मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युवापुस्ताको कोरिया मोह: बढेको छ, घटेको छैन

के नेपालमा रोजगारीका अवसर नभएका हुन्?

काठमाडौँ– रहरले होस् या बाध्यताले नेपालबाट वर्षेनी हजारौँ युवा रोजगारीका लागि नेपाली भूमि छोड्छन् । उनीहरूले नेपाल मात्र छोड्दैनन्, परिवार, आफन्त र साथीभाइबाट पनि टाढा हुन्छन् ।

अझ नेपालको पश्चिमी क्षेत्रतिर खेतीपातीको काम सकेर गुजारा चलाउनकै लागि छिमेकी मुलुक भारतमा रोजगारीका लागि जानेको जमात ठूलो हुन्छ ।

सन् १९८५ मा वैदेशिक रोजगार ऐन लागु भएपछि विदेश जाने नेपालीहरुको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको छ ।

नेपालको राजनीतिक, आर्थिक र सामाजिक कारणले युवामा परेको मनोवैज्ञानिक प्रभाव र चरम बेरोजगारीका समस्याले युवापुस्ताले आफ्नो उर्वर उमेर विदेशी भूमिमा बिताउन बाध्य छन् । सहजताका कारण खाडी मुलुक जाने युवापुस्ता पछिल्ला केही वर्षयता भने समृद्ध मुलुक दक्षिण कोरियातर्फ आकर्षित भएका छन् ।

दलालले नफसाउने, कम लगानीमा जान सकिने र आम्दानी पनि राम्रो हुने भएकाले कोरियाली भाषा पढ्ने युवाको सङ्ख्या झनै बढ्दै गएको छ । अझ कतिपयले त सरकारी जागीर छोडेर पनि कोरियन भाषा पढिरहेको पाइन्छ ।

नेपाल सरकार र दक्षिण कोरियाली सरकारका बीच श्रम सम्झौता भएपछि नेपाली युवाले कोरियालाई आफ्नो प्रमुख सपनाको गन्तव्य बनाइरहेका छन् ।

जानकी गाउँपालिका टिकापुर, कैलालीका भुपाल रोकाय नेपालमा बसेर राम्रो कमाइ गर्न नसकेपछि कोरिया जान लागेको बताउँछन् । मध्यम वर्गीय परिवारमा जन्मिएका भुपाललाई सबै कुरा विदेश गएर मात्रै सम्भव हुन्छ भन्ने त लाग्दैन तर जीवन निर्वाहकै लागि उनी कोरिया जान पास गर्नुपर्ने भाषा पढ्न कम्मर कसेका हुन् ।

भुपाल रोकाय

‘धेरै साथीहरुले विदेशमा गएर राम्रो कमाइ गरिरहेका छन्’, उनले जोय नेपालसँगको कुराकानीमा भने, ‘दाइदिदीहरुले पनि नेपालमा बसेर राम्रो कमाइ हुँदैन विदेश नै जानुपर्छ भनेर सम्झाए, देशमा केही राम्रो गर्ने वातावरण नै छैन, त्यसकारण कोरियन भाषा पढ्नतिर लागेको हुँ ।’

कोरियाको कमाइले घरपरिवारलाई खुसी राख्ने र आफ्नो भविष्य राम्रो बनाउने उनले सोचेका छन् ।

‘कमाउँदै उच्च शिक्षा पनि हासिल गर्न सकिन्छ, कोरियन भाषा पढ्न शुरु गरेर पास पनि भएँ । अब भिसा पर्खिरहेको छु’, उनले भने ।

प्राविधिक शिक्षा अन्तर्गत कक्षा ९ बाट १२ सम्म सिभिल इन्यिनियरिङ पढेका भुपालले लोकसेवाको तयारी पनि गरेका थिए ।

त्यसमा असफल भएपछि उनले कोरियन भाषा पढ्न सुरु गरेका हुन् । केही वर्ष कोरिया बसेर पैसासँगै नयाँ सीप सिकेर नेपालमै केही गर्ने उनको लक्ष्य छ ।

भुपाल जस्तै अछामका डण्डीराज तिमिल्सिनाको सपना पनि उस्तै छ । उनी हाल कीर्तिपूरस्थित ‘जेनिथ इन्स्टिच्युट’ मा कोरियन भाषा नै पढ्दै छन् । तिमिल्सिना व्यवस्थापन संकायबाट कक्षा १२ को पढाइ सकेर थोरै खर्चमै कोरिया जान सकिने थाहा भएपछि कोरियन भाषा पढ्नतिर लागेका हुन् ।

डण्डीराज तिमिल्सिना

उनले दुःखेसो पोखे, ‘देशमा रोजगारको अवस्था छैन, केही वर्ष काठमाण्डौँ बसेर लोकसेवा पढ्न आर्थिक अवस्थाले सकिँदैन, त्यसैले छोटो समयमा राम्रो पढेर कोरिया जाने सोच बनाएको छु ।’

यी दुई जना त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरु जस्ता लाखौँ मानिसहरु राम्रो सेवा सुविधासँगै कमाउने र सुखद भविष्यको सपना बुनेर दिनरात नभनी कोरियन भाषा पढिरहेका छन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्क हेर्दा पनि गत तीन वर्षमा रोजगारीको लागि कोरिया जाने मानिसको सङ्ख्या बढेको देखिन्छ । ईपीएस कोरिया शाखाको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७७/०७८ ३ सय ५४ पूरुष र २९ महिला गरी जम्मा ३ सय ८३ जना मात्रै नेपालबाट कोरियन भाषा पास गरि कोरिया पुगेका छन् ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा भने १२ हजार ७ सय १९ जना पुरुष र १ हजार ५ सय ९२ जना महिला गरी १४ हजार ३ सय ११ जना रोजगारीका लागि कोरिया पुगे । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २२ हजार १ सय ९२ जना कामदार कोरिया पुगेको तथ्याङ्क छ ।

शाखाका अनुसार यस वर्ष रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानको लागि १ लाख १८ हजार ४ सय ६२ पूरुष तथा ४५ हजार १ सय ७३ जना महिला गरी जम्मा १ लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएका छन् । यसलाई अहिलेसम्मकै उच्च सङ्ख्या भएको शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् ।

केही समयअघि कोरियन भाषाको परीक्षा भर्न पाउनुपर्ने आन्दोलन गरेका युवाहरूमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको ज्यान गएको थियो ।

देशमा आर्थिक संकट चुलिँदो छ । बेरोजगार युवाहरुको संख्या बढ्दो छ । यस्तो अवस्थामा युवाहरु राम्रो कमाइको आशामा कोरिया पुग्न जुनसुकै स्थिति भोग्न तयार छन् भन्ने उदाहरण हालै भएको बालकुमारी घटनाले देखाउँछ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको लागि अन्य विभिन्न मुलुकको तुलनामा कमाइका हिसाबले पनि दक्षिण कोरिया राम्रो मानिन्छ । मासिक न्यूनतम दुईदेखि पाँच लाख रूपैयाँ जुनसुकै काममा जाँदा पनि कमाउन सकिने कोरिया गएका नेपालीहरूले सुनाउँछन् । यसकारण पनि वैदेशिक रोजगारीमा कोरिया जान चाहने युवाको सङ्ख्या बढिरहेको कतिपयको बुझाइ छ ।

गएका केही वर्षको तथ्याङ्कलाई हेर्दा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कोरिया जाने युवाहरु उल्लेख्य रुपमा बढेको श्रम रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीले बताए ।

उनका अनुसार कोरियन सरकारसँग भएको वैदेशिक रोजगार सम्झौता र सेवा सुविधाको ग्यारेन्टीका कारणले यसतर्फ युवाको आकर्षण बढेको छ ।

उनले भने, ‘देशमा अवसर नै नभएको भन्न सकिँदैन, तर नेपालमा भएको युवा जनशक्तिलाई धान्न सक्ने अवस्था छैन, कोरियामा श्रम सम्झौता कार्यान्वयनको अवस्था र ५ वर्षसम्म श्रमिकलाई दिइने सेवा सुविधाको ग्यारेन्टी पनि भएकाले युवाको आकर्षण  बढेको हो ।’

सामाजिक दबाब लगायतका कारणसँगै देशको राजनितिक अवस्थाले पनि युवाहरु पछिल्लो समय युवाहरु विदेशिन बाध्य हुने गरेको निर्देशक उप्रेतीको बुझाइ छ ।

देशका सीपयुक्त जनशक्तिलाई नेपालमै रोक्न सकिएको छैन । सकेसम्म युवालाई विदेश जानुपर्ने अवस्थाको अन्त्य सरकारले गर्नुपर्ने उप्रेतीले सुनाए ।

उनले थपे, ‘समयसँगै युवाहरुले सिकेको सीप आदानप्रदान गर्नु आवश्यक हुन्छ, त्यसकारण युवाहरुलाई देशभित्रै रोक्छु भनेर रोक्न सकिँदैन, विदेसिनुपर्ने बाध्यताको भने अन्त्य गर्नु सरकारको धर्म हो ।’

वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेती

ईपीएसमा कोरियन सरकारले प्रत्येक वर्ष आफ्ना उत्पादन, निर्माण, कृषि र पशु प्रजनन, सेवा र मत्स्यपालनका लागि कामदारहरुको कोटा जारी गर्दै आएको छ ।

कोरियामा राम्रो कमाइ त हुन्छ नै । नेपाल फर्किँदा केही सीप पनि सिक्न पाइने भएकाले कोरिया जान चाहनेको सङ्ख्या बढिरहेको विज्ञहरुको विश्लेषण छ । यसका साथै ईपीएस कार्यक्रम ‘जीटुजी’ अर्थात् सरकारसँग सरकारको सम्झौता हुने हुँदा यसमा ठगिने वा रोजगारीको ग्यारेन्टी हुने भएकाले यसमा आकर्षण बढेको जानकारहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?