मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चित्रकला

भ्रष्ट समाज झल्काउने‘कालो सूर्य’ र क्यानभासमा पोतिएको इन्दुको कला

काठमाडौँ– वि.सं. २०३६ सालमा जतिबेला साहित्यकार एवम् अभियन्ता भरत जङ्गमको उपन्यास ‘कालो सूर्य’ प्रकाशित भयो, त्यतिबेला पञ्चायत शासन सत्तामा खैलाबैला मञ्चियो ।

तत्कालीन समाजको अनैतिक, बेइमानी र भ्रष्ट समाजको चित्रण उनले उपन्यासमार्फत गरेका थिए । विशेष गरी सत्ता र शक्तिको आडमा चलेको कर्मचारी तन्त्रलाई उनले उदाङ्गो पारेका छन् । तीनताका पञ्चायत शासकले उपन्यासलाई प्रतिबन्ध गर्ने जमर्को गरे पनि विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, आर डी ‘प्रभास’ चटौत लगायतका स्रष्टादेखि राजनीतिकर्मीले जङ्गमकै समर्थन गरेपछि उपन्यासले झनै चर्चा कमाएको थियो ।

जङ्गमको उपन्यासलाई शासनरुढ व्यक्तिहरुले पढिदिए शायद उनीहरुको निभिसकेको नैतिक चेतना केही मात्रामा भए पनि पुनः जाग्न र उनीहरु एकान्त हृयदमा केही दोषी भावनाले ग्रस्त हुन सक्थे कि भनेर कोइरालाले ‘कालो सूर्य’का बारे लेखेका छन् ।

उक्त उपन्यास अङ्ग्रेजी, चिनियाँ, रुसी लगायत १५ वटा भाषामा अनुवाद भएका छन् । हालसम्म उपन्यासको पाँचौं संस्करण बजारमा आइसकेको छ । यही चर्चित उपन्यासलाई यतिबेला भने ललितकलाको फर्ममा कलाकार तथा साहित्यकार इन्दु पन्तले कलाप्रेमी माझ ल्याएकी छिन् ।

नक्सालस्थित नेपाल लतिकला प्रज्ञा प्रतिष्ठान परिसरमा यतिबेलामा जङ्गमको उन्यासमा आधारित भएर ‘कला र साहित्यको सङ्गम’ शीर्षकमा सिर्जना गरिएका दर्जनभन्दा बढी कलाकृतिहरु प्रदर्शनरत छन् । हालै मात्र यही कलाकृतिहरुलाई बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शन गरिएको थियो ।

कलाकार पन्तले ‘कालो सूर्य’लाई सारांशमा बुझिने गरी चित्र तथा अक्षर दुवै स्वरुपमा ढालेकी छिन् । लेखन र कला सिर्जना गर्ने क्रममा नै पन्तले जङ्गमलाई दुई वर्षअघि मात्र भेटेकी थिइन् । पन्तलाई जङ्गमले आफ्नो चर्चित कृतिलाई कलामा उतार्ने इच्छा व्यक्त गरेका थिए ।

ललितकलामा समेत स्थापित पन्तलाई भने शुरुमा अलिकति डर लागेको थियो । पछि जङ्गमको प्रस्तावलाई स्वीकारेर उनले कलाकृति सिर्जना गर्न शुरु गरिन् । उनले शुरुवातमा तत्कालीन समाजको परिस्थितिले गर्दा जङ्गमको मानसिकतामा पारेको प्रभावलाई चित्रण गर्ने कलाकृति तयार गरेर जङ्गमलाई देखाएकी थिइन् ।

उनको पहिलो कृति नै मन पराएपछि अरु सिर्जना कार्य अगाडि बढाइन् ।

जसरी उपन्यासमा ‘आइतवार’, ‘सोमवार’को खण्ड छुट्याएर त्यो बेलाको समाजलाई चित्रण गरिएको छ, त्यसरी नै चित्रमा पनि प्रत्येक खण्डलाई भाव बुझाउने गरी सिलसिलाबद्ध तरिकाले चित्रण गरिएको छ । चित्रसँगै प्रत्येक खण्डको सारांशलाई अक्षरमा समेत सरल भाषामा प्रस्तुत गरिएको छ ।

यसले उपन्यास नपढेका पाठकलाई समेत बुझ्न सघाउ पुग्ने कलाकार पन्त बताउँछिन् । उनका अनुसार सरसर्ती समग्र कलाकृतिहरु हेर्दा उपन्यास नै पढिरहेको आभास हुन्छ । अवलोकन गर्नेहरुले चित्रबाट नै त्यतिबेलाको समाजबारे बुझेको प्रतिक्रिया दिइरहेका छन् । प्रदर्शित कलाकृतिहरुलाई पन्तले क्यानभासमा एग्रेलिक रङ्गको माध्यममा तयार पारेकी छिन् ।

चर्चित तथा पुरानो कृतिलाई नयाँपुस्ता समक्ष ल्याउन पन्तलाई सजिलो थिएन । कृतिलाई उनले पहिला अध्ययन गरेर त्यसको भावार्थ आउने गरी सारांशमा लेखेकी थिइन् । फेरि उनले त्यसको भाव झल्कने गरी मानव फिगरमा ल्याउने काम गरिन् ।

उनले भनिन्, ‘शुरुमा जङ्गम सरले भन्नुहुँदा अलि गाह्रै लागेको थियो । उहाँले विश्वास गरेर भन्नुभएकोले नाइँ भन्न सकिँन । उहाँले चित्रहरुलाई निकै मन पराउनुभएको छ । दर्शकहरुले निकै रुचाउनुभएको छ ।’

जसरी जङ्गमले त्यतिबेलाको समाजलाई लेखनमा उतार्ने काम गरेका थिए, त्यसरी नै कलामार्फत् फरक धारमा ल्याउने प्रयास गरेको सुनाए । उनले देखेको र भोगेको त्यो बेलाको समय र अहिलेकोमा अझै परिवर्तन नआएको उनको भनाइ छ ।

सत्ता परिवर्तन भए पनि शासक र तिनको शासन प्रणालीमा उही पुरानै प्रवृत्ति दोहोरिरहेको उनको ठम्याइ छ ।

उनका अनुसार तत्कालीन समयमा लेखिने साहित्य लेखनभन्दा फरक धारमा उनले उपन्यास लेख्ने प्रयास गरेका थिए । उनको उपन्यास ‘कालो सूर्य’मा व्यक्ति भन्दा पनि समयलाई नायक बनाइएको छ । स्त्री अथवा पुरुषलाई मुख्य पात्र भन्दा पनि समयलाई नै प्रमुख बनाइएको उनले बताए ।

‘सबै उपन्यासहरुमा नायक तथा नायिका हुन्छन्, मेरोमा समय छ, त्यतिबेला यसलाई उपन्यास नै नमान्ने पनि धेरै थिए,’ उनले स्मरण गरे ।

‘कालो सूर्य’ले उपन्यासको क्षेत्रमा समेत नौलो धार प्रयोगमा ल्याएको उनको दावी छ । सिङ्गो उपन्यासलाई कलामा उतारिएको संभवत यो पहिलो कला र साहित्यको सङ्गम रहेको उनले सुनाए ।

फरक प्रयास र प्रयोग मार्फत् नै नेपाली साहित्यलाई विश्वमाझ पुर्‍याउनुपर्छ भन्ने मान्यतामा जङ्गम अगाडि बढिरहेका छन् । पन्तले पनि उनको धारणामा सही थपिन् ।

प्रतिष्ठानमा प्रदर्शनी शुक्रवारसम्म जारी रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?