काठमाडौँ– चिनियाँ फिल्म निर्देशक तथा प्रोफेसर सी फीले नेपाली फिल्मलाई विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव दिएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी समेत रहेका फिले अन्तिम दिन फिले सो कुरा बताएका हुन् ।
चिनियाँ फिल्म तथा आफ्नो निर्देशन यात्राका बारेमा बताउने क्रममा नेपालमा राम्रा सिनेमा बन्ने गरेको र यसलाई विश्व बजारसँग परिचित गराउनुपर्नेमा उनले जोड दिए ।
‘म पहिलोपटक सन् २०१५ नेपाल आएको थिएँ, त्यतिबेलै पहिलोपटक फिल्म हेर्ने अवसर पाएँ,’ कालो पोथी र सेतो सूर्य जस्ता फिल्मको उदाहरण दिँदै उनले भने, ‘नेपाली फिल्म उद्योग राम्रो हुँदैछ, अहिले इन्टरनेटबाट सबैले सबै ठाउँको फिल्म हेर्न सक्छन्, यस्तोमा राम्रो फिल्म बनाएर अन्तर्राष्ट्रिय स्तरका राम्रा पुरस्कार पायो भने दर्शक आकर्षित हुन्छन् ।’
साथै फिल्ममार्फत विभिन्न समूदायका सांस्कृतिक पक्ष उजागर गर्दा त्यसले संस्कृतिमा पनि टेवा पुर्याउने र फिल्मबाटै फरक फरक ठाउँको संस्कृतिका बारेमा थाहा पाउन सकिने भएकाले त्यसमा सर्जकले विचार गर्नुपर्ने उनले जनाए ।
‘नेट्फ्क्सिजस्ता ठूला प्लाटफर्मसम्म पुगेर अझ धेरै दर्शकलाई आकर्षित गर्न सकिन्छ,’ चिनियाँ फिल्म उद्योगले विश्व बजारमा आफ्नो स्थान बनाउन सफल भएको प्रसङ्ग जोड्दै ८२ वर्षीय फीले भने, ‘सन् १९८० को दशकसम्म पनि चिनियाँ फिल्म विश्वमा चिनिइसकेको थिएन, जब चिनियाँ फिल्मले भेनिस, बर्लिन, कान्सजस्ता महोत्सवमा उपस्थिति जनायो, त्यसपछि विश्वमा परिचित हुँदै गयो ।’
सन् १९८६ मा उनको फिल्म ‘अ गर्ल फ्रम हुनान’ कान्स लगायत युरोपका विभिन्न फेस्टिभलमा प्रदर्शन भएको थियो भने अमेरिकामा व्यवसायिक रुपमा प्रदर्शन भएको थियो । त्यस्तै उनको निर्देशनमा सन् १९९० मा बनेको ‘ब्ल्याक स्नो’ र सन् १९९३ को ‘वुमन सेसेम ओइल मेकर’ले ४० औँ र ४३ औँ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो ।
नेपाली फिल्म उद्योगका लागि चीन पनि एउटा बजार हुन सक्ने सम्भावना देखाउँदै फीले भने, ‘चिनियाँ मान्छेलाई आकर्षित गर्न उनीहरुको रुचिको विषय फिल्ममा समावेश गराउन सकिन्छ, धेरै चिनियाँहरु हिमाल आरोहण जस्ता साहसिक खेलका लागि नेपाल आउने गर्छन्, फिल्ममा त्यस्ता सामग्री समावेश गर्दा उनीहरुको लागि रुचिकर हुन सक्छ ।’
साथै नेपालको उत्तरी भाग तिब्बतसँग जोडिएकाले कथावस्तु तथा एउटा देशको फिल्म उद्योगले अर्को देशमा छायाङ्कन अभ्यास पनि लाभदायक हुन सक्ने उनले बताए ।
साथै उनले व्यवसायिक फिल्म एक दिन पुराना हुने र कलात्मक रुपमा बनाइएका फिल्म सधैँ ताजा रहने बताउँदै राम्रो फिल्म बनाउनका लागि विषयवस्तु छनोट सबैभन्दा महत्वपूर्ण रहेको धारणा राखे ।
महोत्सवको अन्तिम दिन लक्ष्मण सुनार निर्देशित नेपाली फिचर फिल्म बुलाकीसहित स्पेन, ब्राजिल, अमेरिका, चीन, बंगलादेश, जापान, इरान लागायतका देशका डेढ दर्जन फिल्म प्रदर्शन भए । महोत्सव राष्ट्रिय सभागृह, पर्यटन बोर्ड तथा छाया सेन्टर, लबिम मल, सिभिल मल र भाटभटेनी भक्तपुरमा रहेका क्युएफएक्सका हलमा चैत्र १ गतेदेखि चैत्र ५ (आज) सम्म चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया