मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के थाइराइड भएका महिलाले सन्तान जन्माउनै नसक्ने भन्ने हुन्छ?

पछिल्ला केही वर्षयता थाइराइडका बिरामीहरूको सङ्ख्या बढिरहेको छ । पुरुषको तुलनामा महिलामा बढी हुने यो रोगले घाँटीमा असर गर्छ ।

थाइराइड भएका महिलाहरुको प्रजनन स्वास्थ्यमा समेत समस्या आउने भएकाले यो रोगलाई सामान्य मानिँदैन । यो रोग निको नभएसम्म सन्तान सन्तान जन्माउन हुँदैन भन्ने बुझाइ पनि छ । थाइराइड भएका महिलाले जन्माएको बच्चा शारीरिक र मानसिक रुपमा अशक्त हुने सम्भावना प्रबल हुन्छ ।

थाइराइड कस्तो रोग हो ? यसका लक्षण र रोकथामका उपायहरु के–कस्ता रहेका छन् ? थाइराइड हुने मुख्य कारण के हो ? यो रोगका कारण के–कस्ता जटिलताहरु निम्तिन सक्छन् भन्ने प्रश्नका वरिपरि रहेर नर्भिक अस्पतालमा कार्यरत डा. कामक्ष शाहसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

थाइराइड कस्तो रोग हो ?

थाइराइड भनेको रोग नभइ एउटा ग्रन्थि हो । जुन हाम्रो घाँटीमा हुन्छ । त्यही ग्रन्थिमा रोग लाग्यो भने थाइराइड हुने हो । यो थाइराइड भन्ने ग्रन्थिमा रोग लाग्यो भने कम या बढी काम गर्ने या गिर्खाहरु पलाउने हुन्छ । सबैभन्दा बढी देखिने भनेको कम काम गर्ने थाइराइड हो भने अर्को बढी काम गर्ने थाइराइड हो । र, अर्को गिर्खा, ट्युमरहरु पलाउने थाइराइड पनि हुन्छ ।

थाइराइड हुने मुख्य कारण के हो ?

यो रोग लाग्नुको मुख्य कारण भनेको पहिलो त रोगसँग लड्ने क्षमता कम भएर नै हो । शरीरबाटै पलाएको यो रोगले थाइराइड ग्लानलाई संक्रमण गर्‍यो भने थाइराइड हुन्छ । अरु कारणहरु भन्नाले तनाव, मोटोपन, उमेरका कारणले र थाइराइडमा इन्फेक्सन भयो भने पनि यस्तो समस्या निम्तिन्छ । रुघा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण हुँदा पनि यो रोग देखिन सक्छ ।

यसका लक्षणहरु कस्ता हुन्छन् त?

यसका  लक्षणहरु भन्नाले कस्तो प्रकारको थाइराइड हो भन्ने कुरामा भर पर्दछ । कम काम गर्ने थाइराइड हो भने मोटो हुने, अल्छीपन आउने, टाउकोदेखि खुट्टासम्म दुख्ने, झमझम गर्ने, पोल्ने, महिनावारीमा गडबड हुने, कपाल झर्ने, छालाहरु फोहोर हुने जस्ता लक्षणहरु देखा पर्छन् । बढी काम गर्ने थाइराइड हो भने दुब्लाउने, पटक–पटक भोक लाग्ने र झाडापखला लाग्ने पनि हुन्छ ।

पुरुषहरुको तुलनामा महिलामा थाइराइड बढी हुन्छ भनिन्छ, के यो सत्य हो?

पुरुषको तुलनामा महिलाहरुमा थाइराइड बढी मात्रामा देखिन्छ । किनभने महिलामा हरेक महिना हर्मोनल परिवर्तन हुन्छ । महिनावारी र सन्तान जन्माउँदा महिलाको हर्मोन धेरै मात्रामा परिवर्तन भइरहन्छ । यसकारण सङ्ख्यात्मक हिसाबले पनि पुरुषहरुमा भन्दा महिलाहरुमा यो रोग बढी देखिन्छ । तथ्याङ्कगत हिसाबले भन्नुपर्दा तीनजना महिलामा थाइराइड देखा पर्दा एकजना पुरुषमा हुन्छ ।

थाइराइड भएका महिलाले गर्भादान गर्न सक्दैनन्, प्रजनन् स्वास्थ्यमा असर पुग्छ भन्ने हाम्रो आम बुझाइ छ, यो कत्तिको सत्य हो ?

