काठमाडौँ– फागुन महिनामा मात्र नवलपरासीमा २ ओटा बाघ मृत अवस्थामा भेटिए । फागुन १२ गते नवलपरासीको मध्यबिन्दु नगरपालिकाको नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मारेर पुरेको अवस्थामा फेला परेको थियो ।
यसअघि फागुन ४ गते मध्यविन्दु नगरपालिकाकै अरुणखोला जङ्गलमा भाले बाघ नै मृत अवस्थामा भेटिएको थियो ।
अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नेपालले बाघ संरक्षणमा सफलता हात पार्दै गर्दा पछिल्लो समय बढिरहेको वन्यजन्तु मृत्युका घटना ठूलो समस्याका रुपमा देखिएकोप्रति संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।
एकातिर बाघका कारण स्थानीयले समस्या भोगेको गुनासो गर्दै आएका छन् भने अर्कातिर बाघको संरक्षणमा पनि उस्तै चुनौतीहरु देखा परेका छन् ।
वन्यजन्तुविद् एवं संरक्षणकर्मी प्रा.डा. मुकेश चालिसेले नेपालले बाघ संरक्षणमा सफलता हासिल गरिरहँदा यसले निम्त्याउने सम्भावित चुनौतीलाई ध्यानमा राख्दै तिनको प्रभावकारी व्यवस्थापन तत्काल गर्नुपर्ने देखिएको बताए ।
‘बाघको सङख्या मात्रै बढाएर हुँदैन,’ जोय नेपालसँगको कुराकानीमा उनले भने, ‘बाघको निश्चित क्षेत्र हुन्छ, त्यो क्षेत्रमा अर्को बाघ सितिमिति प्रवेश गर्दैन, अहिले बाघको प्राकृतिक वृद्धिका लागि चितवनमा ठाउँ सानो भइसकेको छ ।’
उनका अनुसार उनीहरुको बासस्थान, आहारा, प्रजाति, खेल्ने तथा कुद्ने ठाउँको पनि उचित व्यवस्था भए मात्र बाघको प्रभावकारी प्राकृतिक संरक्षण हुन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले पछिल्लो २ वर्ष तथ्याङ्कलाई हेर्दा आार्थिक वर्ष २०७८/०७९ मा ४ सय ५८ वन्यजन्तुको मृत्यु भएको छ । जसमा ११ ओटा बाघ छन् ।
यी ११ वटै बाघको मृत्यु भने प्राकृतिक कारण (उमेर पुगेर, बिरामी भएर तथा बाढी–पहिरोमा परेर) भएको हो ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार भने जम्मा ५ सय ५८ ओटा वन्यजन्तुको मृत्यु भएको छ । उक्त तथ्याङ्क अनुसार गत वर्ष मात्रै चितवन राष्ट्रिय निकुञ्जमा ३, बर्दिया राष्ट्रिय निकुञ्जमा ३, बाँके राष्ट्रिय निकुञ्जमा १, पर्सा राष्ट्रिय निकुञ्जमा ३ तथा बारा राष्ट्रिय निकुञ्जमा १ वटा गरी जम्मा ११ वटा वाघको मृत्यु भएको देखाइएको छ ।
जसअन्तर्गत १० ओटा बाघ प्राकृतिक कारणले मरेका हुन् भने एउटाको कारण नखुलेको तथ्याङ्कले देखाउँछ ।
यस आर्थिक वर्षको अहिलेसम्मको वन्यजन्तु मृत्युको यकिन तथ्याङ्क भने विभागसँग छैन ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट श्याम कुमार साहले वार्षिक रुपमा मात्रै तथ्याङ्क सार्वजनिक गर्ने भएकाले अहिले नै विभागमा एकिन तथ्याङ्क नरहेको बताए ।
सन् २०१० मा रुसमा भएको विश्व बाघ सम्मेलनले घोषणा गरे बमोजिम २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने लक्ष्यमा सफलता प्राप्त गरेको छ । गत वर्ष सार्वजनिक गरिएको राष्ट्रिय बाघ गणनाअनुसार चितवनमा सबैभन्दा धेरै १ सय २८ वटा, बर्दियामा १ सय २५, पर्सामा ४१, शुक्लाफाँटमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन् । नेपालले प्राप्त गरेको यो सफलतामा बाघ मृत्युदर चुनौतीकै रुपमा देखिएको विज्ञहरुको भनाइ छ ।
दुई साताभन्दा कम समयमै २ वटा वयस्क बाघ मृत भेटिनु ठूला जीवजन्तु संरक्षणमा नेपालले प्राप्त गरेको सफलता नै चुनौती बनेको वन्यजन्तुविद् चालिसेले बताए । यसमा शतर्क रहन बाघ संरक्षण क्षेत्रका विज्ञहरुले चेतावनी दिन थालेका छन् ।
मुख्यतः बासस्थानको विनाश, चोरी शिकार तथा अवैध व्यापार, बाघ र बाघ–बाघ बीचको आपसी भिडन्त, उनीहरुको आहारा, प्रजातिको व्यवस्थापन हुन नसक्दा बाघहरुको मृत्यु भइरहेको संरक्षणकर्मीहरुको भनाइ छ ।
१२ हाते बाघ (टाउकोदेखि पुच्छरसम्म नाप्दा १२ हात लामो भएको बाघ) को उदाहरण दिँदै चालिसेले भने, ‘पहिले पहिले हामी बाह्रहाते बाघ भन्थ्यौँ अहिले त्यस्ता बाघ विरलै भेटिन्छन्, यो सबै सङ्ख्या मात्रै बढाउन खोजेकाले भएको हो, अब बाघको प्राकृतिक गुणस्तरसहित प्रजननयोग्य र बाघहरु उत्पादनमा ध्यान दिनुपर्छ ।’
बाघको वृद्धिदर विश्लेषण गर्दा आगामी दिनमा सीमित बासस्थानले यसको सङ्ख्या धान्न सक्छ कि सक्दैन भन्ने चिन्ता समेत थपिएको चालिसेले बताए । नेपालमा संरक्षित क्षेत्र सीमित छन् र बाघको आहारा घट्दो छ ।
बासस्थान खप्टिँदा बाघहरूबीच भयङ्कर प्रतिस्पर्धा भइरहेको छ । जसका कारण बाघहरु एक आपसमा लडेर समेत मरिरहेका छन् । यसलाई चिन्ताको विषयकै रुपमा लिनुपर्ने उनको मत छ ।
उनले अगाडि थपे, ‘बाघको सङ्ख्या बढाऔँ भनेर मात्र हुँदैन, बाघको प्राकृतिक स्वास्थ्य र अवस्थामै संरक्षण र व्यवस्थापन पनि हुनुपर्छ, पहिला तराईमा चारकोशे झाडी थियो, पुर्व–पश्चिमसम्मै जङ्गल थियो, अहिले विकाशका नाममा तिनको खण्डीकरण भएको छ, यसले बाघको बासस्थानमा प्रभाव पारेको छ ।’
अर्का वन्यजन्तुविज्ञ प्राध्यापक करण बहादुर शाह भने समस्या तथा चुनौतीहरु सबै क्षेत्रमा हुने भएकोले यसलाई ठूलो विषय नबनाई सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने धारणा राख्छन् ।
चेतनामूलक कार्यक्रममार्फत स्थानीय समुदायलाई बाघ संरक्षण सम्बन्धी र सचेतना जगाउने काम गर्नुपर्ने उनको बुझाइ छ ।
उनले भने, ‘मेरो विचारमा यो विकराल समस्या होइन, सबैले आ–आफ्नो ठाउँबाट मिलेर समाधानको बाटो खोज्नपर्छ ।’
इकोसिस्टममा सुधार, पर्याप्त आहारको व्यवस्था, जनताको जीवनस्तरमा सुधार र कानूनको प्रभावकारी कार्यान्वयनले बाघ संरक्षणमा टेवा पुग्ने उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया