मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नाटक समीक्षा

नाटक ‘अन्धवेग’मा जयवीरको दु:खान्त

काठमाडौँ– विवाह गर्ने टुङ्गो भइसकेको जयवीरको शरीरमा भाउजू पम्फाको आँखा परेपछि उनको मन भाँडिन्छ । खासमा भाउजूमाथि कूदृष्टिले हेर्नु पाप मान्ने जयवीरको मन भाँडिएपछि उनको विवाह रोकिन्छ ।

दिनप्रतिदिन भाउजूसँग नजिकिएका उनले पम्फाले जस्तै कामवासनामा पारिवारिक प्रतिष्ठा, सामाजिक संस्कार र मर्यादालाई भुल्छन् । त्यसपछि देवर जयवीर र भाउजू पम्फाको दुखान्त कथा नाटकमा लेखिएको छ । यही दुखान्तलाई यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा देखाइएको छ ।

मानवमा उत्पन्न अन्ध कामवासनाको नकारात्मक प्रतिफल कस्तो हुन्छ भनेर नाट्य सम्राट बालकृष्ण समले वि.सं.१९९६ मा नाटक ‘अन्धवेग’ लेखेका थिए । समको चर्चित नाटक ‘मुटुको व्यथा’पछि रचना गरिएको यस नाटकलाई फागुन १८ गतेदेखि मण्डला थिएटरमा मञ्चन शुरु गरिएको हो । नाटकको परिकल्पना तथा निर्देशन रंगकर्मी प्रवीण खतिवडाले गरेका छन् ।

समले नाटक विधामा कलम मात्र चलाएनन्, उनले नाट्य क्षेत्रलाई नै एउटा आधार दिएर गए । सुखान्त र दु:खान्त दुवै धारका नाटकमा कलम चलाएका उनका नाटकहरु गद्य तथा पद्य दुवै विधामा लेखिएका छन् । गद्य तथा पद्य दुवै भाषा समेटिएको ‘अन्धवेग’मा विशेषत काव्यात्मक भाषालाई बढी जोड दिइएको छ ।

गरुडध्वज र पम्फाको परिवारमा फुपू र उनको छोरा जयवीरको आगमन नाटकको शुरुवाती दृश्यमा देखिन्छ । देवरलाई देख्ने बित्तिकै पम्फामा कामुक चेतना पलाउँछ । त्यही चेतनाले उनले आफ्नो सन्तान, परिवार र सामाजिक मर्यादालाई बेवास्ता गर्छिन् । भाउजूलाई कुदृष्टि राख्नु हुँदैन भन्ने चेत राखेका जयवीरमा पनि कामवासनाको चेतना आएको नाटकमा देखिन्छ ।

भाउजूप्रति आकर्षित भएका उनले आफ्नो विवाह नै तोड्छन् । दुवैबीचको सम्बन्धलाई लिएर बाहिरसम्म कुरा पुग्छ ।

गरुडध्वजले यसलाई रोक्ने प्रयास नगरेपछि सम्बन्ध अझै अगाडि बढ्छ । एकादशीमा भगवानको दर्शनकै निहुँमा दुवैलाई पशुपति जान समेत गरुडध्वजले अनुमति दिन्छन् । बीच बाटोबाटै दुवै पशुपति नगई वैकुण्ठको कोठामा पुग्छन् । त्यही गरुडध्वज पुगेपछि जयवीरमाथि दु:खान्त घटना हुन्छ ।

झण्डै साढे आठ दशकअघि आफ्नो सिर्जनामा समावेश गरेको जयवीर र फम्फा जस्ता पात्रहरु उनको कल्पनामै सीमित थिए या तीनताकाको समाजको चित्रण थियो भन्ने विषयमा बहस थाती छन् । यद्यपि त्यतिबेलाको समयमा यौन मनोवैज्ञानिक दृष्टिकोणले महिला र पुरुषबीचको सम्बन्धलाई नाटकमार्फत् ल्याउनु सानो कुरा थिएन । जहाँ पात्रहरुमा मनोवैज्ञानिक र सामाजिक दुवै द्वन्द्व देखाइएका छन् ।

आन्तरिक र बाह्य दुवै रुपमा द्वन्द्वात्मक परिस्थितिमा गरुडध्वज, पम्फा र जयवीरपात्रहरु छन् । नाटकमा एकातिर पम्फा र गरुडध्वजबीच अप्रत्यक्ष द्वन्द्व रहेको नाटक हेर्दै गर्दा भान हुन्छ । पम्फाले श्रीमानबाट चाहेको यौन तृप्ति नपाएको र उनको यौन वासनालाई गरुडध्जवले बेवास्ता गरेको पाटो नाटकमा देख्न सकिन्छ । अर्काेतिर गरुडध्वज, जयवीर र पम्फाबीच पनि पारिवारिक, समाज र कामवासनाका निम्ति द्वन्द्व झल्कन्छ ।

पात्र पम्फामार्फत् कुनै पनि बन्धनभित्र यौन आंकाक्षा बस्न नसक्ने तथ्यलाई नाटकले प्रस्तुत गरेको छ । यौन चाहनामा अचेतन मनको हाबी भएपछि समाज, नैतिकता, संस्कार र पराम्परा जस्ता पक्षहरु गौण रहन्छन् भन्ने कुरा नै नाटकमा छन् ।

समको नाटकलाई समकालीन समयमा प्रस्तुत गरेर रंगकर्मी खतिवडाले हालको मानव स्वभावलाई अप्रत्यक्ष रुपमा व्यंग्य गर्ने जमर्काे गरेका छन् ।

नाटकको भाषालाई काव्यात्मक र सरल संवादमा ढाल्न उनको भरपुर कोसिस देखिन्छ । उनको कोसिसलाई रंगकर्मी अनुप न्यौपानले गरुडध्जवका रुपमा पूरा गरेका छन् । मूल नाटकमा द्वन्द्वलाई केन्द्रबिन्दुमा ल्याएर दर्शकलाई महसुस गर्न भने दिइएको देखिँदैन ।

अर्कातिर पम्फाको यौन आकांक्षा र कामवासनालाई समेत दृश्यमा खास प्राथमिकता दिइएको छैन । समको समयमा जस्तै यौन र कामवासना हुनुलाई महिलाको चरित्रसँग नाटकमा जोडिएको छ ।

समकालीन अवस्था र महिलालाई फराकिलो आयाममा परिभाषित गर्ने हो भने सम र अहिलेको समयलाई तुलना गर्न सकिन्छ । महिला कमजोर र अनैतिक हुनुमा उनको या पुरुष मनोविज्ञानले प्रभाव पारिरहेको छ भन्ने दायराबाट पनि हेर्न सकिन्छ । यद्यपि मूल नाटकभन्दा फरक दृश्यमा जयवीरको मात्र अन्त्यले नाटकमा महिला पात्रप्रति न्याय वा अन्याय गरेको भन्ने कुरामा दर्शक अलमलमा पर्छन् ।

तथापि झण्डै ८५ वर्षअघि रचना गरेको समको सिर्जना हेर्दै गर्दा समकालीन समयमा घटित भइरहेका दृश्यहरु मानसपटलमा आउँछन् । समको समयमा जस्तै वर्तमानमा पनि यौन मनोविज्ञान र कामवासनाका कारण मानिसको चेतनाले समाज, संस्कार र सम्बन्धलाई बिर्सिरहेका छन् । सूचना र प्रविधिले जति मान्छेको दुनियाँ फड्को मार्दैछ, त्यति नै मानव जगत् नै अमर्यादित बनिरहेका घटनाहरु बाहिर आइरहेका छन् ।

यसले आम दर्शकलाई मानिस चेतना शून्य हुँदै गएको आभास दिलाउँछ ।

चैत्र १८ गतेसम्म मञ्चन हुने नाटकमा न्यौपानेसँगै प्रमिला खनाल, संगीता थापा, सुवास तिमिल्सिना, भरत लिम्बु, सुन्दर धिताल, सन्तोष गिरी, केशव शाही, शारदा अधिकारी र सन्देश कार्की (घनेन्द्र)को अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?