महिलाहरूमा हुने महिनावारी एक प्राकृतिक प्रक्रिया हो । जुन सामान्यतया अट्ठाईस् दिनको अन्तरालमा हुने गर्दछ । महिनावारी १२ देखि पन्ध्र वर्षको उमेरमा शुरू हुन्छ ।
कोही कसैमा भने अलिक छिटो नौ,दश वर्षमा नै महिनावारी हुने गर्दछ । छिटोमा नौ वर्षमा र ढिलोमा सत्र वर्षको उमेरसम्ममा महिलामा महिनावारीको प्रक्रिया सुरु हुने गर्दछ । र पैँतालिस देखि पचपन्न वर्षको उमेरभित्रमा रजस्वला सुक्ने गर्दछ अर्थात् महिनावारी रोकिने गर्दछ ।
महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका हर्मोनको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया पनि हो । एक महिलामा महिनावारी हुनु भनेको एउटी गर्भवती हुन तयार हुने सङ्केत हो ।
महिनावारी भएको समयमा महिलाहरू अलिक निष्क्रिय ,थकित र आलस्य हुने गर्दछन् । सबैलाई एकै प्रकारको महिनावारी पिडा भने हुँदैन ।
कसैलाई महिनावारी भएको महसुस नै नहुने अर्थात् पेट दुखाई नहुने, ब्लीडिङ पनि थोरै हुने र अघि–पछि सरह महिनावारीको समयमा पनि यथावत् रूपमा काम गर्ने सक्ने अवस्था हुन्छ ।
तर कतिपय महिलाहरूको हकमा भने महिनावारीको ४ दिन निकै कष्टकर हुने गर्दछ । धेरै पेट दुख्ने ,ब्लीडिङ पनि अत्यधिक मात्रामा हुने, ढाड कम्मर दुख्ने लगायत समस्या हुने हुँदा बिस्तारा बाट उठ्न नसक्ने अवस्था हुने गर्छ । यसकारण पेट धेरै दुखेर असह्य हुँदा धेरै महिलाहरूले पेनकिलर चक्की मेफ्टल सेवन गर्ने गर्छन् ।
सामान्यतया हाम्रो बुझाइमा दुखाई कम गर्ने यस्ता पेन किलरहरू सेवन गर्दा विवाहपछि सन्तानप्राप्तको समयमा असर गर्छ अझ भनौँ बच्चा नहुने समस्या, प्रजनन स्वास्थ्यमा असर गर्छ भन्ने बुझाई छ ।
यस कारण धेरै जनाले हटब्यागले सेकेर तातो सुपहरू खाएर दुखाई सहने गर्छन् । तर कतिपयले भने पेनकिलरकै सहायता लिनुपर्ने अवस्था छ ।
‘अन्य जथाभाबी रूपमा पेनकिलरहरूको सेवन गर्नुहुँदैन तर महिनावारी पिडा कम गराउने मेफ्टलले महिला स्वास्थ्यमा केही असर नगर्ने कुरा प्रस्ट बनाउँछिन् स्त्रीरोग विशेषज्ञ डा. स्वस्ति शर्मा’ । ‘विवाहपछि गर्भ रहँदैन, असर गर्छ भन्ने कुराहरूमा सत्यता नभएको उनको भनाई छ’ ।
‘पेट दुख्नसाथ औषधि खाने बानी बनाउनुहुँदैन । सुरुमा सकेसम्म घरेलु उपचारहरू अपनाउने जस्तै तातो ,झोलिलो कुरा खाने , व्यायाम गर्ने ,हट ब्यागले सेक्ने र अन्तिममा सहनै नसक्ने अवस्था आयो भने मेफ्टल खादा पनि कुनै साइड इफेक्ट नहुने बताउँछिन् नर्भिक अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा ’ ।
यस कारण हामीले सकेसम्म औषधि सेवन नगरेको ठिक हो । तर पेट दुखेर सहन नसक्ने अवस्था हुँदा पेनकिलर मेफ्टल प्रयोग गर्दा स्वास्थ्यमा असर नपर्ने कुरा स्त्रीरोग विशेषज्ञहरू बताउँछन् ।
सकेसम्म सुतेर मात्र नबस्ने ,उठेर हिँड्ने ,व्यायाम गर्ने ,तातो खानेकुरा खाने गरेर पनि पेट दुखाई कम गर्न सकिने चिकित्सकहरूको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया