पोखरा– पयर्टनको राजधानी घोषणा गर्न पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रकाश सपूतको ‘गलबन्दी’ गीतमा नाचेका छन् । समारोहमा प्रस्तुति दिइरहेका सपूतको आग्रहमा प्रचण्डसहित अन्य नेताहरू नाचेका हुन् ।
आइतवार गण्डकी प्रदेश सरकार र पोखरा महानगरले संयुक्त रुपमा आयोजना गरेको ‘पोखरा: पर्यटनको राजधानी घोषणा समारोह’ मा प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा समेत गरे ।
उक्त समारोहमा गायक तथा कलाकार प्रकाश सपूतले फूलमाया, तिमी मलाई प्रलय नै मन पर्ने, गलबन्दी लगायतका गीत गाएका थिए ।
उनले गाएको गलबन्दी गीतमा प्रचण्डसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य लगायतका नेताहरु पनि छमछमी नाचेका थिए ।
उक्त समारोहमा पोखरेली कलकारहरूले समेत पोखराको महिमा गाउँदै आफ्नो प्रस्तुति दिएका थिए । यस्तै गायक प्रमोद खरेलले समेत म विना कसैकसैलाई मुस्किल छ पोखरामा गीत गाएका थिए । यो गीतका लेखक शीतल गिरीलाई पनि सम्झिएका थिए ।
समारोहमा भाषाविद् मुकुन्दशरण उपाध्याय र माछापुच्छ्रे फेवातालमा पौडी खेल्दै रैछ गीतका सर्जक गायक तथा संगीतकार दिवंगत सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो । मल्लले म मरे पनि मेरो देश बाँचिरहोस् गीत समेत लेखेका थिए । समारोहमा दिवंगत हर्क गुरुङलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।
यस्तै समारोहमा कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ, धर्वेन्द्र सेवाङ लगायतले समेत आफ्नो प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया