काठमाडौँ– पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री वर्षा राउत फिल्म ‘महाजात्रा’ मार्फत दर्शकमाझ आउँदै छिन् । यो फिल्ममा उनले सम्पदाको भूमिका निर्वाह गरेकी छिन् ।
उनले अभिनय गरेका फिल्म ‘नाईं नभन्नु ल ४’, ‘छक्का पञ्जा’ र ‘जात्रा’ ले राम्रो व्यापार गरे । एकपछि अर्को फिल्म बक्सअफिसमा हिट भएपछि म्युजिक भिडियोमा समेत उनलाई अफर आइरहेको छ ।
चैत्र ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’ मा उनको शीर्ष भूमिका छ । उनले फिल्ममा फडिन्द्र (विपिन कार्की) की श्रीमतीको भूमिकालाई पर्दामा उतारेकी छिन् । उनले शुरुमा आफूलाई यो फिल्ममा काम गर्न त्यति सहज नभए पनि पछि रमाइलो लागेको बताइन् ।
‘शुरुमा यो टिमसँग कसरी काम गर्ने होला भन्ने थियो तर पछि वर्कशप गर्न थालेपछि रमाइलो लाग्न थाल्यो,’ वर्षाले अगाडि थपिन्, ‘पछि त हामी फिल्मी परिवारजस्तै भएका थियौँ ।’
वर्षाले तेस्रो सिक्वेलमा आइपुग्दा उनी छोराकी आमाको भूमिका निभाएकी छिन् । उनले कलाकारले जुनसुकै भूमिका निभाउनुपर्ने भएकाले यो फिल्ममा आमाको भूमिका निभाउदा पनि सहज लागेको बताइन् ।
‘म हिरोइन मै सिमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न् की भन्ने नै लागेन,’ उनले भनिन् ।
साथै उनले आफूलाई व्यावसायिक फिल्ममा मात्र नभएर पृथक फिल्ममा देखिन समेत मन लागेको बताइन् । उनले भनिन्, ‘व्यावसायिक फिल्म त धेरै खेलेँ तर मलाई आर्ट फिल्ममा पनि काम गर्न मन लागेको छ, जुन फिल्ममा समाजले देखिरहने तर महसूस गर्न नसकेको कथालाई पर्दामार्फत दर्शकमाझ पुर्याउन सकियोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया