मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

उच्च रक्तचाप र सुगरका रोगीलाई हुनसक्छ मिर्गौला फेलको जोखिम, कसरी जोगिने?

मिर्गौला मानव शरीरको एक अभिन्न अङ्ग जुन सिमीको आकारको हुन्छ । यो मेरुदण्डको दुवैपट्टि हुन्छ । यो झण्डै पाँच इन्च लामो हुन्छ । प्रत्येक मिर्गौलामा लाखौँ स–साना छान्ने जालीहरू हुन्छन्, जसलाई नेफ्रोन्स भनिन्छ ।

यो अङ्गले रगत छान्ने, शरीरमा झोलिलो पदार्थको मात्रा नियन्त्रण गर्ने, सही मात्रामा इलेक्ट्रोलाइट्स कायम राख्ने र शरीरलाई नचाहिने पदार्थहरू पिसाबको माध्यमबाट बाहिर फाल्ने काम गर्दछ ।

जब मिर्गौलाले फिल्टरिङ क्षमता गुमाउँछ, तरल पदार्थ र फोहोरको हानिकार स्तरहरू शरीरमा सङ्कलन हने गर्दछ । जसले रक्तचाप बढाउँछ र मिर्गौला विफलता (अन्तिम चरणको मिर्गौलाको रोग) को परिणाम दिन्छ । व्यस्त जीवनशैली र खानपानका कारण मिर्गौलाका रोगी पनि विश्वभर बढिरहेको तथ्याङ्क छ ।

मिर्गौलाको समस्स्या किन बढ्दो छ ? के कारणले मिर्गौला फेल हुन्छ ? कसरी हामी यस्तो समस्याबाट जोगिन सकिन्छ ? लगायतका प्रश्न वरिपरि रहेर मिर्गौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. सुमित आचार्यसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

मिर्गौलामा समस्या आउने हुने मुख्य कारण के हो ?

मिर्गौलामा समस्या आउने मुख्य कारण भनेको मधुमेह र उच्च रक्तचाप हो । यो बाहेकको अर्को कारण भनेको मृर्गौलामा मसिना बिबिर्रे फोकाहरु आउने, पत्थरीका कारण र अर्को भनेको शरीरबाटै उत्पन्न हुने विकार चीजहरू मिर्गौलाको फिल्टरमा भण्डारण हुँदा निम्तिने समस्याले उक्त रक्तचाप गराउने र पिसाब कम हुने कारणले समस्या निम्तिन्छ ।

मिर्गौलाका रोगीहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको पाइन्छ, कारण के हो?

मधुमेह र उच्च रक्तचापका बिरामी बढेकै कारण मिर्गौला फेल हुने समस्या पनि बढेको हो । अहिले विश्वव्यापी रुपमा यो समस्या छ । यसकारण मधुमेह नियन्त्रण भएन र लामो समयसम्म बल्झिरह्यो भने यस्तो समस्या देखा पर्छ ।

जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी लगायतका समस्याले अहिले दीर्घकालीन रूपमा मिर्गौला फेल हुने समस्या बढ्दो छ ।

मिर्गौला खराब भएको कसरी थाहा पाउने ? यसका लक्षणहरु के–कस्ता हुन्छन् ?

मिर्गौलामा समस्या देखिए किड्नी सुन्निने, आँखाको चारैतर्फ र खुट्टा सुन्निने, वाकवाकी लाग्न, कमजोरीपन महसूस हुने हुन्छ । यस्तै मिर्गौला खराबी भए छिट्टै थकान महसूस हुनु, शरीरमा रगतको कमी हुनु, उच्च रक्तचाप हुनु, कम्मरको तल्लो भाग दुख्नु, पिसाब धमिलो वा रातो हुनु लगायतका लक्षणहरु पनि देखा पर्दछन् ।

मिर्गौला फेल हुने समस्याबाट बच्न हामीले कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ?

मिर्गौलामा खराबी हुन नदिन मधुमेह भएका बिरामीहरुले मधुमेह कन्ट्रोल गर्नुपर्छ । यस्तै, ब्लड प्रेसर बढी भएका बिरामीले यसलाई नियन्त्रणमा ल्याउन सक्नुपर्छ ।

स्वस्थ व्यक्तिले पनि बर्षमा एकपटक मुर्गौलाको स्क्रिीनिङ गराउनुपर्दछ । शरीरमा नुन र फस्फोरसको मात्रा कम हुनुपर्छ । पोटासियम पनि नियन्त्रित हुनुपर्छ । यस्तो अवस्थामा केरा फाइदाजनक मानिन्छ । यसमा कम मात्रामा प्रोटिन हुन्छ ।

तरल पदार्थ सीमित मात्रामा लिनुपर्छ । उसिनेको सब्जी मात्र सेवन गर्नुपर्छ भने तारेको, भुटेको, मसलेदार खानेकुराको सेवन गर्नु हुँदैन ।

मिर्गौला फेल हुदाँको उपचार पद्धति कस्तो छ ?

यदि तपाईलाई मिृर्गौला फेल भएको छ भने उपचार आवश्यक छ । यसको दुई तरिकाले उपचार गर्न सकिन्छ । पहिलो त डायलाइसिस विधि हो । डायलाइसिस एक चिकित्सा प्रक्रिया हो । जसले मेसिन प्रयोग गरेर तपाईको रगत शुद्ध गर्दछ । अर्को उपचार विधि भनेको मिर्गौला प्रत्यारोपण हो । यो एउटा यस्तो शल्यक्रिया हो जसमा स्वस्थ मिर्गौलाले बिरामीलाई प्रतिस्थापन गरिन्छ । अर्थात् स्वस्थ व्यक्तिको मृर्गौला उक्त बिरामी भएको व्यक्तिको शरीरमा ट्रान्सप्लान्ट गरिन्छ ।

के मृर्गौला फेल भएको व्यक्ति उपचारपश्चात एक सामान्य व्यक्ति सरह बन्न सक्छ?

मिर्गौला ट्रान्सप्लान्ट गरेको हकमा नियमित औषधी सेवन गर्दा बिरामी एक सामान्य व्यक्तिसरह नै काम र जीवनशैलीमा आफ्नो जीवन व्यतित गर्न सक्छ । तर डायलाइसिस गरेको व्यक्तिको हकमा भने औषधी उपचारमा धाइरहनुपर्ने हुँदा उसै पनि मनोबल कमजोर हुँदै जान्छ र बिरामी निष्क्रिय हुँदै जान्छ । ती बिरामीको आत्मबल पनि निकै कमजोर भएको हुन्छ । यसकारण डायलाइसिसको हकमा सामान्य नभए पनि ट्रान्सप्लान्ट गरेका व्यक्तिहरु भने समान्य जस्तै बन्न सक्छन् ।

हामीले मिर्गौला स्वस्थ राख्न के गर्ने ?

हाम्रो मिर्गौला स्वस्थ राख्न बिहान उठ्ने बित्तिकै पानी पिउने गर्नुपर्छ । एकदिनमा कम्तिमा ३ लिटरसम्म पानी खानुपर्छ । समयमा सुत्ने बानी गर्ने, धेरै गुलियो तथा गुलियो पदार्थहरु खानु हुँदैन । अझ मैदाबाट बनाइएका परिकारहरु सकेसम्म नखाने वा कम खाने गर्नुपर्छ । खाना खाने तथा खाजा खाने समयको पनि निश्चित समय बनाउन सकिएन भने पनि मिर्गौला खराबी हुने सम्भावना हुन्छ । यस्तै परिवारमा कसैलाई मिृर्गौला सम्बन्धी रोग छ भने समयमै परीक्षण गर्नुपर्छ । साथै आफ्नो उचाइ अनुसार शरीरको तौलमा पनि नियन्त्रण गर्नुपर्छ । मोटोपनाका कारण पनि मिर्गौलामा खराबी देखिन सक्छ ।

मिर्गौला खराबीको समस्या लिएर कुन उमेर समूहका बिरामीहरु बढी आउने गर्छन्?

यो रोगबाट धेरैजसो उमेर ढल्किएका पाका मानिसहरूमा यस्तो समस्या बढी हुन्छ । खास गरेर दीर्घ रोगीमा मिर्गौलामा खराबी हुने जोखिम अझ बढी हुन्छ ।

तुलनात्मक रुपमा महिला र पुरुषको हकमा कसलाई यो समस्या बढी हुन्छ ?

नेपालको परिवेशमा महिलामा यो समस्या बढी छ । तर, डायलासिस र ट्रान्सप्लान्ट (प्रत्यारोपण) गराउनेको हकमा पुरुषहरू बढी हुनुहुन्छ । हामीले यसरी बुझौँ कि, रोग लाग्ने हकमा महिला धेरै भए पनि उपचार गराउनेमा पुरुषहरू बढी हुन्छन् । महिलालाई उपचार गराउन प्राथमिकतामा राखेको पाइँदैन ।

अन्त्यमा पाठकलाई के सुझाव दिन चाहानुहुन्छ ?

मुख्यकुरा हामीले दैनिक खानपान र व्यायाममा विशेष ध्यान दिएर स्वस्थ जीवनशैली अपनाउनुपर्दछ । यदि मधुमेह र उच्च रक्तचापको समस्या छ भने यसलाई कन्ट्रोलमा राख्न सक्नुपर्छ ।

त्यस्तै धुम्रपान र मद्यपान गर्नुभएन । महत्त्वपूर्ण कुरा भनेको वर्षमा एकपटक मिर्गौलाको चेकजाँच गरिरहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?