काठमाडौँ– लोकप्रिय लोक तथा दोहोरी गायिका टीका सानु कलाकार बन्ने सपना बोकेर काठमाडौँ आउँदा उनलाई सहयोग गर्ने कोही थिएनन् । आफैँले शब्द सिर्जना गरेर आफ्नै स्वरमा गीत गाउँछु भन्ने सपना बुनेर पहिलोपटक काठमाडौँ टेक्दा उनलाई साथ र हौसला दिनेभन्दा होच्याउनेहरू धेरै थिए ।
सङ्घर्षका शुरुवाती दिनमा उनले धेरैपटक सुन्नुपरेको छ– छ्या कस्ता कस्ता मान्छे आउँछन् स्टुडियोमा । यस्तो आवाजले पनि गायिका बन्ने अरे !
अहिले समयको पर्दाले ढाकिइसकेका ती क्षणहरू स्मरण गर्दा उनलाई कता कता नरमाइलो लाग्छ । नयाँ कलाकारले भोग्नुपरेको पीडालाई उनी आफैले भोगेकाले पनि हुनुपर्छ, आफू स्थापित भएपछि उनले अरु कलाकारलाई गर्ने व्यवहारमा कत्ति पनि रवाफ भेटिँदैन ।
अहिले स्टेजमा जब टीका सानुको आवाज गुन्जन्छ, तब दर्शकले पररर ताली पिट्छन् । सुरिलो आवाज, मौलिकता मिसिएको उनको आवाजलाई दर्शकले मन पराएका छन् ।
सङ्घर्षको त्यो अत्यासलाग्दो बेला
लोक तथा दोहोरी क्षेत्रमा नाम कमाउने सपना बोकेर टीका वि.सं. २०६९ सालमा पहिलोपटक काठमाडौँ प्रवेश गरेकी थिइन् । जतिबेला उनी आफ्नो सिर्जनामा स्वर भर्न काठमाडौँ छिरेकी थिइन्, त्यतिबेला अरूले विश्वास नगरे पनि उनले आफैलाई भने पूर्ण विश्वास गरेकी थिइन् । त्यसैले त उनको अनुशासन, मेहेनत र लगनशीतलाले अब्बल गायिकाका रुपमा स्थापित गरायो ।
टीकाको सिर्जनाजस्तै साधारण जीवनशैली र स्वभाव नै दर्शकका लागि प्रिय छन् । उनी प्राय: कुर्ता सुरुवाल र सारीमै सजिएकी हुन्छिन् । सुरुवाती दिनबाट आजसम्मै पनि न उनको व्यवहार बद्लिएको छ, न पहिरन नै । उनलाई यसैमा गर्व लाग्छ ।
‘मलाई कुर्ता सरुवालले नै सुहाँउछ, सहज पनि यसैमा लाग्छ,’ उनी भन्छिन्, ‘मैले कुर्ता सुरुवाल, सारी लगाएर गाउँदा दर्शकले माया दिइरहनुभएकै छ, किन तडकभडक गनुपर्यो र !’
दोहोरी गीत प्रतियोगिताले मोडिएको टीकाको यात्रा
खासमा टीका समाजसेवी बन्न चाहन्थिन् । सारीमा चट्ट परेर झोला बोकी गाउँ–गाउँमा मानिसहरुको समस्या बुझ्दै र त्ससको समाधान गर्छु भन्ने उनको प्रण थियो । जब उनी तीन कक्षामा पढ्दै थिइन्, त्यसबखत विद्यालयमा दोहोरी गीत प्रतियोगिता आयोजना गरिएको थियो । त्यतिबेलासम्म उनको संगीतमा खासै रुचि थिएन । प्रतियोगितामा भाग लिने निर्णयसँगै उनी यतातिर मोडिइन् ।
दाङको तुल्सीपुरमा चार जना दिदीबहिनीमध्ये माइली छोरीका रुपमा जन्मिएकी टीकाको परिवार नै सांगीतिक माहोलमा रमाउने खालका छन् । उनका बुवा पनि दोहोरी गाउन निकै अब्बल छन् भने उनकी बहिनी हुमा पनि दोहोरी गायिका नै हुन् । उनकी आमा, जेठी दिदी र कान्छी बहिनी सबैजना गीतमा पोख्त छन् ।
‘हाम्रो परिवारमा बुबा पनि दोहोरी गाउन निकै माहिर हुनुहुन्छ, उहाँले पनि निकै मीठो गीत गाउनुहुन्छ,’ टीका भन्छिन् ।
संगीतमा रमाउन चाहने परिवारका लागि त्यसैमा रुमलिने परिपस्थिति थिएन । घरको आर्थिक अवस्थाकै कारण उनकी आमा वैदेशिक रोजगारीमा थिइन् । उनका बुवा राम्ररी कान सुन्दैनथे ।
‘घरमा समस्या भएकै कारण मैले कक्षा ६ मा पढ्दासम्म अरुको घरमा बसेर काम गरेँ । समाजमा निकै तिरस्कृत भएर मेरो बाल्यकाल बित्यो’, उनले आफ्नो बाल्यकाल स्मरण गरिन् ।
उनका अनुसार कक्षा आठमा पढ्दा नै उनले एफएम र गाउँकै स्थानीय स्थानीय टेलिभिजनमा कार्यक्रम चलाउने अवसर पाइन् । जातकै कारण उनले समाजमा हेला र निकै अपहेलना सहनुपरेको तीतो यथार्थ पनि टीकाले बेलाबेलामा सम्झिरहन्छिन् ।
संगीतमा टीकाको सङ्घर्ष
‘एउटा चिठ्ठी लेख्न मन लाछ’, ‘जुन मायाले धरधरी रुवायो उइ मायालाई देख्न मन लाछ’ बोलका गीतहरु टीकाका लागि विशेष छन् ।
यही बोलको गीतको भाकामा शब्द सिर्जना गरेर उनले दोहोरी प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । पहिलो प्रयासमा नै तृतीय भएर पुरस्कार जित्न सफल भएपछि उनलाई यो क्षेत्रमा केही गर्ने हुटहुटी जाग्यो ।
यसैबाट उनको लोकसंगीतमा औपचारिक यात्रा तय भयो ।
काठमाडौंमा भने उनी दोहोरी साँझबाट आफ्नो सांगीतिक यात्रा शुरु गरिन् । शुरुवाती चरणमा राम्रो कलाकार बनाइदिन्छु भनेर प्रलोभन देखाउने र नकारात्मक दृष्टिले हेर्ने व्यक्तिहरू पनि उनको सम्पर्कमा नआएका होइनन् । तर पनि उनी अडिग भएर आफ्नै मेहनत र सङ्घर्षले कलाकार बन्छु भन्ने सिद्धान्त बोकेर आफ्नै लयमा अघि बढिरहिन् ।
प्रिज्मा रेकर्डिङ स्टुडियोमा उनको पहिलो रेकर्डिङको त्यो समय अझै पनि उनको स्मरणमा ताजै छ । गाउँबाट सपना बोकेर आएको चङ्गाजस्तो मन रातभरी गाडीको यात्राले थाकेको लखतरान शरीर लिएर उनी गीत रेकर्ड गर्न स्टुडियो पुगेकी थिइन् । थकान र मनमा पलाएको केही भयले उनको स्वर चाहेजति खुलेको थिएन । त्यतिबेला रेकर्डिस्टले उनलाई त्यत्तिकै फर्काइदिए ।
उनले भनिन्, ‘उहाँले मैले गीत गाउन सक्दिनँ भनेर इन्सल्ट (अपमान) गर्नुभयो । त्यसपछि मेरो मनोबल निकै कमजोर भयो । म गाउन नसक्ने रैछु भनेर मन भारी बनाउँदै घर फर्किएँ ।’
त्यसपछि जसले उनलाई गीत गाउन काठमाडौँ ल्याएका थिए, उनै व्यक्ति सम्पर्कविहीन भए । यही घटनासँगै टीका पनि केही समय हराइन् ।
केही समयको अन्तरालमा उनको शब्द सिर्जना रहेको ‘डालीको फुल नफुल्दै ओइलिएर झर्ला’,‘स्वार्थी छ यो दुनियाँ घाती छन् या मनहरु चोखो माया पाउन त अब गाह्रै पर्ला’ बोलका गीतहरु उनको अङ्कल पर्ने खिम विश्वकर्मा र चर्चित लोक गायिका लक्ष्मी न्यौपानेको स्वरमा रेकर्ड भयो ।
यो गीतले राम्रै चर्चा कमायो ।
त्यसपछि ‘हे कति राम्री रैछौ नि सानी, बसमा भेट भो कहाँसम्म हो जानी’ बोलको गीतमा टीकाले भने पहिलोपटक आफ्नो आवाज भरेकी थिइन् । यही गीतमा स्वर दिनका लागि आठ हजार रुपैयाँ रकम बुझाएकी थिइन् ।
दुःखको कुरा, उनले आवाज भरेको उक्त गीत रेकर्डिङ तर सार्वजनिक भएन । अहिले उनलाई लाग्छ, त्यतिबेला आफूमाथि अन्याय भएको रहेछ । किनकि, उनले आफ्नै गीत सिर्जनामा आफैं रकम तिरेकी थिइन् ।
त्यसपछि उनको यात्रा म्युजिक स्टार नेपालमा लाइभ दोहोरीतिर अगाडि बढ्यो । शुरुवाती चरणमा सहायक कलाकारका रुपमा प्रवेश पाएकी उनले त्यहाँ तीन दिनपछि भने मात्र मुख्य कलाकार भएर गाउने अवसर पाइन् । दर्शकले उनको स्वरलाई रुचाएपछि उनको यात्रा कृष्ण कँडेलको लोक दोहोरी कार्यक्रम ईन्द्रेणीमा सम्म पुग्यो । पहिलो दिनमा नै सञ्चालक कडेलसँग गाउने अवसर पाएकी उनले त्यसपश्चात् आफ्नो सांगीतिक यात्रा अझै फराकिलो बनाइन् ।
यस क्रममा उनले दर्जनौं लाइभ दोहोरी गाएकी छिन् । सयौँ गीतहरुमा आवाज भरेकी छिन् । उनी दर्शक/स्रोतामाझ निकै लोकप्रिय छिन् । पछिल्लो समय टेलिसिरियल, लाइभ दोहोरीमा आफूलाई स्थापित गरेकी छिन् ।
अहिले उनलाई आफ्नो विगतको नमीठो भोगाइभन्दा वर्तमानको सफलताप्रति गर्व लाग्छ ।
उनलाई लाग्छ, ‘मौलिक सिर्जनाले पनि एउटा सर्जक आम दर्शक/स्रोताको मनमा बाँच्न सक्छ । यसका लागि आधुनिक रवाफ र जीवनशैली झल्काउनुपर्छ भन्ने छैन ।’
पछिल्लो समयमा प्रस्तुतिका नाममा कलाकारले स्टेजमा देखाएको प्रवृत्ति र व्यवहार उनलाई त्यति सकारात्मक लाग्दैन । त्यही भीडमा अलग देखिएकी टीकाले सिर्जनाबाट नै दर्शकलाई आफ्नो बनाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया