मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

‘जात्रा’ मा मलाई खेलाएर फिल्म डुबाउनुहुन्छ भनेर निर्देशकलाई धेरैपटक भनेँः रविन्द्र झा

काठमाडौँ– नेपाली फिल्म उद्योगमा औँलामा गन्न सकिने मात्र मधेशी समुदायका कलाकार छन् । तीमध्ये एक हुन्, रविन्द्र झा ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाजात्रा’ मा मुन्नाको भूमिकामा अभिनय गरेका रविन्द्रलाई धेरैले त्यही नामबाट चिन्छन् । यो फिल्ममा उनले निभाएको भूमिकाको निकै तारिफ हुने गरेको छ ।

यो फिल्ममा मुन्नाको भूमिकामा प्रस्ताव आउँदा उनी रेडियो नाटकमा व्यस्त थिए । फिल्म ‘जात्रा’ निर्माणका क्रममा लेखक तथा निर्देशक प्रदीप भट्टराईले उनलाई फिल्मको शीर्ष भूमिकामा अभिनयका लागि प्रस्ताव गरे ।

तर, उनलाई त्यतिबेला लागेको थियो कि, आफूलाई शीर्ष भूमिकामा अभिनय गराउँदा फिल्म नै फ्लप हुन्छ ।

‘म पनि के हिरो हुन्छु र? मलाई फिल्ममा ल्याएर तपाईँले गल्ती गर्दै हुनुहुन्छ भनेर धेरैपटक निर्देशकलाई भनेको छु,’ उनले जोय नेपालसँगको कुराकानीमा भने, ‘मैले जति भन्दा पनि उहाँहरुले यो भूमिकाका लागि म नै उत्कृष्ट पात्र हो भन्नुभयो ।’

उनले आफूलाई शीर्ष भूमिकाका लागि योग्य पात्र नठान्ने सुनाए । उनले भने, ‘देख्दा यस्तो छु, के म पनि हिरो हुन्छु होला र भनेर मैले त फिल्म डुबाउँदै हुनुहुन्छ है भनिरहेको थिएँ ।’

फिल्म रिलिजपछि भने दर्शकले मुन्नाको चरित्रलाई निकै रुचाए । मधेशी समुदायका दर्शकले पनि मुन्नाकै कारण यो फिल्म हेरे । जसले गर्दा फिल्म निर्माण टिमलाई पनि अझ फाइदा भयो ।

‘दर्शकले दिएको मायाका कारण अहिले भने निर्देशकले ठीकै गर्नुभएको रहेछ जस्तो लाग्छ, दर्शकले मुन्नाको भूमिकालाई पनि निकै रुचाइदिनुभएको छ,’ उनले भने ।

यतिबेला भने यसको तेस्रो सिक्वेल ‘महाजात्रा’ को प्रचारमा रविन्द्र व्यस्त छन् । चैत्र ९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा उनको शीर्ष भूमिका नै रहनेछ । फिल्मको ट्रेलर र फस्ट लूकले चौतर्फी चर्चा कमाएको छ ।

फिल्ममा रविन्द्रका अलावा विपिन कार्की र रविन्द्र सिंह बानियाँको पनि शीर्ष भूमिका छ । यी तीनले फिल्ममा मिल्ने साथीको भूमिका निभाएका छन् भने फिल्ममा अर्का अभिनेता हरिवंश आचार्य पनि जोडिएका छन् ।

यस्तै फिल्ममा राजाराज पौडेल, वर्षा राउत, राजाराम पौडेल, शिशिर वाङ्देल लगायतका कलाकारको भूमिका छ । फिल्मलाई षट्कोण आर्टस्को ब्यानरमा निर्माण गरिएको हो भने फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?