काठमाडौँ – फिफा विश्वकप र एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा बहराइनसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको छ।
रिफास्थित नेसनल स्टेडियममा भएको खेलमा बहराइनका माहदी हुमाइदानले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए । नवौँ मिनेटमा सायद बकेरले वालियद अलहायमको कर्नरमा प्राप्त बललाई सहज रूपमा जाली चुमाउँदा नेपाल सुरुवातमै २–० ले पछि रह्यो।
त्यसपछि केही समालिए पनि नेपाल विरुद्ध लगातार गोलको प्रयास गरेको बहराइनले पहिलो हाफको इन्जुरी समयमा नै ती गोल गरिसकेको थियो ।
दोस्रो हाफमा पनि नेपालमाथि दबाब कायम राखेको बहराइनका लागि ८७ औँ मिनेटमा इब्राहिम अल खतलले गोल गरे । इन्जुरी समयमा इस्माइल अब्दुल लतिफले पेनाल्टी मार्फत पाँचौं गोल गरेपछि नेपाल ५–० को फराकिलो गोल अन्तरले पराजित बन्यो ।
दशरथ रङ्गशालाको खराब अवस्थाका कारण बहराइनकै मैदानमा खेलेको नेपाल घरेलु टोलीसँग पूर्ण रूपमा निरीह बनेको थियो। नेपालका सर्वाधिक गोलकर्ताको संयुक्त सूचिमा रहेका अन्जन विष्ट घाइते हुँदै १६ औँ मिनेटमानै मैदानबाट बाहिरिँदा नेपाल थप सङ्कटमा परेको थियो।
बहराइन विरुद्धको पहिलो खेलमा नेपालका अभिषेक लिम्बु, सौभाग्य राई तथा फरवार्डद्वय समिर तामाङ र सन्जिव विष्टले डेब्यु गरेपनि त्यसको खासै प्रभाव रहेन ।
समूह एचमा दोस्रो जितपछि बहराइनको तीन खेलबाट ६ अंक भएको छ। नेपाल लगातार तीन हारबाट अङ्कविहीन हुँदै पुछारमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया