यदि तपाईँको परिवारमा हुनुभएका ज्येष्ठ नागरिकमा केही समय अघि भनेको कुरा एक छिनमा बिर्सने र एउटै कुरा बारम्बार सोधिरहने बानी छ भने, यो बानी होइन ,रोग हो ।
पोषणको अभाव र अस्वस्थकर जीवनशैलीका कारण वृद्धावस्थामा पुगेपछि धेरैमा बिर्सने समस्या हुन्छ । जसलाई अल्जाइमर भनिन्छ ।
अल्जाइमरको विषयमा जानकारी नहुँदा धेरै ज्येष्ठ नागरिकहरूले उपचार नै नपाइ अनाहकमा ज्यान गुमाइरहेका छन् । अल्जाइमर भएका ज्येष्ठ नागरिकलाई बुढेसकालमा हुने सामान्य समस्या सोचेर उनका परिवारले स्वास्थ्यमा ध्यान नदिँदा अल्जाइमर भएका वृद्धवृद्धाहरु झनै कमजोर बन्छन् ।
पाटन अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलका अनुसार अल्जाइमरका बिरामीमा तीन चरणको लक्षण देखिन्छ ।
पहिलो चरणका लक्षणहरू यी हुन्
–खाना खाएको बिर्सने ।
–एउटै कुरा दोहोर्याइ रहने ।
–जटिल शब्दहरू सम्झन नसक्ने ।
–एकोहोरो हुने ।
–अरूसँग घुलमिल हुन नचाहने ।
दोस्रो चरणको लक्षण
–आफू हिँडेको बाटो बिर्सने ।
–नियमित भेट हुने आफन्त र परिवारका सदस्य नचिन्ने
–अनावश्यक शङ्का गर्ने बानी हुनु ।
–आफ्नै अनुहार ऐनामा हेर्दा आफैलाई नचिन्ने ।
–केही समय अघि सिकेका वा जानेका कुराहरू बिर्सने ।
–निन्द्रामा समस्या हुने, निन्द्रामै हिँड्ने ।
–राम्रो, नराम्रो र खतराका वस्तु पहिचान गर्न नसक्ने ।
–अस्पष्ट वाक्य बोल्ने, बेसुराका कुरा गर्ने ।
–रिस, चिन्ता, शङ्का बढी गर्ने ।
अन्तिम चरणका लक्षण
–पहिलो र दोस्रो चरणको समस्याहरू बढ्दै जाने ।
–आपत्तिजनक काम र व्यवहार गर्ने ।
–अश्लील शब्दहरू बोल्ने ।
–कुरा नबुझ्ने संवेदना गुमाउने ।
–वजन कम हुँदै जाने ।
–परिवार, आफन्त र साथीहरूलाई नचिन्ने ।
–दैनिक क्रियाकलाप गर्न नसक्ने ।
–खानेकुरा चपाउन र निल्न नसक्ने ।
–ओछ्यानमा थला पर्ने ।
–दिसा पिसाबको नियन्त्रण गर्न नसक्ने ।
–मानसिक सन्तुलन घुमाउने ।
यस्ता समस्या देखिएमा बुढेसकालको सामान्य समस्या भनेर बस्नु हुँदैन । अल्जाइमर भएका बिरामीले आफन्तको केयर र औषधि उपचार पाएमा १० देखि १५ वर्ष सम्म बढी समय बाँच्न सक्छन् । त्यसैले अल्झाइमर भएका ज्येष्ठ नागरिकलाई विशेषज्ञ केयर गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया