काठमाडौँ– कर्णाली तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा नाचिने हुड्के र छलिया नाचका दृश्य हिजोआज देखिन छोडेका छन् । हरेक चाडपर्व र उत्सवमा देखिने यस्ता नाचहरु अहिले विरलै देखिने स्थानीयहरु सुनाउँछन् ।
डोटेली संस्कृति अनुसार हुड्केली र छलियाबिना अनुयायीका घरमा होस् या समाजमा कुनै शुभकार्य हुँदैन भन्ने प्रचलन रहिआएको छ । अन्नप्रासन, विवाह र अन्य शुभकार्यमा वीर वीरंगनाको गीतिकथा पृथक ढंगले गाउँदै नाच्ने कार्य हुड्केलीमा गरिन्छ ।
यसलाई नाचकै क्रममा खस भाषामा कथा भन्ने उत्कृष्ट शैलीका रुपमा पनि लिइन्छ । उहिले सञ्चारको विकासपूर्व यसका माध्यममा इतिहासको कथा, राजा–महाराजाहरूको विजय गाथा, हर्षबढाइँका कथा गाइने स्थानीयहरु सुनाउँछन् ।
विभिन्न चाडपर्व, जात्रा, मेला–महोत्सवहरुमा बज्ने पञ्चेबाजा तथा नाचिने हुड्के तथा छलिया नाच अहिले पुरानो पुस्ताको स्मृतिमा मात्र सीमित भएको मौलिकबाजा प्रेमीहरुको भनाइ छ ।
बैतडीको गोठालापानी ४ कि विन्नरीदेवी दमाइले पनि पञ्चेबाजासँगै दाहिना दमाहा बजाउने प्रचलन कम हुँदै गएको बताइन् ।
‘पहिले पहिले गाउँमा कसैको बिहे हुँदा, धार्मिक जात्रामा नजिकका सात गाउँ नै सुनिने गरी पञ्चेबाजा तथा दाहिना दमाहा बजाइन्थ्यो,’ उनले भनिन्, आजभोलि यस्ता बाजाहरु बजेको खासै सुन्न पाइएको छैन ।’
शहर तथा ग्रामीण भेगमा अचेल बजारहरुबाट महङ्गो शुल्क तिरेर आधुनिक साउण्ड सिस्टम, ब्याण्डबाजा मगाएर बजाउने प्रचलन बढेको छ । यसले क्षणिक रमाइलो भए पनि पुराना बाजाहरु लोप हुनु राम्रो संकेत नभएको स्थानीय तथा संस्कृतिकर्मीहरुले चिन्ता व्यक्त गरे ।
नयाँ पुस्तामा नै मौलिक लोकबाजा तथा संस्कृतिको लगाव हराउँदै गएको डडेल्धुराको अमरगढी ५ का पदम विष्टले बताए ।
‘नयाँ पुस्ताले चासो नदिएपछि पन्चेबाजा, छलिया तथा हुड्केनाच देखिन सुनिन छाडेको हो । गाउँघरमा युवा छैनन् । विदेश तथा शहरहरुतिर देखेको आधुनिक संस्कृतिमा रमाउँछन्,’ उनले भने ।
पन्चेबाजा र हुड्के जस्ता नाचलाई पुरानो संस्कृति मानेर हेर्ने युवा जमात बढेको पदम जस्ता स्थानीयहरुको मत छ । अर्कातिर व्यावसायिक हुन नसकेपछि पन्चेबाजा बजाउने समुदाय नै अरु पेशा गर्न थालेकाले लोकबाजा लोप हुने अवस्था आएको उनीहरु सुनाउँछन् ।
पहिले दमाहा बजाए धान, गहुँ तथा विभिन्न प्रकारका दालजस्ता खाद्यान्न दिने परम्परा रहेको स्थानीय बुढापाकाहरु बताउँछन् । स्थानीय सरकारले समेत गर्न मौलिक बाजा र संस्कृतिको संरक्षण गर्न नसकेको गुनासो स्थानीयहरु गर्छन् ।
मौलिक संस्कृति विज्ञहरु पनि नेपालको मौलिक लोकसंस्कृति तथा बाजागाजाहरुको संरक्षणका लागि सरकारले नै पहलकदमी लिनुपर्ने धारणा राख्छन् ।
लोकसंस्कृति क्षेत्रमा कार्यरत व्यक्तिहरुको संरक्षण गर्न सके मात्र मौलिक गीतसंगीत तथा बाजागाजाको पनि संरक्षण हुने सांस्कृतिक संस्थानमा कार्यरत वाद्यवादन कलाकार सितामैयाँ राजचलले सुनाइन् ।
उनले भनिन्, ‘कुनै पनि देशको गीत संगीत मौलिक भेषभुषा, संस्कार तथा संस्कृतिसँगै मौलिक बाजागाजाको संरक्षण राज्यले नै गर्नुपर्छ, यो सँगै वाद्यवादकको पनि संरक्षण गरिनुपर्छ ।’
बाजागाजाहरु जातीयतासँग जोडिएर आएकाले जातीय विभेद फाल्ने नाममा बाजागाजा तथा मौलिक संस्कृतिमाथि प्रहार भएको संस्कृतिविद् तथा साहित्य तथा संगीतकर्मी धीरेन्द्र प्रेमर्षिको भनाइ छ ।
‘आधुनिकीकरणको नाममा रैथाने संस्कृति पछाडि पारिएको छ, सजिलोका लागि नयाँ पुस्ताले आयातित संस्कृति अंगालेका छन्, यस्तै प्रविधिसँग जोड्न नसक्नुले पनि हाम्रा मौलिक संस्कृति तथा बाजागाजा अपहेलित भएका हुन्’ उनले जोय नेपालसँगको कुराकानीका क्रममा भने ।
कुनै पनि समुदायको मौलिक संस्कृति तथा भेषभुषा उक्त समुदायको जातीय वैशिष्ठता हो भनेर सरकार, समाज र उक्त समुदायले नै बुझ्न जरुरी रहेको उनको भनाइ छ ।
विकास भनेको बाटोघाटो तथा भौतिक संरचना निर्माण मात्र हो भन्ने मानसिकताका कारणले पनि स्थानीय संस्कृतिसँगै मौलिक बाजागाजाहरुको संरक्षण हुन नसकेको प्रेमर्षिले बताए ।
उनले थपे, ‘संस्कृति भनेको पनि समृद्धिको आधार हो भनेर बुझ्नुपर्छ, देशमा भएको एउटा संस्कृति मन्त्रालयले मात्रै यसको संरक्षण तथा संर्वद्धन गर्न सक्दैन, यसको लागि घरदैलोको सरकारका रुपमा चिनिने स्थानिय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले समेत नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’
मौलिक संस्कृति, गीतसंगीत र बाजागाजाको संरक्षणका लागि स्थापना भएका सांस्कृतिक प्रतिष्ठान एवं संस्थानहरुमा बजेटको व्यवस्था गरिनुपर्ने संरक्षणकर्मी तथा संस्कृतिकर्मीहको एक मत देखिन्छ ।
संगीत तथा मौलिक बाजागाजा संरक्षणमा सहयोग पुर्याए वापत अनुदानसँगै आर्थिक सुरक्षाको ग्यारेन्टी गर्न सके यसको संरक्षण र संर्वद्धनमा सहायता पुग्ने प्रेमर्षिले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया