मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कर्णाली ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ शुरु

सुर्खेत– ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ मूलभावका साथ पहिलो पटक कर्णाली प्रदेशमा प्रादेशिक प्रदर्शनी सुरु भएको छ ।

बिहीवारबाट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल कमर्सियल आर्टिस्ट संघ सुर्खेत जिल्ला समितिको सहकार्यमा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, प्रतिष्ठानको कर्णाली समन्वय समितिका संयोजक तथा प्राज्ञ पाल्साङमो लामा लगायतको सहभागितामा कर्णाली प्रदेशको सुर्खेतस्थित जननमुना माविमा प्रदर्शनी शुरु भएको हो ।

प्रतिष्ठानले सातै प्रदेशमा गर्न लागेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णाली प्रदेशको सुर्खेतबाट शुरू भएको हो । उद्घाटन समारोहमा मुख्यमन्त्री शर्माले हामीसँग भएका तमाम प्राकृतिक क्षमता र कलालाई कसरी प्रस्फुटित गर्ने, अभिव्यक्ति गर्ने र यसलाई विश्वसामु कसरी चिनाउने भन्ने कुरा अहिलेको चुनौती भएको बताए ।

उनले कला र संस्कृतिको विकासबिना राज्य समृद्ध बन्न नसक्ने धारणा राख्दै ललितकलाको विकासमा राज्यले यथोचित सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘कला क्षेत्रलाई माथि उठाउने कुरा सबै मिलेर मात्र सम्भव छ । यसमा कर्णाली प्रदेश सरकार प्रतिष्ठानसँग सहकार्य गर्न सदैव तयार छ ।’

प्रदर्शनीमा ४६ जना कलाकारका ६६ वटा कलाकृति समावेश गरिएको बताउँदै प्रतिष्ठानका कुलपति हार्तम्छालीले संस्थागत नेतृत्व गर्ने अर्थमा प्रज्ञा–प्रतिष्ठान रहेको तर कला सिर्जना गर्ने कुरामा भने कलाकारहरू नै रहेको बताए ।

समृद्ध समाज निर्माणमा कला र संस्कृतिको भूमिका विशिष्ट रहने विचार व्यक्त गर्दै प्रदेश प्रदर्शनीले स्थानीय कलाकारलाई अगाडि बढ्न अभिप्रेरित गर्ने उनको विश्वास छ ।

‘प्रदर्शनीलाई विगतमा सिधै केन्द्र भनेर काठमाडौं केन्द्रित गरिएको थियो । अहिले हामीले त्यसलाई फरक ढंगले अगाडि बढाउँदै संघीयताको भाव र मर्मलाई आत्मसात् गर्दै कार्यक्रम गरेका हौं । प्रदेश प्रदर्शनी त्यसैको कडीका रुपमा गरिएको हो,’ उनले भने ।

भौगोलिक र आर्थिक रूपले सर्जकहरूको सहभागिता सहजता खासै नभएको तर पहिलो प्रदेश प्रदर्शनीले अझ बढी उत्साह जगाएको उनले सुनाए ।

उनले भने, ‘यसपटक सम्मान र मूल्याङ्कनमा पनि विशेष सुुविधा र पुुरस्कार रकम पनि विशेष थप गरिएको छ । कलाको पहिचान प्रदेश र केन्द्रमा मात्र सीमित नगरेर विश्वमा नै चिनाउनु जरूरी छ ।’

संयोजक तथा प्राज्ञ लामाले नेपाली ललितकलाको जगलाई बलियो बनाउने गरी प्रदर्शनीले मार्ग कोर्नेमा आफू आशावादी भएको बताए । समाज रुपान्तरणका लागि कलाको भूमिका विशिष्ट रहने भएकाले यसको विकासमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘प्रदर्शनीले नेपाली समाजमा विकसित कलाकृतिलाई राष्ट्रको मूलधारमा ल्याउन महत्वपूर्ण सहयोग गर्नेछ ।’
प्रदर्शनी फागुन २१ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?