मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि

टिकटक प्रतिबन्धपछि ‘भीपीएन’ प्रयोग गरेर चलाउने प्रयोगकर्ता घटेका हुन्?

काठमाडौँ– सरकारले नेपालमा ‘टिकटक’ मा प्रतिबन्ध लगाएसँगै यसका फाइदा र बेफाइदाको विषयलाई लिएर व्यापक बहस भयो । अहिले भने सामाजिक सञ्जालमा टिकटकबारे त्यति धेरै बहस भएको पाइँदैन । सर्वोच्च अदालतमा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने सम्बन्धमा उजुरी भने परेको छ ।

टिकटकमा ‘प्रतिबन्ध’ लागेपछि प्रयोगकर्ताले भीपीएन तथा डीएनएस प्रयोग गरेर टिकटक प्रयोग गर्दै आइरहेका छन् । तर, आजभोलि भने टिकटकमा नेपाली प्रयोगकर्ताको क्रेज घट्न थालेको छ ।

पहिले टिकटकप्रतिको क्रेजले प्रयोगकर्ताहरुले विभिन्न विकल्प खोजेर भए पनि टिकटक चलाउन चाहन्थे भने अहिले टिकटकप्रतिको आकर्षण घटेको पाइएको छ ।

बुटवलका टिकटक प्रयोगकर्ता शंकर शर्माले शुरुमा आफूलाई टिकटक चलाउन मन लागे पनि आजभोलि खासै वास्ता नलाग्ने बताए ।

‘पहिले टिकटकमा प्रतिबन्ध लागे पनि भीपीएनको माध्यमबाट टिकटक चलाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो, तर अहिले अरु प्रयोगकर्ता खासै नहुनाले आफूलाई पनि चलाउन मन लाग्दैन,’ उनले भने ।

प्रतिबन्धपछि टिकटक प्रयोगकर्ता कम हुँदा नेपालीको टिकटकप्रतिको क्रेज पनि घटेको छ । नेपालमा झण्डै २२ लाख टिकटक प्रयोगकर्ता भएको अनुमान गरिएको छ ।

टिकटक प्रतिबन्धपछि भने अहिले त्यो संख्या निकै घटेको छ ।

प्रयोगकर्ता टिकटकको विकल्पका रुपमा फेसबूक रिल, युट्युब तथा इन्स्टाग्राममा सक्रिय छन् ।

टिकटकमार्फत कन्सल्टेन्सी, आफ्नो व्यवसायको विज्ञापन गरेर प्रयोगकर्ताले आफ्नो व्यवसाय पनि प्रवर्धन गरिरहेका थिए ।

अहिले टिकटकको प्रतिबन्धपछि आफ्नो व्यापार व्यवसायमा पनि प्रभाव पारेको टिकटक प्रयोगकर्ताले गुनासो गर्दै आइरहेका छन् ।

टिकटकमार्फत सानातिना ‘स्टार्टअप’ बिजनेस मात्रै होइन, कला क्षेत्र पनि राम्रैसँग फस्टाएको थियो ।

मिडियामा पहुँच नभएका व्यक्ति टिकटकमार्फत आफ्नो प्रतिभा देखाएर ‘स्टार’ बनेका थिए । अहिले भने उनीहरु टिकटकको विकल्पको खोजीमा छन् ।

टिकटक मनोरञ्जनका हिसाबले पनि प्रयोगकर्तामाझ लोकप्रिय बनेको थियो ।

त्यसो त टिकटकमाथि प्रतिबन्ध लगाएपछि सरकारको चर्को आलोचना नभएको होइन । सरकार नै ‘अभिव्यक्ति स्वतन्त्रताविरोधी’ भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन समेत भयो । तर यतिबेला भने टिकटकको बहस मत्थर भइसकेको छ ।

टिकटकमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट निवेदन पनि दायर भएका छन् । तर, त्यसविरुद्ध परेको रिट यो वर्षका लागि थन्किएको छ ।

टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा सुनुवाइका लागि आगामी वर्षको वैशाख २७ गतेलाई पेसी तोकिएको छ ।

केही समयअघि सरकारले ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ पारित गरेको थियो । त्यस लगत्तै सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध लगाउनुका पछाडि अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दो, उत्तेजक एवम् व्यक्तिको मानमर्दन गर्ने जस्ता गतिविधि अत्यधिक बढेको सरकारको दाबी थियो ।

चलचित्र ‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्न लागेकी टिकटकर मिस पविले आफूले टिकटककै कारण म्युजिक भिडियो तथा फिल्ममा अभिनय गर्ने मौका पाएको बताउँछिन् ।

उनका अनुसार टिकटकमा नकारात्मक कुराहरु पनि थिए तर राम्रो पक्ष पनि थियो । सरकारले राम्रो पक्षलाई हेरेन । बरु केही प्रयोगकर्ताको गल्तीले सबैलाई घाटा भयो ।

टिकटकमार्फत म्युजिक भिडियोले पनि राम्रो चर्चा कमाइरहेका थिए । टिकटकमा ट्रेन्डिङमा परेका गीत युट्युबमा पनि ‘हिट’ भएका थिए । टिकटकले लोक गीत नसुन्ने दर्शकलाई पनि लोकगीततर्फ आकर्षित गरेको थियो ।

अहिले नेपाली म्युजिक भिडियोले पनि टिकटक प्रतिबन्धको समस्या बेहोर्नुपरेको छ ।

करुण थापाको शब्द रहेको आनन्द कार्की र प्रश्न शाक्यको स्वर रहेको गीत ‘बादल वर्षा बिजुली’ बोलको गीत टिकटककै कारण निकै लोकप्रिय भएको थियो ।

यो गीतमा नेपाल बाहिर पनि कैयन् देशका प्रयोगकर्ताले भिडियो निर्माण गरेका थिए भने यो गीत टिकटककै कारण युट्युबमा पनि निकै खोजिएको थियो ।

त्यसो त भारतमा समेत टिकटकमाथि प्रतिबन्ध लागेको छ तर भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ यो गीत फेसबूक र इन्स्टाग्रामको रिलमा निकै लोकप्रिय बनेको थियो ।

टिकटकमार्फत आउँदा आउँदै ढिला भयो, बादल वर्षा बिजुली, ‘काले केटाले’ लगायतका थुप्रै गीत लोकप्रिय भएका थिए ।

म्युजिक भिडियो निर्माताहरुले टिकटकमाथिको प्रतिबन्ध हटे नेपाली म्युजिक भिडियोलाई फाइदा पुग्ने सुनाउँछन् ।

‘म्युजिक भिडियोलाई त टिकटक प्रयोगमा आउँदा फाइदा नै भएको थियो, सानो फुटेजमा भिडियोहरु बन्थे,’ एक निर्माता भन्छन्, ‘पूरै गीत हेर्न मन लागे युट्युबमा हेर्नुहुन्थ्यो, आर्थिक रुपमा पनि फाइदा भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?