मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

‘एपेन्डिसाइटिसलाई लापरवाही गर्दा ज्यान जान सक्छ, तत्काल उपचार गराउनुपर्छ’

मानव शरीरको पेटभित्र रहेको ठूलो आन्द्राको पहिलो भागमा रहेको मसिनो आन्द्रालाई एपेन्डिक्स भनिन्छ । यो आन्द्रा जुकाजस्तो आकारको हुने भएकाले यसलाई बोलीचालीको भाषामा ‘जुके आन्द्रा’ पनि भनिन्छ ।

यो आन्द्रामा संक्रमण भयो भने भित्रभित्रै सुन्निने र पाक्ने समस्या हुन्छ । फलस्वरुप बिरामीको पेट दुख्ने, गाह्रो बनाउने खालका समस्या देखिन्छन् ।

यो कस्तो खाले रोग हो? जोखिम कत्तिको छ? यसबाट कसरी जोगिन सकिन्छ? लगायतका विषयमा पाटन अस्पतालमा कार्यरत सर्जन डा. सुरेन्द्र शाहसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानीः

एपेन्डिसाइटिस कस्तो खाले रोग हो? यसको जोखिम कत्तिको छ?

एपेन्डिसाइटिस (एपेन्डिक्स) भनेको मानव शरीरको एउटा अंग हो । जुन ठूलो आन्द्रामा जोडिएको हुन्छ । यो मानिसको कान्छी औँलाभन्दा पनि सानो हुन्छ । कारणवश त्यसमा संक्रमण भयो भने हामीले एपेन्डिसाइटिस भएको बुझ्छौँ । यो दुई प्रकारको हुन्छ । एउटा सामान्य र अर्को जटिल ।

सामान्य एपेन्डिसाइटिसमा इन्फेक्सन मात्र हुन्छ भने जटिल एपेन्डिसाइटिस हुँदा पिप बग्ने, गाँठो बनिसक्ने या फुटेर पेटभरि हुने समस्या हुन्छ । यो अलि जोखिमपूर्ण पनि हुन्छ ।

एपेन्डिसाइटिस के कारणले हुन्छ?

यो ट्युब आकारको हुन्छ । यसको एकातिर बन्द हुन्छ भने अर्कोतिरको आन्द्रा खुलेको हुन्छ । आन्द्रातिर खुलेको भाग केही कारणवश बन्द (ब्लक) भयो भने एपेन्डिसाइटिस हुन्छ । कतिपय अवस्थामा कब्जियतका बिरामीले शौच गर्दा दिशाको डल्लो बनेर पनि ब्लक हुन्छ । उमेर ढल्किएपछि आन्द्रामा क्यान्सर भयो भने पनि आन्द्राको मासले ब्लक गर्दा एपेन्डिसाइटिस हुन्छ । अर्को भनेको एपेन्डिसाइटिसको मुखतिर ट्युमर पलायो भने पनि यो समस्या देखिन सक्छ ।

यो रोग लागेको कसरी थाहा पाउने त?

एपेन्डिसाइटिस भएका बिरामीमा पेट दुख्ने समस्या बढी हुन्छ । कसैको भने नाइटो वरिपरि दुखेको महसूस हुन्छ । त्यसको केही घण्टापछि तल्लो पेटको दाहिनेतिर दुखाइ सरेर जान्छ । कतिपय अवस्थामा तल्लो पेट दुख्दैन तर पेटको दाहिने भागमा निकै पीडा महसूस हुने गर्छ ।

यस्तो अवस्थामा अरु साधारण पेट दुखाइभन्दा अझ बढी दुख्छ । र, त्यो दुखाइ झन् बढ्न सक्छ । योसँगै बिरामीलाई वाकवाक लाग्ने, खानामा अरुचि हुने समस्या आउँछ । अझ संक्रमण बढी नै छ भने ज्वरो पनि आउन सक्छ । यस्तो जटिल अवस्थामा ७२ घण्टाभित्र उपचार गरिएन भने एपेन्डिक्स फुटेर पेटमा फैलिन्छ र यसले ठूलो जोखिम निम्त्याउन सक्छ ।

कुन उमेर समूहका व्यक्तिहरुमा एपेन्डिसाइटिसको समस्या बढी हुने गर्छ?

यो जुनसुकै उमेर समूहका मानिसलाई पनि हुन सक्छ । बालबालिकादेखि वृद्ध जसलाई पनि हुन सक्छ । तर धेरै देखिने भनेको युवा अवस्थाका व्यक्तिहरुमा हो । अझ १८ वर्षदेखि ३० वर्षसम्मका उमेर समूहका व्यक्तिमा यसको समस्या झनै बढी हुन्छ ।

यो रोग लागेका बिरामीहरुको दैनिकी कस्तो हुनुपर्छ?

हामीले खानामा फाइबरको मात्रा बढायो भने कब्जियत हुँदैन । कब्जियत भएन भने एपेन्डिसाइटिस हुने जोखिम कम हुन्छ । किनकि ‘फाइबर डाइट’ आन्द्राका लागि उपयुक्त मानिन्छ ।

एपेन्डिसाइटिस भइहाले यसको रोकथाम र उपचार विधिबारे पनि बताइदिनुस् न !

एपेन्डिसाइटिस भइहाल्यो भने ठ्याक्कै यही गर्ने भन्ने हुँदैन । यसको उपचार भनेको सर्जरी नै हो । साथमा केही बिरामीहरुलाई भने औषधि पनि दिइन्छ । यदि बिरामी अरु दीर्घ रोगबाट ग्रसित छन् भने अपरेशन गर्दा जोखिम बढी हुने भएकाले औषधी नै दिएर निको बनाउने प्रयास गरिन्छ । त्यति गर्दा पनि भएन भने सर्जरी नै गर्नुपर्ने हुन्छ ।

यसको उपचार महङ्गो छ त?

सामान्य एपेन्डिसाइटिस भएको छ भने खासै खर्च लाग्दैन तर फुटेर पेटभरि फैलिएको छ भने ठूलै सर्जरी पनि गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा ज्यान जानेसम्मको जोखिम हुन्छ भने खर्च पनि बढी नै लाग्छ । हालसम्मको विधि अनुसार शल्यक्रिया दुई तरिकाले गरिन्छ । दुरविन प्रविधि प्रयोग गरेर चिरेर गर्नुपर्ने एपेन्डिसाइटिस केही महङ्गो नै हुन्छ । अपरेशन गर्नुपरेमा सरकारी अस्पतालमा ३५ देखि ४० हजार लाग्छ भने निजी अस्पतालमा एक लाखसम्म खर्च हुन्छ ।

के यो जटिल रोग नै हो त?

सामान्य अवस्थामा अपरेशन नै गर्नुपरे पनि अपरेशन गरेको केही घण्टामै बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ तर जटिल अवस्था छ र संक्रमण धेरै नै फैलिएको छ भने धेरै ख्याल गर्नुपर्छ । ज्यानै जाने सम्भावना पनि उत्तिकै हुन्छ ।

अन्त्यमा के सुझाव दिन चाहनुहुन्छ ?

यदि अचानक पेट दुख्यो भने तत्काल अस्पताल लैजानुपर्छ । त्यस्तै वाकवाकी लाग्ने, ज्वरो आउने भयो भने पनि जति सक्यो चाँडो चिकित्सकको सल्लाह लिनुपर्छ । चेकजाँच गरिसकेपछि यदि अपरेशन गर्नुपर्ने अवस्था भएमा चिकित्सकको सल्लाह बमोजिम गर्नुपर्छ । यस्तो बेलामा पनि फार्मेसीमा गएर ग्याष्ट्रिक भएको हो कि भनेर त्यसैको औषधि किनेर सेवन गर्ने चलन हुन्छ । त्यो एकदमै गम्भीर त्रुटि हुनसक्छ । म के भन्छु भने यदि तपाईंलाई असहज महसूस भयो भने डाक्टरको सल्लाह लिएर त्यसै अनुसार उपचार गराइहाल्नु होला । यस्तो बेलामा ढिलो गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?