काठमाडौँ– आफ्नो सम्पूर्ण जायजेथा बोकेर हातको उज्यालोको सहारामा बाटो लागेका मानिसहरु निरन्तर यात्रामा छन् ।
घाम डुब्नै लाग्दा चौतारीमा सुसाइरहेको एउटा भारी त्यसै अडिएको छ । जङ्गल, पहाड र घामपानीको यात्रामा छन्, पूर्वी पहाडका किराँतीहरु ।
जो आफ्नो प्राचीन थलो छोडेर मधेशको यात्रामा छन् ।
पूर्वको किराँती समुदायको यो कहालीलाग्दो इतिहासलाई ललितकला क्षेत्रका कलाकारहरुले कुची र रङ्गको माध्यममा क्यानभासमा उतारेका छन् ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा फागुन ११ गतेदेखि २६ गतेसम्म मञ्चन भएको नाटक ‘झोडा’लाई कलाकारहरु किरण सिगु, सोनाम चाम्लिङ राई, सुजिता चौधरी, सारा तुनिप कोइँच, विजय लावती, लाइफ तामाङ, विनोद लिम्बु र आयुशा आङथुपोले आ–आफ्नो सिर्जनामा उतारेका हुन् ।
गणेश रसिकको उपन्यास ‘आकाशगङ्गाको ओतमुनि’ उपन्यासमा आधारित रहेर नाटक ‘झोडा’ लाई रङ्गकर्मी चेतन आङथुपोको परिकल्पना तथा निर्देशनमा तयार पारिएको थियो ।
नाटक ‘झोडा’मा प्राचीन थातथलो छाडी मधेस झरेका पूर्वी पहाडका आदिवासीको कथालाई प्रस्तुत गरिएको छ । जो भूमिपुत्र भए पनि भूमिहीन बन्नुपर्यो ।
वि.सं.२०२१ सालमा भूमिसुधार ऐन लागु भएपछि लिम्बुहरूको पूर्ण अधिकार रहेको किपट प्रणाली खारेज भयो । पृथ्वीनारायण शाहको राज्य एकीकरणको समयमा समेत लिम्बुवान क्षेत्रलाई किपट प्रणाली अन्तर्गत नै राखेर एकलौटी भूमि स्वामित्व प्रदान गरेको थियो ।
वि.सं. २०२१ सालपछि भने तत्कालीन शासन व्यवस्थाले मधेसका तीन जिल्लाहरू झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जग्गा आवाद ‘झोडा’ खुलाएर पूर्वका किराँतीहरुलाई मधेशतिर झार्ने काम भयो ।
मधेश झरेका उनीहरुले न जमिन पाए, न त सुखलै बाँच्न पाए ।
राज्यबाट सधैं किचलो र जालझेल मात्र भइरह्यो । रङ्गमञ्चमा देखाइएका यी दृश्यहरुलाई नै कलाकारहरुले क्यानभासमा उतारेका हुन् ।
‘झोडा’को मुद्दामा पीडा भोगिरहेका भूतपूर्व सैनिकको मुद्दालाई ऐतिहासिक बनाउन कलामा उतारिएको कला कार्यशालाका संयोजक कलाकार किरणले जोय नेपालसँगको कुराकानीमा सुनाए ।
उनका अनुसार सबै कलाकाहरुले ‘झोडा’ नाटक हेरेपछि त्यहाँको कथा र दृश्यहरुलाई क्यानभासमा चित्रण गरेका हुन् ।
त्यसकारण सबै चित्रहरुमा नाटक ‘झोडा’कै परिवेश, दृश्य र भावहरु प्रतिबिम्वित भएको देख्न सकिन्छ । ‘हाम्रो बाउबाजेले भोगेको कुरा हामीले रङ्गमञ्चमा त हेर्यौं,’ उनले भने, ‘यसैलाई सय वर्ष पछाडि पनि हेर्न मिल्ने गरी हामीले इतिहासको दस्तावेजका लागि आर्टमा ल्याएका हौं ।’
रङ्गकर्मी चेतनको रंगकर्मको प्रयासलाई उनले सहायता स्वरुप कला फर्ममा सहयोग गरेको सुनाए । लगभग १५ दिनसम्म गरिएको कार्यशालामा बनेका कलाकृतिहरुलाई किरणले चुलाचुलीतिर नै पठाएका छन् । राजधानीमा कला प्रदर्शनी माहोल नभएपछि उनले उतै कलाकृतिहरु पठाएका हुन् ।
कलालाई केवल रङ्ग र ब्रसको काम मात्र नभएर यसमा समग्र समाज, मानवको इतिहासलाई अनुसन्धान गरी दस्तावेज बनाउन सकिन्छ भन्ने उदाहरण समेत उनले पेश गरेका छन् । विगत डेढ दशकभन्दा लामो समयदेखि कला सिर्जनामा लागेका उनी कलालाई सामाजिक मुद्दासँग जोड्नुपर्ने धारणा राख्छन् ।
कलामार्फत नै ‘झोडा’को विषयलाई उठान गर्न पाएकोमा उनलाई निकै खुशी लागेको छ । सहकर्मी साथीहरुले समेत उनको प्रयासलाई साथ दिएकोमा उनले आभार प्रकट गरे ।
उनी भन्छन्, ‘इतिहासलाई कोट्याउनु हुन्न भन्छन्, तर यसलाई कोट्याएर जति आलो घाउ बनायो त्यति नयाँ पुस्ताले इतिहास बुझ्न पाउँछ ।’
राज्यले किराँती भूमि र त्यहाँका आदिवासीमाथि गरेको छलकपटलाई आगामी पुस्ताले थाहा पाइराख्नुपर्ने उनको बुझाइ छ ।
‘हाम्रा पूर्खालाई झुक्काएर दुःख दिने काम भयो, अझै पनि त्यो मुद्दा सुल्झेको छैन, यो मुद्दामा आवाज हराउन थालेको छ, त्यसैले कलामार्फत उठाउन जरुरी छ,’ उनी सुनाउँछन् ।
कार्यशालामा सिर्जना भएका कलाहरुमा पूर्वका युवाहरुले आफ्नो इतिहास खोतल्नेछन्, भन्ने कुरामा उनी विश्वस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया