मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

अल्जाइमर कस्तो रोग हो ? किन हुन्छ?

यी उमेर समूहका व्यक्तिलाई हुन्छ अल्जाइमर

सामान्यतया अल्जाइमर रोग भन्नासाथ हामी बिर्सने रोग भनेर बुझ्ने गर्छौँ । सामान्य भाषामा व्यक्तिको स्मरण शक्ति कमजोर हुँदै जाने अवस्था नै अल्जाइमर हो ।

अल्जाइमरले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरुलाई विश्वास गर्न नसक्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने अवस्थामा पुर्‍याउने विज्ञहरु बताउँछन् । मानिसको उमेर बढ्दै जाँदा यो रोग अझ झाँगिदै जाने विभिन्न अध्ययनले देखाएको छ ।

विश्वमा चार करोडभन्दा बढी व्यक्तिमा अल्जाइमर अथवा बिर्सने रोग लागेको तथ्याङ्क छ । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउने चिकित्सकहरू बताउँछन् ।

अल्जाइमर कस्तो रोग हो ? यसका लक्षणहरु के–कस्ता हुन्छन् ? यसको नियन्त्रण र निर्मूल गर्न कस्तो उपचार विधि अपनाउन सकिन्छ?  भन्ने विषय वरिपरि रहेर बाँसबारी न्यूरो अस्पतालमा कार्यरत वरिष्ठ न्यूरोलोजिष्ट डा. एन्जिल महर्जनसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

अल्जाइमर कस्तो रोग हो ?

सामान्य भाषामा भन्दा दिमागको नशा सुक्दै जाने रोग नै अलजाइमर हो । अल्जाइमर एक प्रकारको बिर्सने वा भुल्ने रोग हो । जुन दिमागसँग सम्बन्धित हुन्छ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको व्यवहारलाई असर पार्ने गर्छ ।

यसका लक्षणहरु के कस्ता हुन्छन् ?

यस रोग तीन चरणमा हुन्छ । सुरुवाती चरण, मध्यम अवस्था र जटिल अवस्था । पहिलो चरणमा व्यवहार तथा व्यक्तित्वमा परिवर्तन हुने, सामान हराउने, पैसा सम्बन्धी कारोबारमा कठिनाइ हुने, दैनिक गतिविधिमा समस्या हुने जस्ता लक्षणहरु देखा पर्छन् । दोस्रो मध्यम अवस्थाका मानिसलाई बोली नियन्त्रण गर्न, तर्क गर्न तथा सोच्ने जस्ता दिमागले काम गर्ने कुरामा समस्या हुने गर्छ । जस्तै अस्वाभाविक व्यवहार देखाउने, नयाँ परिस्थितिको सामना गर्न नसक्ने, कुरा भुल्ने, बिर्सने, भ्रममा रहने, नजिकको व्यक्ति चिन्न गाह्रो पर्ने लगायतका दोहोरो काम गर्न समस्या हुने गर्दछ । अन्तिम अवस्था भनेको कडा प्रकारको अल्जाइमर भएका व्यक्तिलाई अरुसँग कुराकानी गर्न समस्या हुन्छ । साथै उनीहरुको शरीर पूर्ण रुपले अरुमा निर्भर हुनुपर्ने बाध्यता रहन्छ । जस्तै धेरै निद्रा लाग्नु, छालाको संक्रमण, तौल घट्नु, कुरा गर्नमा कठिनाइ हुनु, गरेको काममा चित्त नबुझाउनु आदि ।

यो रोग लाग्नुको मुख्य कारण के हो ?

यो रोगको मुख्य कारण उमेर नै हो । उमेर बढ्दै गएपछि लाग्ने एक किसिमको जटिल मानसिक रोग हो यो । ६५ वर्षको उमेरभन्दा माथिको जनसङ्ख्यामा पाँच प्रतिशतलाई यो रोग लाग्ने सम्भावना हुन्छ । ८५ वर्ष उमेर कटिसकेको अवस्थामा २० देखि ४० प्रतिशतलाई यो रोग लाग्ने सम्भावना हुन्छ । उमेर बढ्दै गएपछि केही व्यक्तिको मस्तिष्कमा नचाहिने प्रोटिनको मात्रा बढ्दै जान्छ । जसले गर्दा मस्तिष्कमा पोका जम्न थाल्छ । बिस्तारै यसले दिमागमा असर गर्दै जान्छ र पछि दिमाग खुम्चिएर सानो हुन्छ ।

यो रोग लागेकै कारण कस्तासम्म जटिलता निम्तिन सक्छन् ?

यो रोग लाग्ने बित्तिकै तुरुन्तै मृत्यु हुने भन्ने होइन । तर, मान्छेले बिस्तारै बिर्सिँदै जाने भएका कारण स–साना गल्तीहरू हुने हुँदा यस्तो व्यक्तिले गाडी चलाएको छ भने गाडी दुर्घटना हुने सम्भावना हुन्छ र खाना बनाउँदा आगलागी हुने सम्भावना हुनसक्छ ।

सामान्यतया शुरुको अवस्थामा केही असर देखिँदैन तर रोग लागेर चार/पाँच वर्ष हुँदै बिस्तारै रोग बढ्दै गएपछि मान्छे हिँड्न नसक्ने, सुत्न नसक्ने र खानपिन गर्न नसक्ने र खाँदाखाँदै सर्केर निमोनिया भएर ज्यान जाने अवस्थामा पुग्न सक्छ ।

के अल्जाइमर मानसिक रोग हो ?

यो मानसिक रोगभन्दा पनि टाउको र नशा सम्बन्धी रोग हो । मानसिक रोग भनिनुको कारण भनेको यस्तो रोग लागेको व्यक्तिले असामान्य गतिविधिहरु देखाउन थाल्छ । साथै काम कुराहरु उल्टापुल्टा गर्ने, नदेखेका कुराहरु पनि देखे जस्तो गर्ने, अरुलाई दोष लगाउने जस्ता मानसिक लक्षणहरु पनि आउँछन् । मानसिक रोग विशेषज्ञहरुले पनि यो रोगलाई हेर्नुहुन्छ । वास्तवमा यो रोग लाग्दा दिमागले गर्नु पर्ने कामहरु पनि कम हुँदै जान्छन् र सँगसँगै मानसिक समस्याहरु पनि थपिँदै जान्छन् । तर अल्जाइमरजस्तो एन्जाइटी र डिप्रेशन जस्तो मानसिक रोग भने होइन ।

नेपालको परिवेशमा अल्जाइमरका बिरामीको ग्राफ कस्तो छ ?

यो रोग वृद्ध उमेर सत्तरी वर्षको हारहारीमा लाग्ने रोग हो । हाम्रो देशको परिवेशमा कुरा गर्नु पर्दा औसत आयु नै योभन्दा कम हुने कारण यसका बिरामीहरुको सङ्ख्या औँलामा गन्न सकिने सङ्ख्यामा मात्रै छन् । हाम्रै बाँसबारी न्यूरो अस्पतालको कुरा गर्नुपर्दा पनि महिनामा तीन/चार जनाको सङ्ख्यामा आउनुहुन्छ ।

अल्जाइमर नियन्त्रण र निर्मूल गर्न के–कस्तो उपचार विधि अपनाउन सकिन्छ ?

अल्जाइमर यही कारण हुने हो भनेर एकिन तथ्य त अहिलेसम्म पत्ता लागेको छैन । तर सानैदेखि अलि बौद्धिक, पढाइ लेखाइ राम्रो भएको, तौल सन्तुलित भएको स्वस्थ व्यक्ति, अलिक सक्रिय, अनि दिमाख लगाएर खेलिने खेल खेल्ने मानिसमा यो रोग लाग्ने सम्भावना कम हुन्छ । तर सुगर, प्रेसरका बिरामीहरु, तनावपूर्ण जीवन बिताउने, मोटोपन भएका, मुटुको अपरेशन भएको, टाउकोमा चोट लागेका व्यक्तिहरुमा भने अल्जाइमर हुने सम्भावना बढी नै हुन्छ ।

महिला र पुरुषको हकमा यो रोग कसलाई बढी लाग्ने गर्छ ?

महिला र पुरुष दुवै समान रुपमा यो रोग देखा पर्दछ ।

विशेषतः कुन उमेर समूहका व्यक्तिहरुलाई यो रोग लाग्ने गर्छ ?

यो रोग ७०/८० वर्षका उमेर पार भइसकेपछि लाग्ने रोग हो । केही केशहरु भने अपवादमा ५०/६० वर्षका व्यक्तिहरुमा पनि देखा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?