काठमाडौँ– यतिबेला लोक संगीत क्षेत्रमा अछामका बालगायक हिमाल परियारको चर्चा जति भएको छ, त्यति नै गायक, संगीतकार तथा गीतकार नरेश खातीको पनि भइरहेको छ ।
अछामका वनपाखामा गीत गाइरहेका हिमाललाई नरेशले नै गीत रेकर्ड गर्ने अवसर दिएका हुन् । उनैको शब्द तथा संगीतमा ‘किन रुवाको’ बोलको गीत हिमालको स्वरमा रेकर्ड भएर बजारमा आइसकेको छ ।
गीतमा बाल गायिका पूजा देवकोटाको पनि स्वर समावेश छ । आफूलाई समाजसेवी भनेर चिनाउने युट्युबर भोजराज थापाले हिमालसँग लिएको अन्तर्वार्ताबाट प्रभावित भएर उनले गाउने अवसर दिएका हुन् ।
त्यस्तै उनले सुर्खेतकी भाइरल भएकी प्रिती बिकको स्वरमा समेत गीत रेकर्ड गरेका छन् । उनकै शब्द, संगीत रहेको गीतमा उनको पनि स्वर समावेश छ ।
नयाँ पुस्ताका कलाकारलाई पनि यस क्षेत्रमा स्थापित गराउनुपर्ने उद्देश्यले नै उनले प्रिती र हिमाललाई अवसर दिएको जोयनेपालसँगको कुराकानीको क्रममा बताए । नयाँ आउने कलाकारलाई संगीत क्षेत्रमा गर्नुपर्ने संघर्षबारे उनले बुझेका छन् ।
त्यसैले उनी नयाँलाई सहयोग र समर्थन गर्न तत्पर छन् ।
‘पुरानासँगै नयाँ कलाकारलाई प्लेटफर्म दिनुपर्छ भन्ने मलाई लाग्छ’, उनले भने, ‘हिमाल भाइको प्रतिभालाई सम्मान गर्न नै मैले अवसर दिएको हुँ, हिमाल, प्रिती जस्ता नयाँ प्रतिभाहरुसँग जोडिन पाउँदा मलाई एकदमै खुशी लाग्छ ।’
लाहुरे परिवारमा जन्मेका गायक तथा सर्जक नरेशको पुर्ख्यौली घर गुल्मी भएकाले उनको जन्म र बाल्यकाल उतै बित्यो । पछि उनको परिवार नै दाङमा सरेका हुन् । उनी त्यहीको वनपाखा तथा विद्यालयको स–सानो कार्यक्रमहरुमा गीत गाइरहन्थे ।
एक दशकभन्दा बढी समयदेखि उनी संगीत क्षेत्रमा छन् । गीतकार तथा संगीतकारको रूपमा संगीत यात्रा शुरु गरेका नरेश यतिबेला गायनमा पनि स्थापित छन् ।
संगीत क्षेत्रको संङ्घर्षकै दौरानमा २०६८ सालमा ‘सानु कहाँ छौ’ गीत नै नरेशका लागि टर्निङ पोइन्ट बन्यो । उनको शब्द तथा संगीत रहेको गीतमा स्वर उनकै भाइ मेक्सम खाती क्षेत्रीले दिएका छन् । यही गीतबाट २०६९ सालमा ‘नेपाल लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समिति’ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय लोकदोहोरी कार्यक्रममा मेक्समले ‘नवगायक अवार्ड’ पाएका थिए ।
यस गीतले नरेश र मेक्समलाई लोकसंगीतमा स्थापित मात्र होइन, यसैमा लाग्ने उत्प्रेरणा समेत दियो । यही गीत हिट भएपछि संगीतमा पछाडी फर्केर हेर्नु नपरेको नरेशले मात्र होइन, मेक्समले पनि थुप्रै अन्तर्वार्ताहरुमा भन्ने गरेका छन् । त्यसपछि उनकै लय शब्दमा मेक्सम र टिका पुनको स्वरमा ‘कसम मैले माया जाल बुन्थेँ हजुर’ ले पनि तीनताका राम्रै चर्चा कमाएको थियो ।
झण्डै डेढ दशकअगाडि काठमाडौँको नयाँ बजारमा रहेको ‘गंगा जमुना दोहोरी’ साँझमा गीत गाउन थाले नरेशले आफ्नो साङगीतिक यात्रा शुरु गरेका हुन् ।
‘मेरी छोरी’, ‘रुँदै रुँदै तिम्रो शहर’, ‘रसिलो छ बोली’, ‘ माया मारेर’ लगायतका चर्चित गीतमा उनले शब्द तथा संगीत दिएका छन् । उनको गीत ‘माया मारेर’ मा गायिका समीक्षा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । यो गीतले निकै चर्चा कमाएको थियो ।
उनी केवल लोक दोहोरीमा मात्र पनि सीमित छैनन्, आधुनिक तथा पप गीत सिर्जनामा पनि उनी अभ्यस्त छन् । उनका अनुसार हालसम्ममा चार सय भन्दा बढी गीतमा उनी जोडिसकेका छन् ।
बुवाआमा नै संगीतप्रेमी भएकोले परिवारबाट दुवै दाजुभाइलाई कुनै रोकटोक छैन ।
उनी स्मरण गर्छन्, ‘स्कुलमा हुँदा विभिन्न लोकगीत प्रतियोगितामा पुरस्कार जितिरहन्थेँ, पछि एउटा राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगितामा भाग लिएर अवार्ड जितेपछि भने काठमाडौँमा नै बसेर गीतसंगीतको यात्रा अघि बढाउने निर्णय गरेँ ।’
शब्द रचना र संगीत सिर्जनासम्ममा आफ्नो रुचि देखाउने नरेश आफ्नो कलाकारितामा अझै नौला सिर्जना दिने सोचमा छन् ।
कलाकारितामा आफूले पाएको सफलतामा दर्शक स्रोताको माया र हौसला रहेको उनको भनाइ छ ।
नरेशका सिर्जनाहरु प्रायः उनका भाइ मेक्समको स्वर समावेश हुन्छ । उनले भने, ‘मेक्सम र म दाजुभाई हौँ, उनले मलाई राम्रो साथ दिएका छन्, मेरा धेरैजसो सिर्जनाहरुमा उनले नै स्वर दिएका छन् ।’
नेपाली मौलिक लोक संस्कृति र देशको सबै भाषाभाषीलाई सम्मान गर्दै नयाँ पुस्ता तथा मौलिकपनको विकास गर्नुपर्ने उनको सोच छ ।
गीतसंगीतको क्षेत्रमा बजारमा स्थापित हुनेलाई पनि कठिन रहेको उनको भनाइ छ । यसलाई उनले चुनौतीकै रुपमा लिएका छन् । संगीत क्षेत्रमा गुणस्तरलाई भन्दा बजारलाई हेर्ने परिपाटीप्रति उनको चिन्ता छ । भन्छन्, ‘अहिले गुणस्तरीय गीत संगीत नै उत्पादन हुँदैनन् ।
‘संगीत क्षेत्रमा लाग्न त्याग, तपस्या र साधना चाहिन्छ । प्रविधिले गर्दा गीत–संगीतको भौतिक बजार छैन । पुराना संगीतकर्मीहरुलाई डिजिटल प्लाटफर्मबारे त्यति जानकारी छैन । डिजिटल कम्पनीले नयाँ–पुराना दुवै खाले संगीतकर्मीलाई समेट्न नसकेका कारण पुराना स्रष्टाले डिजिटल बजारको फाइदा लिन नसकिरहेको उनले सुनाए ।
उनका अनुसार नेपाली गीत–संगीत संसारभर रहेका नेपालीमाझ पुर्याउन पनि चुनौती रहेको छ । नयाँसँगै पुराना स्रष्टाहरुलाई संगीतमा साथै बोकेर हिँड्नुपर्ने उनको राय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया