पाँचथर– किरात धर्मशास्त्र मुन्धुममा आधारित ठाउँहरूको प्रचार गर्न जिल्लामा ‘सेहोनाम्लाङ’ सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।
मुन्धुममा वर्णन भएको लिम्बू समुदायको उत्पति भएको मानिने ठाउँ सेहोनाम्लाङ (छाला सुकुवा डाँडा) सहितका क्षेत्रको प्रचारका लागि फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा यही चैत २६ गतेदेखि वैशाख २ गतेसम्म महोत्सव हुने भएको हो ।
सेहोनाम्लाङको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
सेहोनाम्लाङ क्षेत्र र लिम्बू समुदायको उत्पतिसम्बन्धी किंवदन्तीका दुई पात्रहरू नामसामी र केसामीबारे छलफल गर्ने आयोजक समितिका सचिव सूर्यप्रकाश चेम्जोङले जानकारी दिए । महोत्सव करिब ४० लाखको लागतमा गर्न लागिएको हो ।
महोत्सवमा सेहोनाम्लाङ क्षेत्रमा नियमित भ्रमण गराउने, कृषिजन्य वस्तु प्रदर्शनीमा राख्ने, सेहोनाम्लाङबारे विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी आदिवासी जनजातिका कला संस्कृति सम्वर्द्धनबारे वहस, कृषि तथा पर्यटनसम्बन्धी गोष्ठी, लोकसंस्कृतिमा आधारित कार्यक्रम, विभिन्न खेलकुद प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष डिएम आङ्देम्बेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया