बागलुङ – बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका सातजनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ ।
मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।
घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकले भने, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेको उद्धार गरेर अस्पताल पठाइएका छौँ, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया