मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय दूतावासले गर्‍यो गायिका मेनुका पौडेललाई सम्मान

काठमाडौँ– काठमाडौंस्थित भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गायिका मेनुका पौडेललाई सम्मान गरेको छ । माइती नेपालसँगको सहकार्यमा बुधवार दूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले पौडेलसँगै ८१ वर्षीया रत्नकुमारी सुनुवारलाई पनि सम्मान गरेका हुन् ।

गायिका मेनुका पौडेलले हालै भारतको एक टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल’ मा सहभागिता जनाएर लोकप्रियता कमाएकी थिइन् । यसअघि उनले नेपालमा समेत रियालिटी शोहरूमा भाग लिएर आफ्नो खुबी प्रस्तुत गरिसकेकी छिन् ।

त्यस्तै सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने पार्दै चर्चा समेत कमाएकी थिइन् । उक्त कार्यक्रममा नेकपा एमाले अष्टलक्ष्मी शाक्य पनि सहभागी थिइन् ।

कार्यक्रममा नियोग उप–प्रमुख श्रीवास्तवले माइती नेपालले नेपाली महिलाको हित र समृद्घिका लागि गरेको अथक प्रयासको प्रशंसा गरे । श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै उनले यस क्षेत्रमा पुर्‍याएको योगदानलाई भारत सरकारले पनि कदर गरेको बताए ।

नेतृ शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्त्व उल्लेख गर्दै नेपालमा महिला सशक्तीकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको औँल्याइन् । कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रमबारे जानकारी गराइन् ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले समेत सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै गायिका मेनुका पौडेलले गीत प्रस्तुत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?