मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

ढोरपाटन– बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे । उनीहरूले निरन्तर ढाका बुन्न थाले तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निराश बनेका छन् ।

उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न उनीहरू कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्छन् । लाखौँको लगानीका सामग्री गोदाममै थन्किएका उनीहरूको गुनासो छ । तमान गाउँको कल्याण आमासमूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध छन् ।

विसं २०७५ मा सङ्गम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उनीहरूले उद्योग सञ्चालन गरेका हुन् । प्रारम्भमा रु ४५ हजार लगानीमा सुरु गरिएको उद्योगबाट अहिले करिब रु सात लाखको सामग्री तयार भएका छन् । आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताइन् ।

उद्योगबाट ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उनको भनाइ छ । विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचेअनुसारको नहुँदा समस्या भएको घर्तीले बताइन् । बिहान बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको भन्दै उत्पादनले बजार नपाउँदा दुःख लाग्ने घर्ती बताउँछिन् ।

उद्योगमा एक जनाले महिनाको ३५/४० हजारको सामग्री तयार गर्ने गरेको सुनाउँदै बिक्री नहुँदा एक हजार पनि कमाउन मुस्किलपर्ने उनले गुनासो गरिन् ।

“फुर्सदको समयमा काम गर्छौं राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौँ, तर समय निकालेर काम गर्दा पनि धेरै कपडाहरु बनाएका छौँ, एक जनाले हजारौँको काम गर्छौं, तर बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ”, उनले भनिन्, “सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरु आएर सामान लैजानु हुन्छ, टाढाबाट भने आउनुहुन्न, बजार पाउन गाह्रो भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?