मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इलामको रमणीय पाखामा गुञ्जिँदै नेपथ्य

काठमाडौँ– सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको रमणीय मैदानमा आउँदो साता नेपच्थको भाका गुञ्जिने भएको छ ।

चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी इलामको सुर्याेदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित जनाउने भएको छ । खासमा लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ ।

जतिबेला नेपालमा काठमाडौं उपत्यका बाहिर विरलै वृहत साहित्यिक कार्यक्रम हुन्थ्यो, त्यतिबेला (२००९ साल) कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायतका साहित्यकारहरु भेलाभएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ ।

नेपथ्यले त्यस भेगकै अर्काे ऐतिहासिक महत्व राख्ने करफोक विद्यामन्दिरको परिसरमा प्रस्तुति गर्न लागेको हो । कुनै समय आयामेली लेखक इन्द्रबहादुर राइ अनि मुलुककै मूर्धन्य कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंहजस्ता हस्तीहरु प्रधानाध्यापक र अर्का समालोचक तारानाथ शर्मा शिक्षक रहेको यो विद्यालयको शिलान्याश २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए ।

‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफुलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो’, नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले भने, ‘यसपटक इलामका साथीहरुले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ ।’

नेपथ्यले मुलुकका स–साना गाउँबस्ती हुँदै विश्वका ठूला सहरहरुसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ । नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्याण्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरुमा ८० भन्दा बढी साँगीतिक प्रस्तुति दिइसकेको छ ।

नेपथ्यले केही महिनाअघि मात्र जापान र क्यानाडाका श्रृंखलावद्ध भ्रमण सम्पन्न गरेको छ । इलामको कार्यक्रमपछि केही समयमै युरोपको अर्काे श्रृंखलावद्ध कन्सर्ट आयोजनामा जाने नेपथ्यको योजना छ ।

‘केही वर्षअघि मात्र करफोक छेवैको सानो सहर फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना मेरोनिम्ति अझै ताजा छ,’ अमृत भन्छन्, ‘त्यहाँ पुरानो सिनेमाहलमा कन्सर्ट चलिरहँदा एउटा बच्चा बोकेर नृत्य गरिरहेकी आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना अहिले सम्झँदा पनि मीठो लाग्छ ।’

शनिबारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुनलागेको हो । इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ । सभाकक्ष, पुजा हल, भण्डार र पाहुना कोठासहित तीनतले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भइ सञ्चालनमा आउने लक्ष्य राखिएको छ ।

‘यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति केही कोषको व्यवस्था गर्नेछ,’ गुम्बाका निर्माण समिति अध्यक्ष हरि गुरुङले भने, ‘अर्काेतर्फ संगीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’ कन्सर्टको आयोजना भने ‘इलाम गुरुङ समाज’ले गर्न लागेको हो ।

कन्सर्टका हकमा विदेशका ठूला सहरहरुमा आयोजना हुने गुणस्तरलाई नेपालका साना गाउँबस्तीसम्म पनि एकरुपता दिन आफूहरु सदैव क्रियाशील रहेको र करफोकमा पनि दर्शकले यसलाई महशुस गर्न सक्ने नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका अर्पण शर्माले बताए ।

‘पूर्वाञ्चलका विभिन्न शहरहरुमा टिकटको खुला बिक्रीवितरण शुरु भइसकेको छ,’ उनले भने, ‘त्यसबाहेक नेपथ्य कै वेबसाइट मार्फत् अनलाइनबाटै पनि टिकट किन्न सकिने प्रबन्ध मिलाइएको छ ।’

कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?