थाइराइडप्रति मानिसहरुमा धेरै भ्रम छ । हर्मोनको गडबडीका कारण थाइराइड रोग हुनेहरुमा निःसन्तानपनको समस्या हुने गर्छ । तर त्यसको समयमै उपचार भएमा यस्तो समस्या रहँदैन । थाइराइड रोगप्रतिको भ्रमकै कारण नेपालमा कयौं युवतीको बिहेबारीमा पनि समस्या हुने गरेको छ । सन्तान हुँदै नहुने डरले उनीहरुको बिहे नै नभएका घटना पनि समाजमा घटिरहेका छन् । तर थाइराइड रोगको उपचार समयमै भएमा अरु सामान्य युवती जस्तै गर्भ रहने सम्भावना उत्तिकै रहन्छ ।

थाइराइड लागेपछि काउली र बन्दा गोपीको तरकारी खानु हुँदैन भन्ने अर्को भ्रम पनि छ, जुन गलत हो । थोरै मात्रामा खाँदा त्यसले केही हानी गर्दैन । थाइराइड रोगमा मोटोपनको समस्या हुने र मोटोपनसँगै मधुमेह पनि निम्तिन सक्ने भएकोले त्यसप्रति सजग भने हुन जरुरी छ ।

थाइराइडले कतिसम्मको जटिलता निम्त्याउन सक्छ ?

समयमै उपचार गराउनुभयो भने यसका जटिलताहरु छैनन् । यो औषधीले नै नियन्त्रणमा ल्याउन सकिने रोग हो । तपाईले समयमै सही उपचार गराउनुभयो भने यसबाट डराउनुपर्ने अवस्था छैन । त्यस्तै, कति मानिसलाई थाइराइड जटिल रोग हो भन्ने पनि भ्रम छ । तर यो साधारण रोग हो । नियमित औषधी सेवनले निको हुन्छ ।

यस समस्याबाट ग्रसित बिरामीहरुले कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?

कतिपयमा भ्रम छ कि, थाइराइडका बिरामीहरुले काउली, बन्दा, दहीहरुको सेवन गर्नु हुँदैन । तर थाइराइड खानाको कारणले हुने रोग होइन । यसकारण खाना बार्न आवश्यक छैन ।

थाइराइड भएकै कारण क्यान्सरसम्म हुन सक्ने कुरामा कत्तिको सत्यता छ ?

थाइराइड ग्रन्थिमा गिर्खा पलायो भन्दैमा त्यो क्यान्सर नै हुन्छ भन्ने छैन । तर त्यसको लागि चिकित्सकको निगरानीमा बसेर फलोअफ गर्नु जरुरी हुन्छ । किनकि कतिपय त्यस्ता गिर्खा वा डल्ला पछि गएर क्यान्सरमा परिणत पनि हुन सक्छ । त्यो गिर्खालाई शल्यक्रियाबाट फाल्नुपर्ने हुन्छ । केही गरी थाइराइड क्यान्सर भइहाले पनि त्यो त्यति डरलाग्दो अवस्था भने होइन । यो निको हुने क्यान्सरमध्येमा पर्छ । तर त्यसको पहिचान समयमा हुन जरुरी छ ।

अन्तिममा पाठकहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

थाइराइड भनेको डराउनुपर्ने वा आत्तिनुपर्ने रोग होइन । विशेषत मोटोपन नै थाइराइड हुनुको मुख्य कारण हो । यसकारण मोटोपनबाट बच्नुहोस् र केही लक्षणहरु देखा पर्नासाथ अस्पतालमा गई चिकित्सकको सल्लाह लिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?