सुनसरी – २४ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत फाइनलमा आज काठमाडौँको एनआरटीले जिल्ला फुटबल संघ मोरङ टिमविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एसोसिएसन पहिलो पटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको विजेता बनिसकेको आयोजकले जनाएको छ ।
विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटी दोस्रोपटक उपाधि जित्ने दाउमा छ । यो सिजनमा चारवटा प्रतियोगितामा फाइनल खेलको अनुभवलाई एनआरटीले मोरङसँग प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राकेश लामाले जानकारी दिए ।
यता चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको मोरङ पनि उपाधि जित्ने दाउमा छ ।
‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङ टिमका कोच रानु रानाले एनआरटीलाई अनुभवी र कडा प्रतिस्पर्धीको रूपमा लिएको बताए । युवा खेलाडी आफूहरूको टिममा भएकाले उपाधि जित्न सक्ने उनको भनाइ छ ।
धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रङ्गशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।
प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया