मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

के महिलाले ३० वर्षपछि सन्तान जन्माउँदा जोखिम बढी हुन्छ ?

नेपाली समाजमा सामान्यतया २० देखि ३० वर्षभित्रमा महिलाको विवाह हुन्छ । विवाह भएको एक वर्षदेखि पाँच वर्षसम्ममा दम्पतीले सन्तान जन्माउने गर्दछन् । कसैले २० वर्षमै पनि बच्चा जन्माउँछन् र कसैले ३० वर्ष काटेपछि बल्ल पहिलो सन्तानको योजना बनाउँछन् ।

वास्तवमा एक महिलाको लागि बच्चा जन्माउने सही उमेर कति हो भन्ने विषयमा जानकार नहुँदा पनि महिला स्वास्थ्य र गर्भावस्थामा र बच्चा जन्मिएपछि विभिन्न समस्याहरु देखा पर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

एक महिलाले सन्तान जन्माउने सही उमेर कति हो ? सही समयमा सन्तान जन्माउँदा के फाइदा हुन्छ र उमेर कटिसकेपछि सन्तानको योजना बनाउँदा मातृत्व कति सुरक्षित हुन्छ । यसले के–कस्ता समस्या निम्तिन सक्छन् लगायतका विषयमा केन्द्रित रहेर स्त्री रोग विशेषज्ञ डा. आशा सिंहसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

महिलाको सन्तान जन्माउने उपयुक्त उमेर कति हो ?

महिलाको प्रजनन क्षमता भनेको महिनावारी शुरु भएदेखि महिनावारी हुन बन्द नहुञ्जेलसम्म हो । तर २१ वर्षदेखि ३० वर्षभन्दा अघिको उमेर नै सन्तान जन्माउने उपयुक्त उमेर हो ।

३० वर्षपछि डिम्बको गुणस्तर पनि घट्ने हुन्छ र उमेरकै कारण पनि प्रजनन क्षमतामा असर पर्ने हुन्छ । ३४ वर्ष भन्दा पहिला बच्चा जन्माउँदा जेनेटिक समस्या देखिने सम्भावना कम हुन्छ । तर ३४ वर्ष कटेपछि भने बच्चामा जेनेटिक समस्या देखिने प्रवल सम्भावना हुन्छ । तीस वर्ष उमेर कटेर सन्तान जन्माउँदा नर्मल डेलिभरीको सम्भावना निकै कम पनि हुन्छ ।

उपयुक्त उमेरमा सन्तान जन्माउँदा के फाइदा छन् त?

उपयुक्त उमेरमा सन्तान जन्माउँदा सबैभन्दा ठुलो फाइदा भनेको नर्मल डेलिभरी गराउन सकिन्छ । सही उमेरमा आमा बन्दा महिलाको प्रजनन क्षमता पूर्ण रुपमा विकसित भइसकेको हुन्छ । ३० वर्ष अर्थात् उमेर कटिसकेपछि सन्तानको योजना बनाउँदा गर्भावस्थामा लाग्ने रोगहरु मधुमेह, थाइराइड, डाउन सिन्ड्रोम, ओभरी जस्ता रोगहरु लाग्ने सम्भावना अधिक हुन्छ । कम उमेरमा गर्भवती हुँदा महिलाको प्रजनन क्षमता र शारीरिक विकास पनि राम्ररी भइसकेको हुँदैन । यसकारण प्रसूतिको समयमा जटिलता निम्तिन सक्छ ।

महिलाको प्रजनन क्षमता कति वर्षपछि घट्दै जाने हुन्छ ?

महिलाको प्रजनन क्षमता ३० वर्ष कटेपछि स्वत: घट्दै जाने हुन्छ । जुन ओभरी, डिम्बासय हरेक वर्ष १० प्रतिशतका दरले घट्दै जान्छ ।

उमेर ढल्किएपछि सन्तानको योजना बनाउनु महिला स्वास्थ्यका लागि कति जोखिमपूर्ण हुन्छ ?

उपयुक्त उमेरमा सन्तान जन्माउँदा मातृत्व पक्कै सुरक्षित हुन्छ । नर्मल डेलिभरी गराउन सकिन्छ । उमेर ढल्किएपछि सन्तानको योजना बनाउनु खतराजनक नै हुन्छ भन्ने हैन । चिकित्सकको निगरानी र परामर्शमा सन्तान जन्माउन सकिन्छ । तर ३४ वर्ष कटेर सन्तान जन्माउनु उच्च जोखिम हुन्छ । गर्भावस्थामा लाग्ने रोगहरुले पनि सताउन सक्छ । बच्चा र आमा दुवैको स्वास्थ्यमा जटिलता निम्तिन सक्छ ।

अन्त्यमा जागी, करिअर र विविध कारणले उमेर ढल्केपछि मात्रै सन्तानको योजना बनाउने महिला र आम पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?

हरेक कुराको उपयुक्त समय हुन्छ । सबै कुराहरु समयमै गर्नु उचित र फाइदाजनक पनि हुन्छ । यसकारण आफू सँगसँगै आफ्नो सन्तान पनि स्वस्थ जन्मियोस् भन्ने चाहनुहुन्छ भने ३० वर्ष अगावै सन्तानको योजना बनाउनुहोस् ।

अहिलेको एक्काइसौँ शताब्दीमा महिला समानताका कुरा पनि आउँछन् र आत्मर्निभरताका कुरा पनि आउँछन् । तर महिला स्वास्थ्यका हिसाबले सबै कुराहरुलाई एउटै तहमा लैजानुपर्दछ ।

करियर, आत्मर्निभरता भनेर विवाह, सन्तानको योजनालाई पछि धकेल्दा महिला आफै समस्यामा परिरहनुभएको केशहरुमा हामीले काउन्सिलिङ गरिरहेका हुन्छौं । यसकारण सकभर ३० वर्षको उमेर अगावै विवाह र सन्तानलाई प्राथमिकता दिनुभयो भने जीवन सुमधुर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?