मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सहकारी र सहकार्यबाट सबल बन्दै महिला

गलेश्वर – म्याग्दीका ग्रामीण भेगका महिला सहकारी र सहकार्यको माध्यमबाट सबल तथा सक्षम बन्दै गएका छन् । सहकारी संस्थामा आवद्ध भएपछि महिलाले बचत गर्ने बानीको विकास मात्र गरेका छैनन् उनीहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुँदै गएको छ ।

म्याग्दीको सदरमुकाम बेनीस्थित दोभान कृषि सहकारी संस्थामा आवद्ध बेनी नगरपालिका–५ पुलाचौरकी सरिता किसान, मञ्जु पौडेल, शारदा विक लगायतले सहकारीमा बचत गर्ने र सहकारीबाटै ऋण लिएर कृषि उद्यम गरी आत्मनिर्भर बन्न सफल भएका छन्।

त्यसैगरी बेनी–२ खबराको राधाकृष्ण सहकारी संस्थाको सहयोगमा त्यस क्षेत्रका महिला तरकारी र फलफूलखेती, पशुपालन लगायतका उद्यमशील काममा आवद्ध भएर आर्थिक रुपमा स्वावलम्बी बन्दै गएका स्थानीय पार्वती कार्कीले बताइन् । घरायसी काममा सीमित रहने यहाँका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्संस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय छन् ।

गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला परिवारको खर्च आफैँ जुटाउन सफल भएका छन् । बेनी–१० की अंशु रोकाले सहकारीमार्फत ऋण काढेर सुरु गरेको तरकारीखेतीबाट आफू आर्थिक रुपमा बलियो बन्दै गएको अनुभव सुनाइन् ।
दुई रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरेकी उहाँले परम्परागत रुपमा गर्दै आएको खेतीलाई व्यावसायिक बनाउँदै गोलभेडा, आलु, काउली, बन्दा, खुर्सानी, काँक्रोलगायत तरकारीखेती विस्तार गर्नुभएको छ । यसबाट मनग्य आम्दानी गर्न सफल भएको उनको भनाइ छ ।

रोकाले भनिन्– “आठ वर्ष अगाडि सहकारीबाट रु १० हजार ऋण लगेर व्यावसायिक खेती सुरु गरेँ । दोस्रो वर्ष तरकारी बेचेर ऋण तिरेँ । अहिले तरकारी बिक्रीबाट भएको आम्दानी सहकारीमा बचत गर्न थालेकी छु ।”

विसं २०६९ मा पात्लेखेतमा सिद्ध महिला बचत तथा ऋण सहकारी स्थापना भएपछि रोकामात्रै होइन, घरायसी काममा मात्रै सीमित यहाँका धेरै महिला अहिले आत्मनिर्भर बनेका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरि गाउँपालिका तथा उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका महिला पनि सहकारी संस्थामार्फत सक्षम बन्दै गएका छन् । महिलालाई आर्थिकरुपमा सम्पन्न तथा सामाजिकरुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम बनेको छ ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाको क्षमता अभिवृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताइन्। महिलालाई सङ्गठित गरी क्षमता विकाससँगै आयआर्जन गर्न, बचत गर्न तथा सामाजिक रुपमा सक्षम बनाउन सहकारी प्रभावकारी र भरपर्दो माध्यम भएको उनको भनाइ छ ।

जिल्लामा एक सयभन्दा बढी सहकारी संस्थाले महिलालाई आर्थिक रुपमा बलियो बनाउनुका साथै उनीहरुको क्षमता विकास, नेतृत्वदायी भूमिका र व्यक्तित्व विकासका लागि समेत भूमिका खेलेको जिल्ला सहकारी सङ्घका पूर्वअध्यक्ष दीपक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?