काठमाडौँ– अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गरेका छन् ।
बिहीवार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो ।
उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गरेको उनको सचिवालयले जनाएको छ ।
उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उनीहरुलाई औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएको बताएका थिए ।
जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिँदै नेपाल र विश्व बैङ्कबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराएका थिए ।
सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उनले विश्व बैङ्कसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया