काठमाडौँ – आज दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
उनका अनुसार हिजो अस्तिको तुलनामा आज मौसम केही सफा हुने भए पनि रातिदेखि पुनः बदली भएर वर्षाको सम्भावना छ ।
अहिले नेपालमा पश्चिमी वायुको प्रभावसहित स्थानीय वायुको प्रभाव तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि मुख्यतया बदली छ ।
काठमाडौँको अहिलेको वायुको तापक्रम १७ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता पाँच किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् अर्यालले बताए।
यसैगरी आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया