भैरहवा– पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले छैठौं संस्करणको खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ क्रिकेट प्रतियोगिता शनिबारबाट आयोजना गर्ने भएका छन् ।
क्रिकेटर गौचनले स्व. बुआ खड्गप्रसाद गौचनको सम्झनामा चैत्र १० गतेदेखि २० गतेसम्म स्टार क्रिकेट एकेडेमीको आयोजना तथा क्रिकेट एशोसिएशन अफ रुपन्देहीको सहकार्यमा प्रतियोगिता गर्न लागेका हुन् ।
स्टार क्रिकेट एकेडमीका प्रबन्ध निर्देशक एवम् प्रशिक्षक समेत रहेका गौचनले ५ संस्करणको प्रतियोगिता सम्पन्न गर्दै यसपटक नवनिर्मित अन्तराष्ट्रिय क्रिकेट मैदान एक्स्ट्राटेक ओभलमा एकेडमीकै आयोजनामा प्रतियोगिता गर्न लागेका हुन् ।
‘बुवालाई पनि सम्झिरहन र क्रिकेट खेलले नयाँ नयाँ खेलाडीहरु उत्पादन गर्न सहयोग समेत पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको क्रिकेटर गौचनले बताए ।
यस क्षेत्रमा जुनियर खेलाडीको अवस्था अपग्रेड गर्दै खेलाडीको प्रोत्साहन र गुणस्तरीय खेलाडी उत्पादन गर्नका लागि प्रतिस्पर्धात्मक रुपबाट खेलमा रुचि बढाउने, बौद्धिक विकास र चाँडै प्रतिभाशाली भई देशका लागि योगदान दिने भनेर पनि प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए ।
प्रतियोगितामा पोखरा, काठमाडौं, धनगढी र विराटनगरको एक–एक टिम र रुपन्देहीका ४ वटा टिम गरी ८ टिमको सहभागिता रहने गौचनले बताए । प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमिफाइनल र फाइनल खेल भने ४० ओभरको खेलिनेछ ।
प्रतियोगितामा विजेता टिमले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्ने छ भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाइृ पनि पुरस्कृत गरिने गौचनले जानकारी दिए । गौचनले पहिलो संस्करणमा विद्यालय स्तरीय, दोस्रोमा रुपन्देही जिल्ला स्तरीय र तेस्रो संस्करणबाट राष्ट्रिय स्तरमा आयोजना गर्दै आएका छन ।
प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब विराटनगर, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी बुटवल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही तथा समूह बि मा पल्सर सीईसी काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डीसीए धनगढी र न्यू होराइजन स्पोर्ट्स क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया