काठमाडौँ– आगामी चैत्र ९ गतेदेखि प्रदर्शनमा आउन लागेको प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ यतिबेला चर्चामा छ । निर्माण टिमले पनि फिल्मको प्रचारमा आफ्नो समय खर्चेको छ ।
नेपालमा फिल्म निर्माण गरेर फगतको प्रचारबाजी गर्ने चलनका बीच दर्शक भने ‘महाजात्रा’ हेर्नलायक फिल्म बनेको छ कि भन्नेमा विश्वस्त छन् ।
नेपाली फिल्म हलमा रिलिज भए पनि दर्शकको साथ पाउन धौ धौ परिरहेका बेला यो फिल्म प्रदर्शनमा आउँदैछ । यसअघि रिलिज भइसकेका यसका सिक्वेल ‘जात्रा’ र ‘जात्रै जात्रा’ ले राम्रो व्यापार गरेकाले पनि यो फिल्मले छुट्टै हाइप निर्माण गरेको छ ।
अर्कातिर फिल्ममा हरिवंश आचार्य पनि जोडिएका छन् । यी अभिनेताले हालै मात्र अर्को फिल्म ‘भूठान’ मा समेत अभिनय गरेका छन् । उक्त फिल्म सेटबाट बाहिरिएका तस्वीरले हरिवंशको व्यापक चर्चा भएको थियो ।
‘महाजात्रा’ मा हरिवंश आचार्य नकारात्मक भूमिकामा रहेको निर्माण टिमले जनाएको छ । फिल्ममा हरिवंशका अलाबा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारको समेत शीर्ष भूमिका छ ।
फिल्मका निर्देशक प्रदीप भट्टराईले यसअघि पनि एकपछि अर्को सुपरहिट फिल्म दिएका कारण पनि ‘महाजात्रा’ लाई लिएर दर्शकको उच्च अपेक्षा छ । दर्शकको अपेक्षालाई ‘महाजात्रा’ ले पूरा गर्छ कि गर्दैन त्यो भने हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया