मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र

चलचित्र ‘महाजात्रा’ को भव्य प्रिमियर, सेलिब्रेटीले भने– दामी छ

काठमाडौँ– चलचित्र ‘महाजात्रा’ को भव्य प्रिमियर सम्पन्न भएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको काठमाडौँको सुन्धारास्थित सिभिल मलमा भव्य प्रिमियर गरिएको हो ।

प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका कलाकार र विशिष्ठ व्यक्तिको बाक्लो उपस्थिति थियो । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा कलाकार तथा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रिमियरमा फिल्म हेर्ने पुगेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भएको प्रतिक्रिया दिएका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रमा हरिवंश आचार्यले एक भ्रष्ट नेताको भूमिकामा अभिनय गरेका छन् । यस्तै चलचित्रमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

प्रिमियर हेरेका दर्शकले यो चलचित्र समसामयिक विषयलाई हास्य शैलीमा प्रस्तुत गरेको भन्दै तारिफ गरेका छन् ।

प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका कलाकारको उपस्थिति थियो ।

अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै नपाएको प्रतिक्रिया दिए । उनले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको तारिफ समेत गरे ।

‘फिल्म राम्रो र रमाइलो बनेको छ, कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ,’ उनले भने ।

त्यस्तै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमूलक चलचित्र बनेको बताइन् । उनले ‘महाजात्रा’ को एक पक्षको मात्र तारिफ गर्न नसकिने र यसको सबै पक्ष राम्रो भएको प्रतिक्रिया दिइन् ।

त्यस्तै अर्की अभिनेत्री निशा अधिकारीले ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको अपेक्षालाई यो चलचित्रले पूरा गरेको बताइन् ।

गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए । ‘जात्रा देखि नै बनिरहेको शृङ्खलामा मनोरन्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन्, एकदमै हाँस्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले फिल्म हेर्दा जे जे खोज्छ त्यो सबै समेटिएको छ, यो पर्फेक्ट फिल्म हो’, चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै सपूतले भने ।

‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन्, यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन, मैले हेरुञ्जेल कहिकतै दिक्क फिल गरिन्, म दर्शकलाई पनि फिल्म हलमा स–परिवार हेर्न आग्रह गर्छु’, केकीले भनिन् ।

अभिनेता तथा हास्य कलाकार जीतु नेपालले फिल्ममार्फत राजनीतिज्ञले सन्देश पाउने बताए । उनले चलचित्र पूर्ण प्याकेज बनेको प्रतिक्रिया दिए ।

त्यस्तै वरिष्ठ अभिनेता हरिवंश आचार्यले लेखिएकोभन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नुभयो, स्क्रिप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हाँस्ने फिल्म बनाउँछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यही भन्दा दोब्बर हर्षित छु’, उनले भने ।

प्रिमियरबाट प्राप्त प्रतिक्रिया र फिल्मको शृङ्खलाले बनाएको हाइपको आधारमा नेपालमा यसलाई मल्टिप्लेक्सले उच्च शो दिएका छन् । अधिकांश हलमा यसको शो समय अनलाइन टिकेट बिक्री शुरु भइसकेको छ ।

यो फिल्म मार्च २८ देखि साउदी अरेबियामा प्रदर्शन हुँदैछ । पहिलो पटक कुनै नेपाली फिल्म साउदी अरेबियामा प्रदर्शन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?