मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कला

प्रकृति र मानवबीचको सम्बन्ध केलाउने प्रतिस्थापन कला

काठमाडौँ– प्रकृतिको चरम दोहनले पर्यावरणमा प्रभाव परिरहेको छ । वायुमण्डलमा वृद्धि भएको उच्च तापमानले सम्पूर्ण प्राणी जगत नै प्रभावित बनिरहेको समयमा विज्ञहरुले शतर्क रहन चेतावनी दिइरहेका छन् । हिउँ जम्ने हिमालहरु काला पहाडमा रुपान्तरण भएका छन् ।

‘यसमा हामी मध्ये को जिम्मेवारी छौं त?’

कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफैँमाथि प्रश्न गरे ।

हामी समग्र मानवहरुले नै प्रकृतिलाई विनाशको बाटोमा डोर्‍याइरहेका छौँ भन्ने सवाल उनले पत्ता लगाएपछि उनले कला मार्फत् नै सचेतना बाँड्ने जमर्को गरेका छन् ।

हाल नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा प्रकृति र यसको महत्वलाई दर्शाउने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘प्र–कृति प्रतिस्थापन कला प्रदर्शनी २०८०’ शीर्षकमा प्रतिस्थापन कला प्रदर्शनी जारी छ ।

जारी प्रतिस्थापन कला प्रदर्शनीमा उपकुलपति लामाले काला पत्थरबाट झरेका हिउँका थोपाहरुलाई कलाको फर्ममा प्रस्तुत गरेका छन् । कलामा कालो र खैरो रङको त्रिकोणात्मक शैलीमा हिमाललाई देखाइएको छ भने प्लास्टिकका मसिना धागोहरुमा सेता माटोका टुक्राहरु झुन्ड्याइएका छन् । लामाका अनुसार कालो र खैरो रङको त्रिकोणहरु प्रतिकात्मक रुपमा काला पथरहरु हुन् ।

यसले जलवायु परिवर्तनकै कारण हिमालहरुमा हिउँ पग्लिएपछि हिमालहरु काला पथरमा परिवर्तन भएको प्रतिनिधित्व गर्ने उनले बताए ।

उनका अनुसार कला अवलोकन गर्न आउनेहरुले समेत सेता माटाका डल्लाहरुलाई डोरीमा झुन्ड्याउन सकिन्छ । प्रकृति विनाशमा हामी सबै जिम्मेवार छौं भन्ने यसले बताउने उनले सुनाए ।

‘तापमानका कारण पर्यावरणमा धेरै असर पुगेको छ’, उनले भने,‘यसमा हामी सबै पक्ष जिम्मेवार छौं । अब हामी सचेत रहनुपर्छ भन्ने मेरो कलाको सन्देश हो ।’

प्रकृति विनाश र पर्यावरणमा परिरहेको प्रभावकै विषयमा सन् २०१२ देखि त्रिकोणको शैलीमा काम गरिरहेको लामाले बताए । 

प्रदर्शनीमा प्रकृति र मानवबीच चलिरहेको द्वन्द्व, यी दुईबीचको सम्बन्धलाई दर्शाउने खालका आधा दर्जनभन्दा बढी प्रतिस्थापन कलाकृतिहरु प्रदर्शनरत छन् ।

कलाकार मनिषलाल श्रेष्ठले सेता रङका कपडाहरुहरुलाई कलाको फर्ममा ढालेका छन् । पहिरनकै कारण छायामा परेको मानवीय व्यक्तित्वलाई उनले कलामार्फत् उजागर गर्ने प्रयत्न गरेका छन् ।

उनका अनुसार कुनै पनि मानिसका पहिरन उसका लागि दोस्रो छाला हो । बाहिर आवरण हेरेर कुनै पनि व्यक्तिको व्यक्तित्वलाई निर्णय गर्ने परिपाटीलाई श्रेष्ठले कलामार्फत् व्यङ्ग्य गरेका छन् । उनको कलाका अर्को ध्येय भनेको आत्मा र शारीरिक अस्तित्वबीचको सम्बन्धलाई खोतल्नु पनि हो ।

मानव समाजले मानिसको भित्री बुद्धि, विचार वा आन्तरिक पक्षलाई नहेरी बाहिरी संसारलाई नै नियाल्ने गर्छन् । यसले बाहिरी र आन्तरिक पक्षको सन्तुलनमा नै चुनौती दिइरहेको श्रेष्ठको बुझाइ छ ।

सेता कपडालाई उनले भित्री अनुशासन र प्रतीकका रुपमा उभ्याएका छन् ।

प्रतिष्ठानकी प्राज्ञ तथा कलाकार सौरगंगा दर्शनधारीले काठको मुढालाई कलाको रुपमा प्रस्तुत गरेकी छिन् ।

भुइँमा सामान्य रुपमा लडिरहेको मुढामा उनले गहन अर्थ खोजेकी छिन् । उनका अनुसार काठको मुढा केवल एउटा मुढा मात्र नभएर मानिसको जन्म मृत्युसम्म जोडिएको छ ।

मानिस जन्मिँदा जसरी मुढाले जीवनका लागि ताप दिन्छ, त्यसरी नै मरणमा पनि मानिसका लागि मुढाले नै ताप दिएर उसँगै विलीन भएर जान्छ ।

‘मेरो जीवनसंगी प्रकृति र रुख हो । मैले एउटा रुखको सम्बन्धलाई म जन्मेदेखि मेरो मृत्युसम्म हुन्छ भनेर प्रतिस्थापन कलामा देखाएको छु,’ उनले भनिन् ।

कलाकार सागर मानन्धरले भने तेल उत्पादन गर्ने चक्रलाई जीवन संघर्षका रुपमा तुलना गरेर कलाको रुप दिएका छन् । कलाकार विनय रिमालले प्रतिष्ठानकै परिसरमा रहेको एउटा रुखमा खाली गुँडहरु बनाएका छन् ।

कतै झुन्डिरहेका त कतै रुखमा अड्काइएका चराका गुँडहरु हेर्दा निकै रोचक र नौलो देखिन्छ । बढ्दो वायुप्रदुषण, तापमान, प्रकृति विनाशले लोप भएका चराहरुलाई संरक्षण गर्नेतर्फ उनले कलाबाट नै आग्रह गरेका छन् ।

प्रतिस्थापन कलामा कलाकारहरुले आफ्नो धारणा बनाएर कुनै पनि वस्तुमा त्यसलाई प्रतिस्थापन गर्न सक्छन् । त्यही कलाको फर्ममा कलाकारको धारणा देखिन्छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिस्थापन कला भनेकै बहुमाध्यमको प्रयोगबाट विभिन्न भावलाई प्रस्तुत गर्ने कला भएको सुनाए ।

प्राकृतिक वस्तुको प्रयोगबाट प्रकृतिसँगको सम्बन्धलाई अत्यन्त सुन्दर ढङ्गले कलाकारले प्रस्तुत गरेको उनको भनाइ छ ।

उनले भने, ‘कुनै पनि वस्तु स्वयंले बोकेको भावलाई कलाकारले फरक बनाउन सक्छ, फरक फरक वस्तुलाई विविध भावमा प्रस्तुत गर्न सक्ने खुबी कलाकारमा हुन्छ ।’ सामाजिक उत्पीडनलाई कलामार्फत समसामयिक विषयवस्तुमा समेत उठान गर्नुपर्ने उनले बताए ।

सुशीला सिंह, मीना कायस्थ, सुशान्त श्री राजभण्डारी लगायतका कलाकारहरुका कलाकृतिहरु रहेको कला प्रदर्शनी चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?