नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण चैत १ देखि ५ गतेसम्म काठमाडौँमा हुँदैछ । महोत्सवमा ४० देशका ८८ वटा फिल्महरु प्रदर्शन हुनेछन् ।
क्यूएफएक्स चेन अन्तर्गतका सिभिल, लबिम, भक्तपुर र छाया सेन्टरमा रहेका मल्टिप्लेक्समा हलहरुमा दर्शकले फिल्म हेर्न सक्नेछन् । महोत्सवमा फिल्म प्रदर्शनसँगै फिल्मकै सन्दर्भमा रहेर छलफल, अन्तरक्रिया र कार्यशाला समेत हुनेछ ।
निफको सातौं संस्करणसम्म आइपुग्दा महोत्सवले मारेको फड्को, नेपाली सिने क्षेत्रमा पारेको प्रभाव, यसले गरेको सङ्घर्ष र चुनौतीकाबारे आयोजक ‘नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान’का अध्यक्ष केपी पाठकसँग जोय नेपालका लागि सुशीला तामाङले गरेको कुराकानीको सम्पादित अंश:
सातौं संस्करणसम्म आइपुग्दा निफको कार्यढाँचामा कतिको फेरबदल भएको छ ?
पहिला चाहिँ हामीले यसलाई प्रदेश स्तरीय गर्ने सोचेका थियौं । सबै फिल्म फेस्टिभलहरु काठमाडौं केन्द्रित छन् । हरेक वर्ष फरक–फरक प्रदेशमा गर्ने भनेर पहिलो फेस्टिभल नै पोखराबाट शुरु गरेका थियौं । त्यसरी गर्दा मानिसमा सकारात्मक सोच पनि आएन र हामीलाई पनि काम गर्न गाह्रो भयो ।
स्थानीय व्यक्तिहरूको सोचाइ चाहिँ यिनीहरु यहाँ फाइदा कमाउन आएको भन्ने हुने रहेछ । त्यसकारण स्वागत र सहभागी हुने वातावरण नबन्ने रहेछ । स्थानीय कमिटीहरु नबन्दा हामीलाई पनि काठमाडौंदेखि गएर काम गर्न धेरै गाह्रो भयो । प्रदेश–प्रदेश घुम्दा लोयल अडियन्स नबन्ने रहेछ ।
लोयल अडियन्स पनि चाहिँदो रहेछ भन्ने सोचेर दोस्रो वर्षदेखि हामीले आफ्नै कर्मथलो काठमाडौंमै शुरु गर्यौँ । मेन स्ट्रिमलाई जोड्नुपर्छ भन्ने हाम्रो उद्देश्य थियो । हामीलाई मुख्य कुरा भनेको नेपाली सिनेमामा परिवर्तन ल्याउनु थियो । त्यसका लागि मेन स्ट्रिमका सिनेमालाई पनि सँगै लिएर गएमा सम्भव हुने थियो ।
त्यसकारण हामीले अरु सिनेमा र मेन स्ट्रिमका सिनेमालाई सँगै ल्याएर पुलका रुपमा काम गरिरहेका छौँ । यसको प्रभाव पनि दखिएको छ । संरचनामा खासै परिवर्तन गरिएको छैन ।
फेस्टिभलको मुख्य उद्देश्य के हो ?
खासमा ठूलो संरचना र योजनामा जाने हाम्रो मुख्य उद्देश्य हो । यसमा स्पोन्सर (विज्ञापनदाता) पाउन गाह्रो छ । अहिले बजेटले गर्दा आकार खुम्चिदै गएको छ । संसारभरीकै राम्रा फिल्म नेपाली अडियन्सले हेर्नुपर्छ । नेपाली फिल्म मेकर र अन्तर्राष्ट्रिय फिल्म मेकरको राम्रो सम्बन्ध भयो भने मिलेर सहकार्य गर्न सकिन्छ ।
यसले गर्दा सिक्ने र सिकाउने वातावरण बन्छ । दर्शकहरुलाई सिनेमा हेर्ने संस्कृति बढाउन सक्यो भने नेपाली सिनेमाले दर्शक पाउँछ । यही उद्देश्यमा हामी यथावत छौं र त्यही अनुसार अगाडि बढिरहेका छौं ।
शुरुवातको वर्षको चुनौती र संघर्षलाई कसरी स्मरण गर्नुहुन्छ ?
त्यतिखेर सानो भोलुममा गरेकोले आर्थिक रुपमा त्यति गाह्रो भएन । त्यही २०/२५ वटा फिल्म समावेश थिए । तीन दिनको फेस्टिभलमा विदेशीहरु पनि खासै आउने कुरा भएन । १५/२० लाखमै रुपैयाँमै फेस्टिभल सकिएको थियो । समय र फेस्टिभल व्यवस्थापन बाहेक त्यतिबेला आर्थिक समस्या थिएन ।
अहिलेको मुख्य चुनौती के हो ?
मुख्य भनेको अहिले आर्थिक नै हो । दोस्रोदेखि हामीले अन्तर्राष्ट्रिय फिल्म लिन शुरु गर्यौँ । धेरै फिल्महरु आउन थालेपछि धेरै हेर्नुपर्ने भयो । धेरै फिल्म मेकरहरु आउन थालेपछि यसको क्यानभास बढ्यो । दोस्रोमा पहिलोको भन्दा दोब्बर भयो र तेस्रोमा तेब्बर नै भयो । हाम्रा सम्बन्धहरु बढे ।
अन्तर्राष्ट्रिय फिल्म सोसाइटीसँग हामी मेम्बर भयौं । भोलुम र सहभागी संख्या समेत बढ्दै गयो । जति–जति पछि गयो, त्यति नै हामीलाई आर्थिक रुपमा गाह्रो हुँदै गएको छ । कोभिडको बेलामा चौथो संस्करण अनलाइन गर्दा चाहीँ खासै पैसा चाहिएन र हामीलाई त्यति गाह्रो भएन ।
फेरि पाँचौमा दुःख भयो । छैठौँमा झन दुःख भयो भने सातौंमा झनै गाह्रो भयो । आर्थिक रुपमा गाह्रो भएपछि पैसा तिरेर काम गर्ने मान्छे राख्न सकिँदैन । मान्छे नभएपछि आफै खट्नुपर्यो । हरेक वर्ष फेस्टिभल शुन्यबाट नै शुरु गर्नुपर्छ । स्पोन्सर यो छ भनेर अर्काे वर्षका लागि भनेर निश्चित हुँदैन ।
निफलाई भनेर सरकार तथा गैरसरकारी तहबाट वार्षिक अनुदान छुट्याइएको छैन । हामीले कुनै पनि कर्पाेरेट हाउससँग तीन/चार वर्षलाई एग्रिमेन्ट गर्ने वातावरण अझै बनेको छैन । यसले गर्दा यो वर्ष कसलाई भन्ने र कहाँबाट रकम जुटाउने भन्ने सधैं हुन्छ ।
फेस्टिभलमा समावेश गरिएका फिल्महरुमा कसरी विविधता र समावेशीको तालमेल मिलाइरहनुभएको छ ?
हामीले विषयवस्तुमा कुनै दायरा राखेका छैनौं । क्रियटिभ पक्षबाट हामीले कुनै पनि देश र समुदायमा आक्षेप नलाग्ने, विपक्षमा नबोलेका, कुनै पनि देशको सार्वभौमसत्तामा ठाडो प्रश्न नगरेको भयो भने हाम्रो सेलेक्सन टिमले सेलेक्ट गर्छ । हामी क्रियटिभली संसारका सबै जनराका फिल्महरु लिन्छौं । हामीले थिम नै कथाहरु तथा कथ्यहरुको उत्सवका रुपमा मानेका छौं ।
फेस्टिभलको अनुमानित बजेट कति छ ?
हाम्रो अनुमानित बजेट प्लान ‘ए’, ‘बी’ र ‘सी’ अनुसार हुन्छ । ‘ए’ प्लान अनुसार एक करोड बजेट हो । ‘बी’ बाट हामी ‘सी’मा झरेका छौं । ‘सी’ प्लान अनुसार पाट्नरसिप बाहेक ५० लाख रुपैयाँ क्रस बजेट चाहिन्छ । हाम्रो अहिले ७०/८० वटा देशमा सञ्जाल बनेको छ । हामीलाई फिल्मको दुःख छैन ।
मुख्य चुनौती भनेकै आर्थिक रुपमा हो । पैसा भयो भने हामी जनशक्तिहरु राखेर व्यवस्थित र उत्कृष्ट हिसाबले व्यवस्थापन गर्न सक्छौं । बजेटकै कारण हामीले फिल्म मार्केट बनाउन सकिरहेका छैनौं । जबसम्म फिल्म मार्केट हुँदैन तबसम्म फिल्म फेस्टिभलहरुको उचाइ बढ्न गाह्रै हुन्छ ।
फेस्टिभलमा सिनेकर्मीहरुको कतिको साथ छ ?
सिनेकर्मीहरुको व्यक्तिगत साथले गर्दा नै फेस्टिभल यहाँसम्म आएको छ । कार्यक्रममा नै सहकार्य गर्न सबैलाई आर्थिक रुपमै गाह्रो छ । तर व्यतिगत रुपमा फेस्टिभलमा सहभागी भएर सहयोग गर्नुभएकै छ । चिनजानकै आधारमा पनि सजिलो भएको छ ।
फेस्टिभलले गर्दा नेपाली सिने उद्योगमा परिवर्तन आएको होला नि, यसलाई कसरी हेर्नुभएको छ ?
आफ्नो कुरा हामी आफैंले भन्ने कुरा त होइन । यसमा बाहिरबाट नै मूल्यांकन हुनुपर्छ । फेस्टिभलमा ५०/६० जना बाहिरका फिल्म मेकरसँग छलफल गर्ने वातावरण बनेको छ । यसले गर्दा देश र नेपाली सिनेमाको पनि प्रचारप्रसार भएको छ । हाम्रा फिल्म मेकरहरुले पनि चिनजानीबाट सहकार्यको वातावरण बनाउनुभएको होला ।
यसबाट केही सिक्नुभएकै होला भन्ने लाग्छ । फेस्टिभलकै कारण बजारको सिनेमाको सिनारियो पनि परिवर्तन भएकै देखिन्छ । यसमा पनि कहीँ न कहीँ भूमिका रह्यो होला । फेस्टिभलमा हेरिएकै फिल्मबाट पनि नेपाली फिल्म मेकरहरुले केही उत्पेरणा लिनुभएर केही सिक्नुभएकै होला । खासमा हाम्रो यही नै भन्ने मापन चाहीँ छैन । हामी हाम्रो कर्म गरिरहेका छौं । मूल्यांकन गर्ने तपाईहरु जस्तो दर्शक र बाहिरबाट नै हो ।
फेस्टिभल शुरु गर्दा राख्नुभएको उद्देश्यमा त तपाईँहरु पुग्नुभयो होला नि ?
सिनेमा संस्कृतिका विकास नै हाम्रो लागि उद्देश्य हो । आर्थिक रुपमा हामी प्रत्येक पल्ट झण्डै–झण्डै घाटामा नै हुन्छौं । हामी सिनेमा उद्योगको मोटिभेसन फ्याक्टरले नै काम गरिहेका छौं ।
यसमार्फत् नयाँ पुस्ताका फिल्म मेकरहरु आइरहनु भएको छ र उहाँहरु अन्तर्राष्ट्रिय बजारमा पनि पुरस्कृत भइरहनुभएको छ । हाम्रो सम्बन्धहरु फराकिलो भएको छ ।
निफको तर्फबाट सम्पूर्ण सिनेकर्मी तथा सिनेप्रेमीहरुलाई तपाईको सन्देश के छ ?
४० देशका ८८ वटा फिल्म एक ठाउँमा बसेर हेर्न सकिन्छ । फिल्मको माध्यमबाट ४० देशमा घुम्ने अवसर पाउनुहुन्छ । यो फिल्म फेस्टिभल हामी सबैको हो । यसमा सहभागी हुने अवसर नगुमाउनुहोला ।
संसारको फिल्मलाई बुझ्ने र फिल्म मेकरहरुसँग छलफल तथा अन्तरक्रिया गर्न नेपालका मेकरहरुलाई पनि आग्रह छ । यसबाट सहकार्य र सम्भावनाको खोजी गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया