महोत्तरी– मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् ।
गत आइतबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी मन्दिर)बाट थालिएको सो यात्राका सहभागी चौथो दिन महोत्तरी प्रवेश गरेका हुन् । सहभागीलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रवारि नेपाल प्रवेशद्वारमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले स्वागत गरेका थिए ।
गत आइतबार ठेराकचुरीबाट श्रीरामको प्रतिमा राखिएको डोला अघि लगाउँदै यात्रा सुरु भएको थियो । सोही दिन जनकपुर पुगेपछि अग्निकुण्ड मठबाट सीताको प्रतिमा राखिएको डोला मिसिएपछि सीताराम सङ्कीर्तन गाउँदै पहिलो दिन परम्पराअनुसार धनुषाको हनुमानगढीमा सहभागी बास बसेका थिए ।
यसैगरी दोस्रो दिन भारतको कल्याणेश्वर र तेस्रो दिन भारतकै गिरिजास्थान बास बसेका सहभागी आज चौथो दिनको विश्रामका लागि मटिहानी आइपुगेका हुन् । आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन् ।
डोला आगमनसँगै प्रत्येक विश्रामस्थलमा भजन, कीर्तनसहित धार्मिक मेला आयोजना हुँदै आएको परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आइपर्ने अन्य कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध स्थानीय (रात्रिबासको थलो)ले विभिन्न सङ्घसंस्थाको समन्वयमा गर्दै आएका छन् ।
यसैअनुसार आज मटिहानीमा यात्रीको सुविधाका लागि खानेपानी, प्राथमिक उपचार र बाससहितका प्रबन्ध मिलाइएको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । डोला आफ्नो ठाउँ आइपुगेको अवसरमा दर्शन, आराधना र सहभागीको स्वागतका लागि आज मटिहानी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।
यात्राको चौथो दिन मटिहानी आइपुगेका सहभागी अब आठौँ दिनसम्म महोत्तरी रहनेछन् । चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् ।
नेपाल र भारतको गरी जम्मा एक सय ३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । यसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया