मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

आठ महिनामै जन्मिएका बच्चाहरुको स्याहार कसरी गर्ने?

मानव जीवनमा सामान्यतया गर्भ रहेको नौ महिनामा बच्चा जन्मने गर्दछ । तर कहिलेकाहीँ अपवादका रुपमा ६ देखि ८ महिनामै बच्चा जन्मने गरेको पाइन्छ । नौ महिना अगावै जन्मिएको बच्चा पूर्ण रुपमा तन्दुरुस्त हुँदैन र दीर्घरोगी समेत हुन्छन् भन्ने बुझाइ छ ।

यो बुझाइमा कतिको सत्यता छ? के कारणले गर्दा बच्चा नौ महिना अगावै जन्मने गर्छन्? यस्ता बच्चाको स्याहार कसरी गर्ने? समयअगावै जन्मिएका बच्चाको मृत्युदर कस्तो छ र भविष्यमा यस्ता बच्चाको स्वास्थ्यमा समस्यामा हुने खतरा कत्तिको हुन्छ? लगायतका विषयमा स्त्रीरोग विशेषज्ञ डा. श्री प्रसाद अधिकारीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीको सम्पादित अंश:

आठ महिनामै बच्चा जन्मने कारण के हो ?

डब्लुएचओका अनुसार बाइस हप्ता भन्दा माथिको बच्चालाई मात्र हामी जीवित बच्चा मान्छौं । यो भन्दा तलकोलाई एभोर्सन मानिन्छ । यसरी नै बाइस हप्तादेखि छत्तीस हप्तासम्मको समयलाई प्रि–टर्म भनिन्छ । सैँतीस हप्ताबाट माथि ४० हप्तासम्मको अवस्थालाई टर्म प्रेग्नेन्सी भनिन्छ ।

बच्चाहरु सात–आठ महिनामै के कारणले गर्दा जन्मिन्छन् भन्ने तथ्य र कारण मध्ये पचास प्रतिशत कारण पत्ता लागेको छैन । बाँकी पचास प्रतिशत कारणहरु मध्य एक वंशाणुगत कारण हो । जस्तैः तपाई सात महिनामा जन्मिनुभएको छ भने तपाईँको सन्तान पनि सोही समयमा जन्मने सम्भावना बढी हुन्छ ।

अर्को महिलाको पाठेघरमा इन्फेक्सन भयो भने पाठेघर दुईवटा भएको अवस्थामा र पाठेघरमा ट्युमर भयो पनि समय अगावै पेट दुखेर नौ महिनाअघि नै बच्चा जन्मन सक्छ । अनि मुटुको रोगी, थाइराइड जस्ता पुराना रोग भएका बिरामी महिलाहरुको सन्तान समय अगावै जन्मने सम्भावना हुन्छ ।

उमेर नपुगी जन्मिएका बच्चाको स्याहार कसरी गर्ने ?

उमेर नपुगी जन्मिएका अर्थात् चौँतीस हप्ता सेरोफेरोमा जन्मिएका दुई के.जी. तौल नपुगेका बच्चाहरुलाई पहिलो कुरा त शिशु सघन उपचार कक्ष (एनआसीयु) मा राखेर उपचार गर्नुपर्छ । बच्चाले अरु सामान्य बच्चाहरु जसरी आफैंले आमाको दूध खान सक्ने अवस्थामा नपुग्दासम्म स्पोन फिडिङ गराउनुपर्ने हुनसक्छ ।

उनीहरुको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । तातो कपडा लगाइदिने, (कङ्गारु केयर) अर्थात् शिशुलाई आमाको छातीमा टाँसेर राख्नुपर्छ । यस्ता बच्चाहरुमा क्यालसियमको र इलेक्ट्रोलाइटको कमी हुने भएकाले विशेष ध्यान दिन आवश्यक छ ।

एनआईसीयू भनेको कस्तो कक्ष हो ?

जब बच्चा नौ महिना नपुग्दै जन्मिएको हुन्छ, त्यस्तो अवस्थामा बच्चालाई आमाको पेटभित्रको जस्तै वातावरण र तापक्रममा राख्नुपर्ने हुन्छ । आमाको गर्भमा हुँदाको जस्तै तापक्रम मिलाएर शिशु हुर्काउने कक्षलाई एनआइसियु भनिन्छ ।

आठ महिनामै र उमेर पुगेर जन्मिएको बच्चामा के–कस्ता भिन्नता देखिन्छन् ?

बाइस हप्ता कटिसकेका बच्चाहरुको सबै अङ्गको विकास भइसकेको हुन्छ । तर कम समयमै जन्मिएका केही बच्चाहरुमा भने सेरेब्रल पाल्सि नामक नशा सम्बन्धि रोग लाग्न सक्छ । जसकारण ती बच्चाहरु असामान्य तरिकाले हिँड्ने, अरु बच्चा सरह स्मार्ट नहुने, स्मरण शक्ति पनि कम हुने, अलि सुस्त हुने समस्याहरु देखा पर्दछन् ।

छिट्टै जन्मिएको बच्चाहरुको मृत्युदर कस्तो हुन्छ ?

बत्तीस हप्ता कटेर जन्मिएका बच्चाहरुको मृत्युदर कम छ । किनकि हाम्रो जस्तो देशमा सबै प्रसूति गृहहरुमा एनआईसीयू छैन । यसकारण बच्चाले राम्रोसँग खान नसकेर, उचित वातावरण नपाएर, चिसो भएर र आमाले पनि राम्ररी स्याहार गर्न नसक्ने अवस्थाका कारण बत्तीस हप्ता पनि नपुग्दै जन्मिएको बच्चाहरुको मृत्युदर बढी छ ।

भविष्यमा यस्ता बच्चाको स्वास्थ्यमा समस्यामा हुने खतरा कत्तिको रहन्छ ?

यस्तो बच्चालाई राम्रो हेरचाह भयो भने अरु समस्या देखिँदैन । अपवादमा केहीलाई नशासम्बन्धी रोग लाग्न सक्छ । हरेक जिल्ला, वडा–वडामा (एनआईसीयू) शिशु सघन उपचार कक्ष भयो भने बच्चा नर्मल रुपमा अरु बच्चा सरह नै हुर्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?