भने होली फागुन शुक्ल अष्टमीका दिन चीर गाडेपछि विधिवत रुपमा शुरु भएको मानिन्छ ।

होरी एकादशीका दिनदेखि पूर्णिमाको दिनसम्म प्रत्येक दिन दिउँसोदेखि साँझसम्मै घरघरमा गएर होली (फागु) खेल्ने गरिन्छ ।

एक–आपसमा रङ्ग दलेर होली मनाइने फागु पर्व सुदूरपश्चिमका पहाडी जिल्लामा भने डेउडाको लयमा विभिन्न भगवान् तथा देवीदेवताका गाथा गाउँदै रमाइलो गरेर मनाइने उनले जोय नेपालसँगको कुराकानीका क्रममा सुनाए ।

वैदिक सभ्यता कालमै शुरु भएको होली पर्व भारतको कुमाउ, गडवाल तथा उत्तराखण्डबाट भित्रिएको उनको भनाइ छ ।

उनले भने, ‘वैदिक सनातन कालमा ‘होला’ अर्थात किसानहरुले उब्जाएका गहुँ, जौँ तथा चनाजस्ता कृषि उत्पादन पोलेर खाएको कथासँग होली जोडिएको छ ।’

पछि पौराणिक कालमा राक्षसराज हिरण्यकश्यपकी ब्रह्माबाट आगोमा नजल्ने वरदान पाएकी बहिनी होलिकाले विष्णुभक्त प्रहलादलाई आगोमा राखेर दहन गर्न खोज्दा आफै दहन हुन्छिन् । यही खुशीमा ‘छार’ (डोटेली भाषामा खरानी बुझाउने शब्द) एकअर्कामा दलेर होली पर्व मनाउन शुरु भएको उनले सुनाए ।

सुदूरपश्चिम क्षेत्रमा होली अर्थात् होरी शुरुवात कुनै सुरक्षित तथा पवित्र स्थानमा ‘उमर’ (एक प्रकारको रुख) सल्ला, मेल वा बाँसको लिङ्गो अर्थात् चीर गाडेर हुन्छ । सोही स्थानमा गोलाकारमा देउडा खेलेजस्तै गरी घुमेर होली गाउने परम्परा रहेको लेखकले बताए ।

उनका अनुसार सुदूरपश्चिममा यस पर्वलाई होली, होरी, फागु, आदि नामले समेत चिनिन्छ ।

वसन्त ऋतुको आगमनसँगै प्रकृतिले नै उत्सव मनाइरहेको अवस्थामा सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम लगायतका जिल्लाका बासिन्दाले पनि सामूहिक रुपमा पारम्परिक र लोकगीत गाउँदै ढोलक, मुजुरा र चिम्टाको सङ्गीतमय धुनमा गाउँघरको घरआँगनमा गोलाकार वृतमा होली खेल्ने गरेको लेखकको अनुभव छ ।

जसलाई स्थानीय भाषामा होरी भनिन्छ । उनका अनुसार होली खेलिने घरधनीले स्वागत स्वरुप रङ्ग छाप्ने, फलफूल, गुड (उखु पेलेर त्यसको रसवाट बनाइने एक प्रकारको खानेकुरा), दक्षिणा स्वरुप पैसासहित थालमा चामल तथा अबिरटीका दिने गर्दछन् ।

जम्मा भएको पैसा सामाजिक कार्यमा प्रयोग गर्ने गरिन्छ भने अबिर र टीकालाई प्रसादका रुपमा सबैले लगाउने गर्छन् ।

मथुरामे खेलौ एक घडी, मथुरामे खेलौ एक घडी

राम ले खेल्यो कृष्णले खेल्यो,

सीताले खेल्यो एक घडी, मथुरामे खेलौ एक घडी’

यस्ता ‘कृष्ण लिला’, ‘रामलिला ब्रज’, ‘मथुरा’, ‘बृन्दावन’, ‘अयोध्या’, ‘जनकपुर’ आदिका अनेकन प्रसङ्गमा आधारित गीतसङ्गीतलाइ घरघरमा गई करीब १० देखि १५ मिनेटसम्म गाउने गरिन्छ ।

एक समूहले भनेको कुरालाई अर्को समूहले दोहोर्‍याउँछन् । एउटा घरमा होली सकिने बेला विभिन्न आशिषका शब्दले होलीलाई अझ विशेष बनाउने समेत गरिने लेखकले सुनाए ।

उनका अनुसार सोह्रौँ शताब्दीतिर उत्पत्ति भएको मानसखण्डको होलीमा वृद्धवृद्धा, बालबालिका, युवासबैको सहभागिता हुन्छ । यो कुनै समुदाय जातजाति तथा सम्प्रदायका मानिसको पर्व हो ।

मानसखण्डमा मनाइने होलीको इतिहासका बारेमा कुनै लिखित एकिन तथ्य भने अहिलेसम्म भेटिएको छैन । तर सुदूरपश्चिमको अछाममा मनाइने होलीको भने छुट्टै महत्त्व छ । पछिल्लो समय भने यस पर्वमा पनि पश्चिमी संस्कृतिको प्रभाव परेको उनलाई लाग्छ । ‘आफूलाई पढेलेखेको तथा विज्ञ सम्झिने मानिसको समुहले होली मनाउने नाममा पश्चिमी संस्कृति भित्र्याइ रहेका छन्,’ उनले जोय नेपालसँगको कुराकानीमा भने, ‘यो त एउटा सामाजिक एकताको पर्व हो, अहिले होलीका गीतहरुमा पनि राजनीतिक तथा समाजिक व्यङ्ग्य गरिएको पाइन्छ, जसले होलीको मौलिकतालाई ओझेलमा पार्छ, यस्तो गरिनुहुँदैन ।’

होलीमा मनोरञ्जनका लागि अहिले मदिरा सेवन गरी लट्ठ हुने, होलीको मौलिकतालाई बिर्सेर डिजेमा गीत बजाएर नाचगान गर्ने परम्परा बढेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

‘होली खास गरी नेपाल, भारतलगायत देशमा रहेका हिन्दुहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । यस्ता पर्वमा देखिएका यस्ता विकृतिलाई अन्त्य गर्न समाज सरकारी संयन्त्र तथा व्यक्ति स्वयं जागरुक हुनुपर्छ,’ उनले भने ।

आधुनिकीकरणले शहरबजारमा मात्रै नभइ गाउँघरमा समेत फागु पूर्णिमाको परम्परागत रौनक हराउँदै गएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?