काठमाडौं- मिथिला माध्यमिकी परिक्रमा यही फागुन २७ गतेदेखि सुरु हुँदैछ । धनुषाको कौचरीबाट १५ दिवसीय ऐतिहासिक धार्मिक महत्व बोकेको परिक्रमा सुरु हुँदैछ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालुले १५ ठाउँमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदल यात्रा गर्छन् । माध्यमिकी परिक्रममा स्वरुप अनौठो खालको छ ।
बिनानिम्तो लाखौँ भक्तजन परिक्रमावासी पुगेको स्थानमा पुग्छन् । जहाँ ठूलो मेला लाग्छ । नेपाल र भारतको उक्त दूरी नाङ्गो खुट्टाबाटै भ्रमण गरिन्छ । त्यहाँ १५ देव तथा तीर्थस्थलमा तीर्थालु पुग्छन् । प्रत्येक रात त्यहीँ बास बस्छन् । मिथिला माध्यमिकी परिक्रमा १८औँ शताब्दीबाट चल्दै आएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए ।
सोही यात्राका लागि फागुन २७ गते धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालु प्रस्थान हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताए । माध्यमिकी परिक्रमा भक्तजन दिल खोलेर रमाउँछन् । ढोलक, झायल, कर्ताल, हारमुनियमको तालमा कृतनमण्डली नाच्छन् ।
भक्तजनले ‘जय सियाराम, जय सीयाराम…’ भन्दै भगवानको महिमा गान गाउँछन् । धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट रामजानकी डोला (प्रतिमा) को अगुवाइमा निस्केको यो धार्मिक यात्रा ठेरा, जमुनिया, बेंगाशिवपुर हुँदै जनकपुरको रत्नसागर मन्दिर पुग्छ ।
त्यहाँ खाना खाएर परिक्रमाका सहभागी जानकी मन्दिरको दर्शन गर्दै राति जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरस्थित हनुमानगढीमा विश्राम गर्छन् । सूर्योदयलगत्तै उनीहरु भारतको कलानेश्वरका लागि बाटो तताउँछन् । त्यहाँबाट विधिवत् परिक्रमा थालिएको मानिन्छ । यात्रा गरेको चौथौँ दिन प्रवित्र भूमि मटिहानी आइपुग्छ ।
कोसी, गण्डक, गङ्गा, हिमालय मिथिला क्षेत्रभित्र पर्दछ । यो बृहत् परिक्रमाभित्र पर्छ । राजा जनकको राजधानी जनकपुरधामलाई परिक्रमा गर्नु भनेको माध्यमिकी परिक्रमा हो । करिब पौने दुई सय वर्ष पहिले सीयालाल प्रभंस नाम गरेका सन्तले १०–१२ जना साधु मिलेर परिक्रमाको सुरु गरेका थिए ।
त्यसपछि मिथिला विहारी रामको डोला सुरु भएको बताइन्छ । त्यसपछि किशोरी जीको पनि डोला सुरु भएको भनाइ छ । परिक्रमाले दुवै देशको संस्कृतिलाई जोड्ने काम गर्दछ । यसले मानवलाई धर्मका माध्यमबाट नैतिकवान् र आशावादी बनाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया