काठमाडौं- यस वर्षको महाशिवरात्रि पर्व भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरिरहेको जनाएको छ । महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ ।
नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ । उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ ।
पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदै गरेको कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार महाशिवरात्रि पर्व २०८० का अवसरमा प्रचारप्रसार, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ ।
यसैगरी महाशिवरात्रिको समयमा पशुपति क्षेत्रमा निःशुल्क भोजन गराउनेहरूले फोहर व्यवस्थापनसहितका सामग्री ल्याउनुपर्ने भनिएको छ ।
पशुपति विकास कोष महाशिवरात्रि पर्व व्यवस्था मूल समिति २०८० ले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको महाविशरात्रि पर्वलाई भव्य बनाउने जनाएको छ । यसका लागि सबै क्षेत्र, तह, तप्काबाट सहयोग गर्नसमेत महाशिवरात्रि पर्व व्यवस्था मूल समितिले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया