मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मणिका धाममा धार्मिक मेला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि भक्तजन आउने क्रम सुरु भएको छ ।

सो धाम क्षेत्रमा भारतीयसँगै छिमेकी जिल्लाका भक्त वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्नका लागि मन्दिर क्षेत्रमा पुग्ने क्रम बढ्दो रुपमा रहेको छ ।

आज राति र भोलि दिउँसो मन्दिरमा धार्मिक मेला लाग्ने वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताए । 

उनका अनुसार फागुन शुक्ल पक्षको नवमीमा रात्रि र दशमीको दिउँसो मेला लाग्ने गर्दछन् । वर्षौँदेखि यसै तिथिमा मणिका धाम क्षेत्रमा मेला लाग्दै आएको छ ।

“मेलामा पुग्ने भारतीय तथा आन्तरिक श्रद्धालु भक्तजनलाई मध्यनजर गरी खानेपानीको सुविधासँगै सडक मर्मतको कार्य गरिएको छ”, अध्यक्ष हमालले भने, “भक्तजनलाई रातिको आरती र भजन कीर्तन गर्नका लागि आवश्यक प्रबन्ध मिलाएका छौँ ।”

बजार व्यवस्थापनको कार्यसँगै बसको अत्यधिक चाप हुने भएकाले पार्किङको उचित प्रबन्ध मिलाइएको उनको भनाइ  छ । उनका अनुसार मन्दिर परिसर क्षेत्रमा जनसहभागितामा सरसफाइको काम गरिएको छ ।

मन्दिरमा मनोबाञ्छित फल प्राप्तिका लागि भाकल गरेकाले रातिको मेलामा सहभागी भई मन्दिरमा दियो जलाउने, पूजाआजा गर्ने गर्दछन् । मन्दिरमा भेटीलगायत अन्य वस्तु चढाउने पनि रात्रिको मेलामा अनिवार्य सहभागी हुने गर्दछन् । 

मेलामा अप्रिय घटना हुन नदिनका सुरक्षाका लागि प्रहरीसँग समन्वयको कार्य गरिएको मन्दिरका मुख्य कारिन्दा डम्बरबहादुर ऐरले बताए ।

“धार्मिक भक्तजनको अत्यधिक चाप हुने भएकाले त्यसकै व्यवस्थापनको पूर्वतयारीमा जुटेका छौँ”, उनले भने, “साधु, ब्राह्मण, अन्य भक्तजन बस्ने स्थान निर्धारणको कार्य गरिएको छ ।” 

प्रत्येक वर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजनको निकै भीड लाग्ने अनुमान गरी त्यसैअनुरूप तयारीको काम भइरहेको उनको भनाइ छ । मेलामा रु एक लाख बढी भक्तजन पुग्ने अनुमान गरिएको छ ।

मेलामा दर्शन गर्न र व्यापार व्यवसाय गर्नका लागि ठूलो सङ्ख्यामा भारतको उत्तराखण्ड र उत्तर प्रदेशबाट भारतीय पुग्ने क्रम जारी रहेको छ । 

धाम क्षेत्रलाई स्थानीय बासिन्दाले मुड्काका नामले चिन्ने गर्दछन् । थारु भाषामा ‘मुड’ भन्नाले शिर भन्ने बुझिन्छ । सबैभन्दा अग्लो स्थानमा सिद्धनाथ–वैजनाथको थपना भएकाले यसलाई मुड्का भन्ने गरिएको थारु बुढापाकाको भनाइ छ । मन्दिर नजिकै सुन्दर तलाउ पनि रहेको छ । त्यसलाई स्थानीयले मुड्का ताल भन्ने गर्दछन् । 

ताल भने संरक्षणको अभावमा पुरिँदै जान थालेको छ । सङ्घीय सरकारले यस वर्ष सात प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको विकास गर्ने योजनाअनुसार सुदूरपश्चिम क्षेत्रमा मणिका धाम क्षेत्रका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मन्दिरको चारैतिर घना सालको वन रहेको छ ।

पूर्व–पश्चिम राजमार्गको कलुवापुर र झलारी क्षेत्र हुँदै बस चढेर आधा घण्टामै मणिका धाम क्षेत्रसम्म पुग्न सकिन्छ । मणिका धाम क्षेत्रमा सिद्धनाथ, वैजनाथ बाबाको प्राचीन मन्दिर, विवाह मण्डप, धुनी घर, भजन कीर्तन गर्ने स्थलसँगै साधु बस्ने कुटी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?