मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रेमिका नर्सको हत्या गरेर फरार भनिएका प्रेमी पनि मृत फेला

मोरङ – विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा कार्यरत २३ वर्षीय स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका प्रेमी पनि मृत फेला परेका छन् । 

चन्द्रिका कुमारीको हत्या गरी फरार रहेका २२ वर्षीय शिवशङ्कर दास विराटनगरै एक होटेलमा मृत फेला परेका हुन् । उनी नोबेल अस्पताल अगाडि रहेको होटेल फाइनमा झुन्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

यता विराटनगर– ४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठामा बस्दै आएकी चन्द्रिकाकुमारीको शव शुक्रबार दिउँसो हत्या भएको अवस्थामा कोठा भित्र बाथरुममा भेटिएको थियो । 

उनको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो । सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिका कुमारीको उनकै प्रेमी शिवशंकरले हत्या गरेर फरार भएपछि उनको खोजीमा प्रहरी लागि परेको थियो । 

फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए । 

‘ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटेल फाइनमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा शव भेटिएको छ,’ – एसपी कार्कीले भने ।

शिवशङ्कर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । तर शिवशङ्कर वैदेशिक रोजगारीमा मलेसिया गएपछि यता चन्द्रिका कुमारीको सीएमए सिरहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो ।

हत्याको कारण यहि भएको दाबी गरेको प्रहरीले अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको जानकारी दिएको छ । 

शिवशङ्कर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको थियो ।

चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशङ्कर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत फेला परेका हुन् । शिवशंकरले आत्महत्या गरेको होटेल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?