काठमाडौँ– तीन सोझा युवा बारम्बार पैसाको दलदलमा फस्छन् । उनीहरूको सामान्य रुपमा चलिरहेको जीवन पैसाकै अभावमा असामान्य बन्दै गइरहेको छ । ती युवा पैसा कमाउनलाई मेहनत त गरिरहेका छन् तर त्यो मेहनतले उनीहरूले कमाएको पैसाले जीवनयापन गर्न पर्याप्त छैन ।
ती तीन पात्र हुन्– फणिन्द्र, मुन्ना र जोयस ।
आ–आफ्नै परिस्थितिका कारण पैसाको पछि लाग्न बाध्य यी तीन युवा चलचित्र ‘जात्रा’ का शीर्ष पात्र हुन् । ‘जात्रा’, ‘जात्रै जात्रा’ हुँदै ‘महाजात्रा’ सम्म आइपुग्दा उनीहरुको जीवनमा खासै परिवर्तन आएको छैन । सधै उस्तै समस्या र उही परिवेशमा उनीहरू रुमल्लिएका छन् । न मुन्नाले आफ्नो घरको ऋण तिर्न सकेको छ, न त फणिन्द्रले आफ्नो परिवार खुशी राख्न नै सकेको छ । कलाकार हुन कुदिरहेको जोयस पनि पैसाकै कारण उल्झनमा परिरहेको छ ।
निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको यो सिनेमा यतिबेला सिनेमाघरमा प्रदर्शन भइरहेको छ । सिनेमामा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारले अभिनय गरेका छन् ।
एक लाइनमा भन्ने हो भने, यो सिनेमा पञ्चलाइन र दमदार संवादले भरिएको एक औसत सिनेमा हो । व्यवसायिक बनाउन कुनै कसर बाँकी नराखिएको ’महाजात्रा’ पूर्ण तयारीविना हतारमा प्रदर्शनमा ल्याइएको सिनेमा भन्दा कुनै अत्युक्ति नहोला ।
यद्यपि यो मनोरञ्जनको ‘फूल प्याकेज’ भने हो । मनोरञ्जनको प्याकेज हुँदैमा सिनेमा उत्कृष्ट हुने भन्ने हुँदैन ।
सिनेमाको राम्रो पक्ष के हो भने, निर्देशक प्रदीप भट्टराईले पात्रको संवादमा निकै मेहनत गरेका छन् । उनले पात्रको संवेदना, पारिवारिक विचलन र पैसामुखी समाजमा मानिस कसरी पैसाकै पछाडि जोखिम मोलेर कुद्न विवश छन् भन्ने कुरालाई नजिकबाट नियालेर पात्रहरू खडा गरेका छन् ।
निर्देशकले ‘जात्रा’ बाट ‘महाजात्रा’ सम्म आइपुग्दा चरित्रको अभिनय र हाउभाउलाई यथावत् राख्न सफल भएका छन् । सिनेमामा शीर्ष भूमिकामा देखिएका विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँले आफ्नो चरित्रलाई मर्न दिएका छैनन् ।
अक्सर सिक्वेलमा फरक देखिने चरित्रलाई उनीहरूले राम्रोसँग बाँधेर राखेका छन् । पात्रको सोच, व्यवहार, दुष्मनी र मित्रतामा आउने उतारचढाव हेर्न लायक छ । बरु वरिष्ठ अभिनेता हरिवंश आचार्यको अभिनय ‘लाउड’ छ । उनले निभाएको नेताको चरित्रलाई निर्देशक भट्टराईले राम्रोसँग स्थापित गर्न सकेका छैनन् कि भन्ने महसूस हुन्छ । हरिवंशका प्रशंसकलाई उनको अभिनयले खुशी तुल्याउन सक्दैन ।
अभिनेत्री वर्षा राउतले भने कुशल पत्नीको भूमिकामा अब्बल अभिनय गरेकी छिन् । उनको अभिनयले भावुक पनि बनाउँछ र आफ्ना पति फणिन्द्र (विपिन कार्की) लाई गरेको सहयोगको दर्शकले तारिफ गर्छन् ।
यसअघिका सिरिजमा बोराको पैसा र सुन लुकाउँदा लुकाउँदै चतुर बनिसकेका यी तीन पात्रले ‘महाजात्रा’ मा एक गाडी पैसा नै लुकाउनुपर्ने बाध्यता आइपर्छ । यति ठूलो रकम लुकाउनुपर्ने बाध्यता एकातिर छ, अर्कातिर शक्तिशाली नेतासँग पनि नझुक्ने प्रहरी इन्सपेक्टर (दिव्य देव) ले ती तीन पात्रको नजिकबाट निगरानी गरिरहेका हुन्छन् । जम्मा दश दिनका लागि एक करोड पैसा लुकाइदिन लागेका तीन पात्रको जीवनमा घटित आरोह अवरोहलाई कथानकमा उनिएको छ ।
सिनेमामा दिव्य देवको अभिनय समेत तारिफयोग्य छ । तर, निर्देशक भट्टराईले उनलाई चाहिनेभन्दा लाउड र दश जनासँग लड्न सक्ने दबङ्ग प्रहरी अफिसर बनाइदिँदा कताकता फ्लोमा बगिरहेको कथानक अलिनो भएको हो कि भन्ने महसूस हुन्छ ।
अघि नै भनिएजस्तो यो सिनेमाको राम्रो पक्ष यसका संवाद नै हुन् । संवाद र केही दृश्य यति शक्तिशाली छन् कि, दर्शकलाई छिनमै हाँस्न र छिनमै रुन बाध्य बनाउँछन् निर्देशकले ।
यति हुँदाहुँदै पनि द्रूत गतिमा बगिरहेको कथामा प्लटमा राम्रोसँग काम गरिएको छैन । कलाकारलाई यताउता दौडाइए पनि त्यो दौडधूपको गणित त्यति प्रभावकारी छैन । निर्देशकले पात्रअनुसार उनीहरूको गति पनि सीमित गरिदिएका हुन् भने त्यो बेग्लै कुरा हो । पहिलो हाफसम्म राम्रैसँग कुदिरहेको कथा दोस्रो हाफमा नेपालको राजनीतिजस्तै रुमल्लिन थाल्छ । सिनेमाको क्लाइमेक्स पनि पटक्कै चित्तबुझ्दो छैन ।
यो सिनेमाको अर्को कमजोर पक्ष भनेको यसको पार्श्वध्वनि र छायांकन हो । छायांकनलाई पात्र वरिपरि मात्र सीमित गर्दा कलाकारको अनुहार मात्र देखाएर जबरजस्ती अभिनय देखाउन खोजेको आभास हुन्छ । छायांकनमा भन्दा पनि निर्देशकले चरित्र र संवादलाई मात्र बढी महत्त्व दिएका छन् ।
त्यस्तै यसको पार्श्वध्वनिमा पनि निर्देशक भट्टराईले अलिकति समय दिनुपर्ने हो । कथाको मागअनुसार र पात्रको भावअनुसार पार्श्वध्वनिमा विविधता थप्न सकेको भए यो एक उत्कृष्ट सिनेमा बन्न सक्थ्यो ।
सिनेमाको एउटा सबल पक्ष के हो भने, यो देशमा कसरी शक्तिको दुरुपयोग गरेर नेताहरूले सामान्य व्यक्तिको जीवन तहसनहस गर्न सक्छन् र उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न कसरी अरुको वृत्तिमा दाग लगाउन सक्छन् भन्ने तीतो यथार्थ निर्देशकले सिनेमामार्फत प्रस्तुत गरेका छन् ।
तर, यसको क्लाइमेक्समा मुभमेन्ट त ठूलै हुन्छ । तर, त्यो चित्तबुझ्दो छैन । सिनेमा हेरुञ्जेल दर्शकलाई राम्रो लागे पनि यसको कथानक, क्लाइमेक्स, पार्श्व ध्वनि र छायांकनमा खास ध्यान नदिँदा उत्कृष्ट सिनेमा हुनबाट ‘महाजात्रा’ चुकेको छ भने अधिक व्यावसायिक बनाउन खोज्दा निर्देशक प्रदीप भट्टराईले पनि सिनेमालाई औसतमा थन्काएका छन् ।
मनोरञ्जन मात्र हुँदैमा सिनेमा राम्रो छ भन्ने दर्शकका लागि त ‘महाजात्रा’ ले चित्त बुझाउला । तर, प्रदीप भट्टराई सम्भावना बोकेका उम्दा निर्देशक हुन् भन्ने बुझेका धेरैलाई भने उनले निराश बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया