मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेनड्राइभ’ र ‘मेराकी’ कवितासङ्ग्रह लोकार्पित

काठमाडौँ – कवि तथा गीतकार ज्योति पौडेल र राजीव घिमिरेका कवितासङ्ग्रह क्रमशः ‘पेनड्राइभ’ र ‘मेराकी : आत्माले भिजेका कविताहरू’ आज यहाँ लोकार्पण गरिएको छ । ‘पेनड्राइभ’ मा जन्मभूमि नेपाल र कर्मभूमि अमेरिकी परिवेशमा लेखिएका स्वदेशप्रेम, प्रकृति, प्रेम, सौन्दर्य, गामबेंसी, नारी अस्मिता, संवेदना विषयका ६३ गीत–कविता तथा ‘मेराकी’ ‘कामप्रतिको समर्पण भाव’ मा मुक्तिको चाहना राखिएका ३७ कविता समाविष्ट छन् ।

राष्ट्रकवि माधव घिमिरेका सन्तान घिमिरे र पौडेलका कृतिको विमोचन आमा महाकालीसहितले विमोचन गरेका हुन् । पौडेलका यसअघि गीत, ‘गीति एल्बम, गजल, कथा, कविता, सम्पादन गरेर १२ कृति प्रकाशन भइसकेका छन् भने घिमिरेको यो पहिलो कृति हो । दुवै ‘आवरण प्रकाशन’ द्वारा प्रकाशन भएका हुन् ।

सो अवसरमा प्रा. डा. कृष्णहरि बरालले ‘पेनड्राइभ’ माथि समीक्षा गर्दै लयात्मक, ध्वन्यात्मक, व्यङ्ग्यात्मक र प्रतीकात्मक शैली तथा सरल अभिव्यक्तिबाट काव्यको शक्ति र ज्योति छर्न सकेको बताए । नियात्राकार प्रतीक ढकालले ‘मेराकी’ मा विषयवस्तुलाई हेर्ने दृष्टिकोण नै अनौठो रहेको जनाउँदै आफूले घिमिरेलाई आफूभित्र हेर्ने कविका रूपमा पाएको बताए ।

कवि पौडेलले कोरोना र अन्य समयमा समसामयिक विषयमा आफूले स्वदेशको मायामा र बालबालिकाका लागि पनि गीत–कविता कोरेको बताए भने कवि घिमिरेले आफूले धेरै सोचेर र शब्द शब्द तौलेर कविता लेख्न प्रयास गरेको स्पष्ट गरे । दुवै समीक्षकले कृतिकारहरूलाई पिताको प्रभावबाट मुक्त हुन पनि सुझाव दिए ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले तीन वर्षअघि स्थापित संस्थाले लोकार्पित कृति संस्थाको १५औँ र १६औँ कृति भएको र आफूले ७०० भन्दाबढी कृतिमा आवरण कोरेर सेवा गरेको बताउँदै आफ्नो प्रकाशनले स्रष्टाहरूको प्रतिलिपि अधिकार र प्रचारप्रसारका लागि पनि काम गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?